काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । दोस्रोपटक हुन लागेको मिर्गौला प्रत्यारोपणको पूर्वतयारी स्वरूप प्रधानमन्त्री ओली सोमबार बेलुकी ६ बजे भर्ना भएका हुन् ।
उनलाई त्रिवि शिक्षण अस्पताल ‘एनेक्स टु’ भवनमा रहेको भीभीआईपी कक्षको ६०१ नम्बरको क्याबिनमा भर्ना गरिएको छ । भर्ना हुनुअघि पत्रकारमाझ मुस्कुराउँदै अस्पतालको क्याबिनतर्फ लागेका उनले सम्पूर्ण नागरिकलाई ढुक्क हुन आग्रह गर्दै उपचार प्रक्रिया सकिएलगत्तै काममा फर्किने बताएका छन् ।
भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले पुनः मिर्गौला प्रत्यारोपणपछि थप ऊर्जा र आत्मविश्वास लिएर काममा फर्किने विश्वास व्यक्त गरेका छन् । उनले आफूले जगाएका सपनालाई बीचमा छाडेर अलप हुन नदिने्समेत बताए । प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गर्न भान्जी समीक्षा संग्रौला ज्ञवाली त्रिवि शिक्षण अस्पतालमा सोमबार नै पुगिसकेकी छन् । प्रधानमन्त्री ओलीसँगै उनी पनि अस्पताल भर्ना भएकी हुन् । ११ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका ओलीको यो दोस्रोपटक प्रत्यारोपण हो ।
त्यसबेला उनले भारतको एपोलो अस्पतालमा प्रत्यारोपण गराएका थिए । तर, यसपटक भने उनले नेपालकै सरकारी अस्पताल रोजेका छन् । प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाडेपछि प्रधानमन्त्री ओलीले नियमित डायलायसिस गर्दै आएका छन् । मिर्गौला प्रत्यारोपणको तयारीमा रहेका प्रधानमन्त्री ओलीको आइतबार कोलोनोस्कोपी’ गरिएको थियो । कुनै पनि ठूलो अप्रेसन गर्न कोलोनोस्कोपी गर्नुपर्ने हुन्छ । मुटु रोग विशेषज्ञ प्रा.डा. अरुण सायमीले प्रधानमन्त्री प्रत्यारोपण गर्न योग्य रहेको बताए । उनले भने, ‘उहाँ पूर्ण रूपमा स्वस्थ हुनुहुन्छ । शरीरको परीक्षण सकिएको छ ।’
प्रधानमन्त्री ओलीको १८ देखि २७ साउनसम्म सिंगापुरमा उपचार भएको थियो । उपचारका क्रममा ओलीको मिर्गौलासम्बन्धी एन्टिबडीको मात्रा केही बढी देखिएको थियो । एन्टिबडी बन्ने प्रक्रिया रोकी बनेको एन्टिबडिज शरीरबाट बाहिर निकालिएको थियो ।
चिकित्सकका अनुसार व्यक्तिको शरीरमा प्रत्यारोपण गरेको मिर्गौलाविरुद्ध शरीरले उत्पादन गरेको हानि गर्ने तत्वलाई एन्टिबडी भनिन्छ । एन्टिबडी हटाउने उपचार प्लाज्माफेरेसिस गरेर प्रधानमन्त्री ओली नेपाल फर्किएका थिए ।
The post ढुक्क हुनुहोस्, थप ऊर्जा लिएर फर्किन्छु : प्रम ओली appeared first on Rajdhani Daily News.
माग्नेʼबुढाको बुवाआमासँग भेट्दा यति धेरै हँसाए, केदार बारे खु’लाए यस्तो कुरा (भिडियो सहित)


