माधवपुरका सुत्केरीलाई वडा कार्यालयको कोशेली : कुखुराको भाले र घ्यू

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १५ ले वडाभित्रका गर्भवती र सुत्केरीलाई पौष्टिक आहारको रुपमा कुखुराको भाले, घ्यू लगायतका पौष्टिक आहार उपलब्ध गराएको छ ।

सुरक्षित मातृत्व अन्तर्गत वडा कार्यालयले कुखुराको भाले, घ्यू सहित अण्डा, मह, चना, दाल, भटमास र मन्जन, ब्रस र साबुन वितरण गरेको हो । आधारभूत स्वास्थ्य केन्द्रमा आयोजित औपचारिक कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतिथि वडा नं १३ का वडाध्यक्ष पोटबहादुर घिमिरे र वडा नं १५ का वडाध्यक्ष आशिक तामाङले एक गर्भवती र १५ जना सुत्केरी आमालाई कुखुराको भाले सहित पौष्टिक आहार हस्तान्तरण गरेका थिए ।

सो वडाले विगत तीन बर्षदेखि कुखुराको भाले सहित पौष्टिक आहार वितरण गर्दै आएको छ । सो अबसरमा वडा नं १३ का वडाध्यक्ष घिमिरेले गर्भवती र सुत्केरी आमाहरुलाई पौष्टिक आहार वितरणले समाजमा सकारात्मक सन्देश प्रबाह गरेको बताए । कुखुराको भाले सहितको पौष्टिक आहार सामन्य विषय भएपनि यसले ठुलो अर्थ राख्ने उनको भनाई छ । वडा नं १५ का वडाध्यक्ष तामाङले आमा र बच्चा दुबैको स्वास्थ्य सुरक्षाका लागि पौष्टिक आहार वितरण गरिएको बताए ।

परिमाणका हिसाबले सामन्य भएपनि वडा कार्यालयले पौषण कार्यक्रमले वडाबासीको अपनोत्व गराउने भन्दै यसलाई आगामी बर्ष परिमार्जन गर्दै लैजाने बताए । वडा भित्रका सुनौलो भविश्यलाई स्वागत गर्ने र उनीहरुको भविश्व प्रति स्थानीय सरकार जिम्मेवार रहेको कुरा अनुभूति गराउन पौष्टिक आहार वितरण गरिएको उनको भनाई छ ।

वडा सदस्य रुकमाया परियारले स्वागत मन्तव्य राखेका सो कार्यक्रममा वडा सदस्यहरु इमप्रसाद पन्त, लीलादेवी पोखरेल, वडा सचिव नवराज तिवारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम आधारभूत स्वास्थ्य केन्द्रकी अहेब मीना कुँवरले सञ्चालन गरेकी थिइन् ।

Previous articleसौराहा चोकमा पूर्वी चितवनका पत्रकारको विरोध प्रदर्शन
Next articleभोलि सार्वजनिक बिदा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।