बाराका एसपी भन्छन्ः १२ वर्षपछि पत्रकार वीरेन्द्र हत्याका मुख्य योजनाकार पक्रन सफल भयौं

बाराका पत्रकार वीरेन्द्र साह हत्याका मुख्य योजनाकारलाई १२ वर्षपछि पक्राउ गर्न प्रहरी सफल भएको छ।

पत्रकार साहको हत्यापछि फरार कुन्दन फौजदारलाई प्रहरीले शनिबार राति उनकै घरबाट पक्राउ गरेको हो।

बारा प्रहरी प्रमुख कृष्ण पंगेनीका अनुसार फौजदारलाई बाराको बारागढी नगरपालिका वडा नम्बर ६ (साविक गडहल गाविस ५) स्थित उनकै घरबाट पक्राउ गरिएको जानकारी दिए।

‘यो हाम्रो चौथो प्रयास हो,’ आइतबार बिहान नेपालखबरसँग टेलिफोनमा कुरा गर्दै एसपी पंगेनीले भने, ‘१२ वर्षपछि हामी पत्रकार वीरेन्द्र साह हत्याका मुख्य योजनाकार पक्राउ गर्न सफल भएका छौं।’

उनका अनुसार विशेष सूचनाका आधारमा प्रहरीले दुई/तीन ठाउँमा निगरानी बढाएको थियो।

‘तर फौजदार घरमै भेटिए, पक्राउ गर्न खोज्दा उनी भाग्न खोजे, स्थानीयले पनि घेरा हाले,’ एसपी पंगेनीले भने, ‘भिडभाड बढेपछि प्रहरीले ४ राउन्ड हवाई फायर गरेर उनलाई पक्राउ गर्‍याे।’

एसपी पंगेनीका अनुसार पत्रकार साह हत्यामा संलग्न ५ जनामध्ये फाैजदारसमेत गरेर ३ जना पक्राउ परे भने २ अझै फरार छन्।

‘मुख्य योजनाकारचाहिँ अहिले पक्राउ परेका कुन्दन फौजदार नै हुन्,’ एसपी पंगेनीले भने, ‘यसअघि दुई जना पक्राउ परिसकेका छन् र जन्मकैद सजायसेमत पाइसकेका छन्।’

हत्या भएका पत्रकार वीरेन्द्र साह-

birendra shah

उनका अनुसार अभियुक्त मनेजर गिरी ११ वर्ष जेल सजाय भोगेर कैदमुक्त भइसकेका छन् भने रामएकवाल सहनी अझै जेलमा छन्।

अब अझै दुई अभियुक्त पक्राउ पर्न बाँकी छन्।

‘उनीहरूको नाम अहिले नखुलाउँ होला, अनुसन्धानमा प्रभाव पर्न सक्छ,’ एसपी पंगेनीले नेपालखबरसँग भने।

एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार साहलाई २०६४ असोज १८ गते बाराको पिपरा बजारबाट अपहरण गरी टाँगिया बस्ती जंगलमा लगेर हत्या गरिएकाे थियो।

शान्ति सम्झौतामा आइसकेको तत्कालीन नेकपा (माओवादी)का कार्यकर्ताले उनको हत्या गरेको थियो।

अहिले फौजदारलाई बारा जिल्ला प्रहरी कार्यालयका हिरासतमा राखिएको छ।

पत्रकार वीरेन्द्र साहको हत्यासहित फौजदारविरुद्ध डाँका, लागुऔषधजस्ता मुद्दा पनि रहेको एसपी पंगेनीले जानकारी दिए।

उनलाई आजै अदालतकाे जिम्मा लगाइने उनले बताए।

 

कतारमा कोरोना संक्रमण तिब्र; स्वास्थ्य सुरक्षामा कडाइ, मास्क अनिवार्य

Previous articleसंसदीय टोलीलाई श्रमिकका प्रश्न– समस्या उही, उपाय खोई ?
Next articleमुख्यमन्त्री भट्टद्वारा नारी दिवसकाे शुभकामना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।