सरकारविरुद्ध मोर्चाबन्दी तयारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध मोर्चाबन्दीको तयारी थालेको छ । सरकारका गतिविधिहरू एकपछि अर्को गर्दै विवादित बन्न थालेपछि प्रतिपक्षमा प्रमुख भूमिकामा रहेको कांग्रेसले धारणा मिल्ने दलहरूसँग मोर्चाबन्दीको तयारी गरेको हो ।

त्यसका लागि कांग्रेसले संसद्मा रहेका र विचार मिल्ने दलहरूसँग सोमबारबाटै छलफल थालेको छ । सरकारविरुद्धको मोर्चाबन्दीमा संसद्मा रहेका दल राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीसँग कांग्रेसले संवाद सुरु गरेको हो । यी दुवै दल पनि संसद्मा प्रतिपक्षको हैसियतमा छन् ।

कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले संसद्मा रहेका दलहरूसँग सरकारका गलत क्रियाकलापबारे कसरी अघि बढ्ने भन्ने विषयमा छलफल सुरु भएको बताए ।
‘संसद्मा रहेका राजपा र समाजवादी पार्टीसँग सरकारका पछिल्ला गतिविधिबारे कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको हो,’ नेता कार्कीले भने, ‘आवश्यक परे मोर्चाबन्दी हुन्छ ।’

प्रतिपक्षमा रहेका कांग्रेस र समाजवादी पार्टीसहित तीनै दलको बैठक सोमबार राष्ट्रिय जनता पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको थियो । बैठकमा सरकारविरुद्ध सदन र सडकमा संयुक्त रूपमा अघि बढ्नेबारे छलफल भएको हो ।

कांग्रेसले आइतबार बसेको छाया सरकारको पहिलो बैठकबाटै प्रतिपक्षमा रहेका दलहरूबीच समन्वय गरेर संयुक्त रूपमा सरकारका गतिविधिमाथि निगरानी गर्ने र सरकारका गलत क्रियाकलापको भण्डाफोर गर्ने निर्णय गरेको थियो । सोहीअनुसार कांग्रेस र मधेसकेन्द्रित दुई प्रतिपक्षी दलबीच जनचासोका विषयमा कार्यगत एकता गरेर संसद्मा प्रस्तुत हुने समझदारी बनेको हो । यस्तै, भ्रष्टाचार तथा अनियमितताका विषयमा समेत संयुक्त रूपमा भण्डाफोर गरेर सरकारका गलत क्रियाकलाप आमजनतामाझ पु-याउनेबारे समेत छलफल भएको छ ।

यस्तै, सुशासनविरुद्ध सरकारको रवैया, जनजीविकाका सवाल, प्रदेशको अधिकार कटौती गरेर केन्द्रमा थप अधिकार राख्ने कार्यलगायत विषयमा तीन दलबीच रणनीति बनाउने विषयमा समेत छलफल भएको छ ।

यसैगरी, मंगलबार (आज) बस्ने संसद् बैठकमा प्रतिपक्षका तर्फबाट दलहरूले धारणा राख्ने तयारी गरेका छन् । यसअघि प्रमुख प्रतिपक्षी दल कांग्रेसले भ्रष्टाचारमा सरकारका मन्त्री नै संलग्न रहँदा पनि प्रधानमन्त्री मौन रहेको भन्दै प्रधानमन्त्रीको धारणा माग्दै संसद् अवरुद्ध गर्दै आएको थियो ।

सोमबारको छलफलमा राजपा संसदीय दलका नेता महन्थ ठाकुर, प्रमुख सचेतक लक्ष्मणलाल कर्ण, कांग्रेस सचेतक पुष्पा भुसाल, ज्ञानेन्द्रबहादुर कार्की, अख्तर कमाल मुसलमान र समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरिया सहभागी थिए ।

The post सरकारविरुद्ध मोर्चाबन्दी तयारी appeared first on Rajdhani Daily News.

भर्खरै प्रधानमन्त्रीले देशबासीको नाममा गर्नुभएको सम्बोधनको पूर्ण पाठ

Previous articleठक्कर दिएर भाग्ने मिनी ट्रक उदयपुरबाट नियन्त्रणमा
Next articleक्यान्सर अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्नुपर्छ : गृहमन्त्री थापा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।