Home Uncategorized क्यान्सर अस्पताल निर्माणमा जुटिन श्वेता

क्यान्सर अस्पताल निर्माणमा जुटिन श्वेता

काठमाडौं । पछिल्लो समय व्यवसायसँगै सामाजिक अभियानमा व्यस्त भएकी अभिनेत्री श्वेता खड्का यतिबेला क्यान्सरविरुद्ध अभियानमा छिन् । सिन्धुपालञ्चोकमा माझी बस्ती बनाएर गरिब माझीलाई हस्तान्तरण गरेकी यी अभिनेत्री अहिले क्यान्सर अस्पतालको निर्माणमा छिन् । क्यान्सर अस्पताल निर्माणमा लागेका केही चिकित्सकसँगै यी अभिनेत्री पनि जोडिएकी हुन् । उनले ललितपुरको गोदावरी नगरपालिकास्थित छम्पीमा साथीसँग मिलेर क्यान्सर अस्पताल निर्माण सुरु गरेकी छन् ।

‘नेसनल हस्पिटल एन्ड क्यान्सर रिसर्च सेन्टर’को भवन छम्पीमा निर्माण सुरु भएको छ । यो भवनको सोमबार मात्र सिलान्यास गरिएको हो । यो भवनमा दुई वर्षभित्रै क्यान्सर अस्पताल सञ्चालनमा ल्याउने योजनासहित आफू यो अभियानमा जोडिएको अभिनेत्री श्वेताले बताएकी छन् ।

‘मैले श्रीमान् श्रीकृष्ण श्रेष्ठजी र भिनाजुलाई क्यान्सरबाटै गुमाए । क्यान्सरको सुलभ उपचारको अभावमा यहाँ धेरैले ज्यान गुमाएका कारण हामीले सबैका लागि सर्वसुलभ क्यान्सर अस्पताल निर्माण थालेका हौं ।’ अस्पताल भवनको सिलान्यासपछि अभिनेत्री श्वेताले सञ्चारकर्मीसँग भनिन्, यो अस्पताल निर्माण गर्नुपर्छ भनेर आफू पाँच वर्षअघि देखि नै सक्रिय रहे पनि अब भने यसलाई निर्माण गर्ने चरणमा आफूहरू प्रवेश गरिसकेको श्वेताले प्रकाश पारिन् । कलाकारको पनि सामाजिक दायित्व हुने भएकाले माझी बस्तीपछि आफू क्यान्सर अस्पताल निर्माणमा जोडिएको उनले प्रस्ट पारिन् ।

‘समयमै उपचार गर्दा क्यान्सर ठिक हुन्छ भन्ने अभिनेत्री मनीषा कोइराला दिज्यूले पनि प्रमाणित गरिसक्नुभएको छ । उहाँ पनि अहिले क्यान्सरविरुद्धको अभियानमा जुट्नु भएकाले मैले पनि यो अभियान अँगालेकी हुँ ।’ यो अस्पताल निर्माणमा आफूहरूको टिममा अभिनेत्री मनीषा कोइराला समेत जोडिएका कारण अझ धेरै हौसला मिलेको पनि यी अभिनेत्रीले बताएका छन् ।

यी अभिनेत्रीको भनाइमा आर्थिक अभावले गर्दा क्यान्सरको उपचार नपाएर कसैको पनि ज्यान नजाओस् र यो अस्पतालमा गरिबहरूले सहजै उपचार गरेर क्यान्सरमुक्त हुन सकून् । आफूहरूको यो नै मुख्य उद्देश्य रहेको पनि श्वेताले बताएकी छन् ।
आफूहरूले निर्माण गर्न लागेको क्यान्सर रिसर्च सेन्टर एक सय शøयाको हुने पनि यी अभिनेत्रीले बताएकी छन् । यो अस्पताललाई नेपालमा अहिले भएका क्यान्सर अस्पतालमध्ये सबैभन्दा सुविधा सम्पन्न र सस्तो उपचार केन्द्र बनाउने योजना पनि यी अभिनेत्रीले सुनाइन् । यो अस्पताल पैसा कमाउनभन्दा पनि सेवाको उद्देश्यले निर्माण हुन लागेकाले आफू जोडिएको पनि यी अभिनेत्रीको कथन छ ।

‘यो अस्पताल निर्माण म र मेरो टिमले मात्र पैसा हालेर सम्पन्न गर्न सक्ने अवस्था छैन । त्यसैले हाम्रो यो अभियानमा जोडिएर यो अस्पताल निर्माण सम्पन्न गर्न म सबैसँग अनुरोध गर्दछु ।’

श्वेताले भनिन् । अभिनेत्री श्वेता पछिल्लो समय चलचित्रभन्दा सामाजिक अभियानमा व्यस्त छिन् । दुई वर्षअघि उनको चलचित्र कान्छी प्रदर्शन भए पनि त्यसपछि उनले फिल्म खेलेकी छैनन् । ७ महिनाअघि फिल्म हेलो जिन्दगीमा नायिकाका रूपमा अनुबन्धित भए पनि सुटिङका क्रममा बिरामी भएपछि श्वेताले यो चलचित्र छाडिन् । अब भने नयाँ चलचित्रको तयारीमा आफू रहेको पनि श्वेताले बताएकी छन् ।

The post क्यान्सर अस्पताल निर्माणमा जुटिन श्वेता appeared first on Rajdhani Daily News.

दमाम र जुबेलमा नयाँ पासपोर्ट वितरण हुने बारे नेपाली दुताबासको सूचना

Previous articleनीरफूलको ट्रेलरमा भूकम्पपीडितको पीडा
Next articleअब ओलीका शरिरमा चारवटा मृगौला!
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।