सुरु भयो हावाहुरी र चट्याङको मौसम अर्थात् प्रि-मनसुन

नेपालमा नयाँ मौसम सुरु भएको छ। ‘विन्टर’ अर्थात् हिउँद याम सकिएर प्रि-मनसुन सुरु भएको हो।

मौसमविद्का अनुसार मार्च १ अर्थात् हिजो (आइतबार)बाट औपचारिक रूपमा प्रि-मनसुन सुरु भएको हो।

वर्षा याम लाग्नुअगाडिको तीन महिना अर्थात् मार्च, अप्रिल र मे महिनालाई प्रि-मनसुन भनिन्छ। त्यसपछि वर्षा याम सुरु हुन्छ।

प्रि-मनसुनको अवधिमा वर्षासँगै हावाहुरी आउने तथा चट्याङ पर्ने सम्भावना बढी हुने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

‘यस अवधिमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित वर्षा हुन्छ,’ सोमबार बिहान नेपालखबरसँग कुरा गर्दै मौसमविद् नगरकोटीले भनिन्, ‘असिनासहित अलि लामै समय पनि वर्षा हुन सक्छ।’

उनका अनुसार प्रि-मनसुन अवधिमा हावाहुरी, चट्याङको जोखिम हुने भएकाले दैनिक मौसमको जानकारी राखेर होसियार अपनाउनु उत्तम हुन्छ।

‘हरेक दिनको मौसमी जानकारी लिइराख्दा कुन ठाउँमा वर्षा, चट्याङ वा हावाहुरीको सम्भावनना छ भनेर थाहा पाउन सकिन्छ,’ उनले भनिन्, ‘अनि त्यहीअनुसार सतर्कता अपनाउँदा क्षतिबाट बच्न सकिन्छ।’

आजको मौसमी अवस्था कस्तो छ त?
यतिबेला (सोमबार बिहान) काठमाडौं उपत्यकासहित देशका सबै पहाडी भेगमा मौसम आंशिक बदली (कहिले बादल कहिले घाम) छ भने तराई क्षेत्रमा मौसम सामान्यतया सफा छ।

आज पूर्वी क्षेत्रका थोरै स्थान (पहाड तराई दुवै)मा मेघगर्जनसहित वर्षाको सम्भावना छ भने देशका पहाडी भेगका आइसुलेटेड (निश्चित केही ठाउँ)मा पनि चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

उनका अनुसार वर्षा अपराह्नपछि वा बेलुकातिर हुने सम्भावना देखिएको छ।

आज काठमाडौं उपत्यकामा पनि बेलुकी पख केही ठाउँमा हल्का क्षणिक वर्षाको सम्भावना छ।

‘आजलाई हावाहुरीको खासै सम्भावना छैन,’ उनले भनिन्, ‘तर चट्याङ पर्ने सम्भावनाचाहिँ छ।’

भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

Previous article२०० मा ल्यापटप, ३३ रुपैयाँमा ग्यास सिलिण्डर !
Next articleदशकौंंमा निर्माण सम्पन्न भएनन् ‘गौरवका आयोजना’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।