जब क्वारेन्टाइनबाट निस्किनेले ‘नेपाल सरकार जिन्दावाद!’ को नारा घन्काए

खरिपाटी क्वारेन्टाइनमा राखिएका १ सय ७५ नेपालीको हेरचाहमा खटिएका स्वास्थ्यकर्मीले आइतबार साँझबाटै आफ्नो पोका पुन्तुरा कस्न थालिसकेका थिए।

त्यो देखेपछि विद्यार्थीहरुले छनक पाइसकेका थिए– हामी पनि चाँडै यहाँबाट छुट्दैछौँ।

शनिबार नै उनीहरुमा कोरोना संक्रमण रहे नरहेको जाँच्न नमुना लिइएको थियो।

दुई हप्ताअघि चीनको वुहानबाट ल्याइएका यी नेपालीलाई क्वारेन्टाइनमा पहिलोपटक राख्दा पहिलो पटक जाँच गरिएको थियो। त्यसबेला कसैलाई पनि संक्रमण देखिएको थिएन।

उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखियो। शनिबार १४औं दिनमा गरिएको दोस्रो स्वास्थ्य परीक्षणको रिपोर्ट सोमबार दिउँसोसम्म आउने औपचारिक जानकारी सबैलाई गराइएको थियो।

यसपटक पनि संक्रमण नदेखिने उनीहरुको विश्वास थियो।

‘वुहानमा गरिएको परीक्षण, नेपाल आएर गरिएको पहिलो परीक्षणमा पनि हामी स्वास्थै थियौ। क्वारेन्टाइनमा बस्दा समेत कुनै लक्षण नदेखिएकाले दोस्रो टेस्टमा पनि सबैको नेगेटिभ नै आउने विश्वस्त थियौं,’ दोस्रो परिक्षण रिपोर्ट आउनुअघिको क्षण सम्झदै सौरभ लुइँटेलले भने, ‘हामीलाई जानकारी नगराइए पनि आइतबार रातिसम्म यहाँ रहेका स्वास्थ्यकर्मीलाई रिजल्ट लगभग थाहा भइसकेको थियो।’

‘उहाँहरु पोकापुन्तुरा बाँध्न थालेपछि हामीले पनि रिजल्ट नेगेटिभ रहेको छनक पाइसकेका थियौँ,’ उनले थपे।

चाँडै निस्कन पाइने थाहा भएपछि क्वारेन्टाइनमा खुसीको लहर छायो। उनीहरुले आइतबार राति नै क्वारेन्टाइनमा नाचगान समेत गरे।

‘आज ४३ दिन(वुहानमा समेत गरी) को तनाव दिमागबाट हटेको छ। खुसी छर्लङ्ग भएर निस्कियो,’ नाचगानको भिडियो सार्वजनिक गर्दै अशोक साहले लेखेका छन्।

सोमबार विहानदेखि सबैलाई कतिबेला रिपोर्ट आउँछ भन्ने कुराले अत्याएको थियो। रिपोर्ट लिएर स्वास्थ्य राज्यमन्त्री नवराज रावतसहित, भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे तथा क्वारेन्टाइनको स्वास्थ्य जिम्मेवारी सम्हालेको नेपाली सेनाको टोली सोमबार दिउँसो क्वारेन्टाइनस्थल पुगेको थियो।

क्वारेन्टाइन परिसरमा सबैजनालाई जम्मा पारियो। उनीहरु भेला हुँदा होर्डिङ बोर्डबाट सबैजना स्वास्थ्य रहेको सन्देश सम्प्रेषित भइसकेको थियो। त्यसमा लेखिएको थियो, ‘खरिपाटी क्वारेन्टाइन स्थलमा १४ दिन बिताउनुहुने सम्पूर्ण महानुभावहरुलाई सुस्वास्थ्य तथा दीर्घायुको कामनासाथ विदाई गर्दछौं।’

quarantine-board.jpg

लगत्तै नेपाली सेनाको स्वास्थ्यकर्मी टोलीको नेतृत्व गरिरहेका नवीन फुयालले पनि सबैजनाको रिपोर्ट नेगेटिभ रहेको सुनाए। सबैले खुसीले ताली बजाए। एक आपसमा खुसी साटे। कति घरपरिवारमा खबर पठाउन फोन गर्न थाले। कति सामूहिक तस्बिर खिच्न त कति सामाजिक सञ्जालमा अपडेट गर्नतिर लागे।

क्वारेन्टाइनबाट मुक्त हुँदै गर्दा अत्यन्त खुसी देखिएकी मिमांशा खतिवडाले भनिन्, ‘एकदम खुसी छौं। जुन ठाँउ(वुहान)मा थियौं त्यहाँ निकै समस्या छ। क्वारेन्टाइनमा सरकारले राम्रो व्यवस्था गरेको रहेछ। तनाव मुक्त भएर अभिभावकलाई भेट्न जादैँछौं।’

सबैलाई विदाई गर्दा स्वास्थ्य राज्यमन्त्री रावत पनि खुसी देखिए। उनले भने, ‘यो सरकारका निम्ति एकदमै खुसियालीको दिन हो। चीनमा हुँदा तपाईंका अभिभावकहरु मन्त्रालयको ढोका घच्घचाउन पुगेको मलाई अहिले पनि याद छ। हामीले सरकार, मन्त्रालय जिम्मेवार छ, तत्काल ल्याउँछौं भनेका थियौं,’ उनले भने, ‘तपाईंहरुलाई आज स्वस्थ्य रुपमा विदाई गर्न पाउँदा हर्षित छौं।’

घर जान चाहनेहरुलाई बल्खु, सुन्धारा, नयाँ बसपार्क तथा कलंकीसम्म क्वारेन्टाइनकै बसले पुर्‍याइदिने व्यवस्था गरिएको छ।

क्वारेन्टाइनबाट निस्किँदै गर्दा उनीहरुले नारा लगाए, नेपाल सरकार जिन्दावाद, नेपाल आर्मी जिन्दावाद! 

https://ujyaalonepalnews.com/archives/4758

Previous articleकोरोनाका कारण इरानका सर्वोच्च नेता आयोतल्लाह खामेनेइका सल्लाहकारको मृत्यु
Next articleमुस्ताङ घाँसाको सडकमा सुख्खा पहिरो खस्दा स्काभेटर चालकको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।