कोरोना आशंकामा जापानबाट ११९ भारतीयसँगै १ नेपालीको पनि उद्धार

कोरोनाभाइरस संक्रमणको आशंकामा जापानको योकोहामा राेकिएकाे एक पानीजहाजबाट आफ्ना नागरिक उद्धार गर्ने क्रममा भारत सरकारले एक नेपालीलाई पनि साथै भारत ल्याएको छ।

अहिले ती नेपालीलाई उद्धार गरिएका भारतीय नागरिकसँगै भारतको मन्सेरास्थित क्वारेन्टाइनमा राखिएको छ।

भारतकाे नयाँदिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता हरि वडारीका अनुसार उनलाई त्यहाँ १४ दिनसम्म राखिनेछ।

जापानको योकोहामा पोर्टमा रोकिएको डाइमन्ड प्रिन्सेस पानीजहाजमा रहेका आफ्ना ११९ नागरिकलाई उद्धार गर्ने क्रममा भारत सरकारले एक जना नेपालीलाई पनि सँगै भारत ल्याएको हो।

‘मलाई भारत सरकारबाट इन्डिभिजुअल (व्यक्तिगत) रूपमा जापानबाट भारतीय नागिरकसँगै एकजना नेपालीलाई पनि उद्धार गरी भारत ल्याइएको जानकारी आएको छ,’ बिहीबार नेपालखबरसँग प्रवक्ता वडारीले भने, ‘हामी उनीसँग सम्पर्क गर्छाैं र वास्तविकता बुझ्छौं।’

आफूलाई व्यक्तिगत रूपमा जानकारी आएकाले ती नेपालीको नाम ठेगाना खुल्न बाँकी रहेको प्रवक्ता वडारीले बताए।

भारतका विदेशमन्त्री डा. एस जयशंकरले पनि ट्विट गर्दै ११९ भारतीय नागरिक उद्धार गर्ने क्रममा १ नेपालीसहित अन्य देशका ५ नागरिकलाई पनि सँगै ल्याइएको जानकारी दिएका छन्- 

जापानको योकोहास्थित क्वारेन्टाइनमा राखिएकाे  डाइमन्ड प्रिन्सेस पानीजहाजमा ३७ सय यात्रु सवार थिए।

तीमध्ये बिहीबारसम्ममा ६ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  

यस्तै अमेरिकाले लगेका ४ सय ५० यात्रुमध्ये १४ जनामा संक्रमण पाइएको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

दुई हप्तासम्म योकोहामा तटमा रोकिएको पानीजहाजमा हालसम्म संक्रमण नपाइएकाहरूलाई स्वास्थ्य परीक्षण गर्दै छाड्ने काम भइरहेको जापानी अधिकारीहरूले बताएका छन्।

यसैबीच उक्त पानीजहाजमा संक्रमित पाइएकामध्ये दुई जनाको निधन भएको जापानी अधिकारीहरूले पुष्टि गरेका छन्। योसँगै जापानमा कोभिड १९ बाट ज्यान गुमाउनेको संख्या ३ पुगेको छ।

 

राप्ती हाइड्रोको आइपीओ आउँदै

Previous articleसमाजको आत्मिक सचेतता
Next articleआजको प्रतिनिधिसभा बैठकमा अन्तरसम्बन्ध व्यवस्थापनसहित ७ वटा विधेयक पेस हुने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।