Home Uncategorized ‘क्षमता कम हुँदाहुँदै ३९ कानून निर्माण हुनु सन्तोषजनक हो’

‘क्षमता कम हुँदाहुँदै ३९ कानून निर्माण हुनु सन्तोषजनक हो’

एक नम्बर प्रदेश सरकार गठन भएको ३ फागुनमा दुई वर्ष बितेको छ । यो अवधीमा संघीयताको राम्रो अभ्यास भएको छ । दुई वर्षमा प्रदेश सरकारले ३९ वटा कानून निर्माण गर्न सफल भएको छ । स्थानीयतहको सेवासुविधाबारेको कानून निर्विवाद निर्माण भएको छ ।

यद्यपि, कानून निर्माणको तहमा केही समस्या पनि देखिएका छन् । हामीकहाँ ऐन बनेपछि तत्काल नियमाली बनाउनुपपर्छ भन्ने बुझाइ कम छ । अर्कोतिर ऐन नबनी सिधै कार्यविधि बनाएर काम गर्ने परिपाटी पनि कायमै छ ।

रेवतीरमण भण्डारी, (कानूनी सल्लाहकार, एक नम्बर प्रदेश सरकार)

कानून निर्माण गर्ने क्षमता अझै कमजोर

सामान्यतया ऐन बन्नुपर्छ । ऐनपछि नियमावली बन्नुपर्छ । हाम्रोमा कानून निर्माण गर्ने क्षमता र तयारी कमजोर छ । नियमावलीमा धेरै कुरा समेटिनुपर्छ । कार्यविधि भनेको सरकारको आन्तरिक व्यावस्थापकीय काम हो । ऐन र नियमावली भनेको कानूनगत र प्रक्रियागत हो । यहाँ बुझाइको, कार्यक्षमताको र जनशक्तिको समस्या छ । यो सबैकुरा बुझ्ने मान्छे कम छन् । १–२ जनाले सबै काम गर्न भ्याउँदैनन् ।

तर जनता निराश भइहाल्नुपर्ने अवस्था छैन । केही न केही काम भइरहेको छ । हामी नयाँ अभ्यासमा छौं । हामी हाम्रो देशमा तीन तहको संघीयता कार्यान्यन गर्ने अभ्यास गर्दैछौं । यसलाई धान्ने यसका सबै आयाम बुझ्ने, प्रदेश र स्थानीयले नयाँ सिर्जना गर्न हाम्रो देशको क्षमता नै कति छ र ?

हाम्रो क्षमताअनुसार यो अभ्यास धेरै माथि छ । राज्यसँग क्षमता कम हुँदाहुँदै यतीको काम हुनुचाहिँ सन्तोषजनक हो । एक नम्बर प्रदेशमा क्षमता कम भएपनि दुई वर्षमा ३९ वटा कानून निर्माण भएका छन् ।

मानिसको अपेक्षा धेरै छ । हामीले सिंहदरबार घरघरमा पुग्यो भन्दै भाषण गर्‍यौं। आमसर्वसाधारणलाई सिंहदरबार घर आगनमा आउँदा सबै परिवर्तन हुन्छ भन्ने बुझाइ थियो । जनताको अपेक्षा र हाम्रो अभ्यासबीचको दूरी बढी भयो । जनताको बुझाइ धेरै भयो । हाम्रो काम गर्ने क्षमता साधन–स्रोत कम भयो । हामीले जति गरे पनि मुलुकको बजेट १५ खर्बकै हो । ठूलो बनाउन सक्दैनौं ।

अर्काे कुरा हाम्रो काम गर्ने शैली पनि लेन्दी छ । ढिलो छ । तर पनि केही न केही संघीयता कार्यान्वयन गरेका छौं । हिजो मानिस सानो–सानो कामका लागि काठमाडौं जान्थे । आज मानिस स्थानीय तह र प्रदेशमा आउँछन् । काठमाडौं जान बिर्सिसके । यसलाई राम्रो अभ्यास मान्न सकिन्छ । तर आमजनताको अपेक्षा रातारात भइहाल्छ भन्ने थियो ।

सबैभन्दा दुःख भ्रष्टाचार

हामीकहाँ सबैभन्दा ठूलो दुःखको कुरो भ्रष्टाचार हो । भ्रष्टाचार गर्ने प्रवृति बढ्यो । यसलाई अपेक्षाकृत नियन्त्रण गर्न सकेनौं । राजनीतिक दलभित्रै कतिपय मानिस भ्रष्ट छन् । जसका कारण प्रशासनिक क्षेत्र, राजनीतिक क्षेत्र, निती निर्माणको क्षेत्रमा ठूलो असर गरेको छ । भ्रष्टाचारको विरुद्ध परिणामुखी उपलब्धी पनि हासिल गर्न सकेनौं ।

के गर्ने इमान्दार मान्छेहरू दलभित्र अल्पमतमा परिसके । बेइमानी गर्ने ठगठाग गरेर के–के गरेर यता–उता गर्ने काठमाडौंमा घुमघाम गर्ने, सरुवा गर्दे भनेर जिविका चलाउनेहरूको संख्या बढ्दो छ ।

आफ्नो व्यवसाय, क्षमता, निष्टा, योग्यतामा भर परेर आर्जन गरौं । सामाजिक राजनीतिक क्षेत्रमा अगाडी बढौं भन्ने भावना कमजोर छ । अब जनता र पार्टीका कार्यकर्ताहरूमा नै भ्रष्टीकरणका विरुद्ध विशाल आवाज उठ्न जरुरी छ ।

चेतना जगाउन जरुरी छ । होइन भने कानून बनाएर पार्टी अध्यक्षले बोलेर, प्रधानमन्त्रीले मात्रै चाहेर पनि रोक्न सकिँदो रहेनछ । यसका लागि हाम्रा कानूनी व्यवस्थाहरू पनि कमजोर छन् तीनलाई सच्याउँदै अघि बढ्नुपर्छ ।

हाम्रो राजनीतिक प्रणालीमा को इमान्दार छ, सक्षम छ भनेर मापन गर्ने प्रणालीलाई राज्यको कानूनभित्र राख्न सकेका छैनौं । भ्रष्टाचार नियन्त्रणका लागि केही व्यक्तिले प्रयास गर्नु भएको छ । तर प्रशासन र राजनीतिभित्र भएको भ्रष्टीकरणलाई नियन्त्रण गर्न सकिएको छैन ।

(एक नम्बर प्रदेश सरकारका कानूनी सल्लाहकार, रेवतीरमण भण्डारीसँगको कुराकानीमा आधारित)

The post ‘क्षमता कम हुँदाहुँदै ३९ कानून निर्माण हुनु सन्तोषजनक हो’ appeared first on Koshi Online.

उपल्लाचौरमा सिँचाइ नहर पुनः निर्माण

Previous articleईपीएल उद्घाटनमा पोखरा र ललितपुर भिड्ने (खेल तालिकासहित)
Next articleजापानको पानीजहाजभित्र क्वारेन्टाइनमा रहेका ११९ भारतीयसँगै १ नेपालीको पनि उद्धार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।