काठमाडौं – विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमण बढ्ने खतराका कारण १० कक्षाको एसईई परीक्षा सर्ने चर्चा चलेको छ ।
कतिपय शिक्षाविद्, विद्यार्थी र अभिभावकले विद्यार्थीको ज्यानभन्दा परीक्षा ठूलो नहुने भन्दै सार्न माग समेत गरिरहेका बेला शिक्षामन्त्रीले यसबारे केही खुलासा गरेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रवेशिका परीक्षा एसईई नसर्ने अडान लिए । एसईई सर्ने हल्लाका कारण विद्यार्थी, अभिभावक तथा शिक्षकहरु परीक्षालाई लिएर अन्योलमा देखिएका छन् ।
विहीबार बिहान बसेको सरोकारवालासँगको बैठकमा धेरैजसो सहभागीले परीक्षा सार्न माग गरेपनि शिक्षामन्त्री पोखरेलले परीक्षा नसर्ने स्पष्ट पारे ।
‘त्यो बेलासम्ममा अवस्था कस्तो हुन्छ अहिले नै भन्न सकिँदैन । त्यो बेलासम्ममा कोरोना भाइरसको प्रभाव देखिएमा परीक्षा सार्ने त्यतिबेलै निर्णय हुनेछ,’ उनले बैठकमा भने ।
शिक्षा मन्त्रालयले विद्यालय, शिक्षण संस्था, विद्यार्थी, शिक्षक तथा अभिभावकमा कोरोनाबाट बच्न सावधानी अपनाउन आग्रह गरेको छ ।


