जनकपुरधाम । धनुषामा नक्कली सवारी चालक अनुमति पत्र लाइसेन्स बनाउने गिरोह सक्रिय भएको रहस्य खुलेको छ । सो गिरोहले मोटरसाइकल लाइसेन्स बनाउन ६० हजार रुपैयाँसम्म असुली गर्छ । प्रहरीका अनुसार नक्कली गिरोहकै एक सदस्यलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका ९ की रुबी मिश्र रहेकी छन् ।
गत माघ २९ मा महोत्तरीको गौशाला नगरपालिका १२ का हरिनारायण भन्ने कृष्णदेव कुशवाहा प्रहरी चेकजाँचमा परे । उनीसँग लाइसेन्स त थियो, तर नक्कली । ट्राफिक प्रहरीले नक्कली लाइसेन्स ठहर गरेपछि कुशवाहा आश्चर्यमा परे । ट्राफिक प्रहरीले उनलाई तत्कालै नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषा पुर्याए । प्रहरीसँगको बयानमा कुशवाहाले नागरिकता कसरी बनाएको रहस्य खोले ।
जनकपुरधाम उपमहानगरपालिका ९ का चन्दन मिश्रले ५ हजारमा कुशवाहालाई लाइसेन्स बनाइदिएको बताएपछि प्रहरीले छानबीन सुरु गर्यो । छानविनका क्रममा चन्दनकी आमा रुबी मिश्र पनि नक्कली लाइसेन्स बनाउने कार्यमा संलग्न देखिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । फागुन १३ गते रुबीलाई पक्राउ गरिसकेको बताए ।
नक्कली लाइसेन्स बनाउने गिरोहकी नाइके रहेकी रुबी अहिले प्रहरी हिरासतमा छिन् । प्रहरीले जिल्ला अदालत धनुषाबाट ४ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ । उनका छोरा चन्दन भने अझै फरार छन् । उनको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ । एक प्रहरी अधिकारीले दिएको जानकारी अनुसार रुबीले छोरा र अन्य व्यक्तिलाई कमिशन दिएर लाइसेन्स बनाउने व्यक्तिको खोजी गर्न लगाउने गरेकी थिइन् । प्रहरी नायब उपरीक्षक कार्कीले रुबी ६० हजार रुपैयाँ लिएर सरकारी छाप समेत किर्तेगरी नक्कली सवारी लाइसेन्स बनाउने गरेको ४ वटा उजुरी परेको बताएका छन् ।
उनका अनुसार रुवी मिश्रको विरुद्धमा अन्य उजुरी समेत आउने क्रम जारी रहेको छ । फेला परेको ति नक्कली लाइसेन्स कहाँ बनाइयो र अन्य कति जनाको संलग्नता रहेको विषयमा केहि खुल्न सकेका छैन । स्रोतका अनुसार नक्कली लाइसेन्स बनाउने रुवी मिश्रको गिरोहमा दर्जनौं व्यक्ति संलग्न छन् । रुबीले आफ्नै छोरा मार्फत लाइसेन्स बनाउने व्यक्ति खोजेर नक्कली लाइसेन्स बनाउने गर्थिन् । प्रहरी नायब उपरीक्षक कार्कीले सरकारी छाप समेत किर्ते भएकोले गम्भीर किसिमले अनुसन्धान भइरहेको बताए । उनले भने, ‘यो गम्भीर विषय हो, त्यसैले अहिले धेरै कुरा भन्न सकिँदैन, अनुसन्धान सकेपछि थप कुराहरु सार्वजनिक गर्छौं।’
The post नक्कली लाइसेन्स बनाउने कार्यमा संलग्न एकजना पक्राउ appeared first on Rajdhani Daily News.
दा’गबत्ती दिन लागेको श’व प्रहरीले उठायो: श्रीमान् प’क्राउ अरु फ’रार


