
धनगढीका राजेश भट्ट शनिबार सीमा पारीको भारतीय बजार गौरिफन्टामा घरेलु सामान खरिदका लागि पुगेका थिए। फर्कंदा सीमा नाकामा ज्वरो नापिने, कोरोना (कोभिड–१९) सम्बन्धी जानकारीमुलक पर्चा पम्पलेट बाँडिने सुनेका थिए। तर, सामान खरिद गरी फर्कंदा नाकामा न उनलाई कसैले रोक्यो न चेकजाँच नै भयो।
‘भारतमा पनि तीन दर्जन बढीलाई कोरोना संक्रमण देखिइसकेको छ,’ भट्टले नेपालखबरसँग भने, ‘गौरीफन्टा नाका भएर दैनिक सयौंको संख्यामा नेपाली र भारतीयहरु आवात जावत गर्छन। तर, सीमामा प्रभावकारी चेकजाँचको अभावमा यस क्षेत्रमा कोरोना संक्रमणको जोखिम बढी देखिएको छ।’
गौरीफन्टा नाकाबाट भारतको लखनउ, दिल्लीलगायतका शहरहरु नजिकको दूरीमा रहेका कारण सुदूरपश्चिमेलीहरु यही नाकाबाट आवात जावत गर्छन। प्रदेश सरकारले यस नाकामा स्थापना गरेको हेल्थ डेक्समा अहेब दिनेश ठकुल्लालाई खटाइएको छ।
एक्लैले सयौंको संख्यामा भित्रने सबैलाई चेकजाँच गर्न नसकिने उनको अनुभव छ। ‘कम्तिमा बिहान दुई तथा साँझ दुई जना खटाउनुपर्छ। एक्लैले सबैलाई चेकजाँच सम्भव हुँदैन,’ उनले गुनासो गरे।
धनगढीको एक नाका झैं देशभरका अन्य नाकामा पनि प्रभावकारी चेकजाँच संयन्त्र नभएकाले स्थलमार्गबाट कोरोना भित्रने जोखिम बढेको छ।
तर, सरकारको नियमित पत्रकार सम्मेलनमा अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमण नदेखिएको र बाहिरबाट आउनेलाई नियन्त्रण गर्न सरकारको बढी ध्यान केन्द्रित गरेको बताएका थिए।
‘स्थलगत मार्गबाट विदेशीहरु आउने ६ वटा मुख्य नाकाहरुसहित भारतबाट बढी आवातजवात हुने ३७ नाकामा स्वास्थ्यकर्मीसहितको टोली पठाएर प्रभावकारी निगरानी गरिरहेका छौं,’ मन्त्री खतिवडाले बिहीबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दाबी गरेका थिए। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पनि ७ वटै प्रदेशमा स्वास्थ्यकर्मीको टोलीसँगै उनीहरुका साथमा आवश्यक सामाग्रीहरु समेत पठाएको दाबी गरे।
‘स्थलमार्गबाट हुने आवागमनका लागि ७ वटै प्रदेशमा ७ टोली पठाएका छौं र आवश्यकता अनुरुप थप नाकामा थप स्वास्थ्य कर्मीहरु पठाउने काम जारी छ,’ देवकोटाले भने, ‘उनीहरुका साथमा आवश्यक मास्क, थर्मामिटर लगायत सामाग्री पठाएका छौं।’
यता विभिन्न प्रदेशले पनि आफ्ना क्षेत्रका नाकाको अनुगमन सूरु गरेका छन्। प्रदेश एकमा स्वास्थ्य सेवा विभाग जनस्वास्थ्य शाखा प्रमुख डा. भोगेन्द्रकुमार डोटेलसहित तीनजनाको टोली विराटनगर पुगेको थियो। उक्त टोलीसँगको परामर्श तथा सुझावपछि सीमामा सतर्कता सुरु गरिसकिएको प्रदेश १ सरकारका समाजिक विकासमन्त्री जीवन घिमिरेले बताए।
प्रदेश सरकारले मुख्य ४ नाकालाई कडा निगरानीमा राखिएको मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले जानकारी दिए। विराटनगर जोगबनी नाका, भद्रपुर नाका, काकडभिट्टा नाका र इलाम पशुपति नाकाबाट भित्रिनेमाथि निगरानी राखिएको छ।
अनुगमन गर्दै स्वास्थ्य विभाग
स्वास्थ्य सेवा विभागले सरकारको निर्णय अनुसार विभिन्न ३७ स्थलगत नाकामा स्वास्थ्यकर्मीसहित हेल्थडेस्क सञ्चालनमा ल्याउने निर्णय गरेको थियो। त्यसैअन्तर्गत विभागको ५ सदस्यीय टोलीले प्रादेशिक र स्थानीय निकायलाई आवश्यक जनशक्ति र सामानहरुबारे सुझाव दिएको थियो।
सो टोलीले स्थानीय निकायलाई सुझाएको जनशक्ति तथा आवश्यक सामाग्रीहरु हेल्थ डेक्समा भए नभएको, चेकजाँच प्रभावकारी ढंगबाट भए नभएकोबारे अनुगमनका लागि विभागले शनिबारबाट एक एक जना पठाउन थालेको विभागका महानिर्देशक महेन्द्र विष्टले जानकारी दिए।
‘१ नम्बर प्रदेशमा शनिबार साँझ नै सामानसहित स्वास्थ्यकर्मी हिँडिसकेँ,’ श्रेष्ठले भने, ‘सुदूरपश्चिम प्रदेशमा विभागको मान्छे त्यहीँ छन्। बाँकी स्थानमा जाने तयारीमा छन्। उनीहरुले त्यहाँ आवश्यक समान पुर्याउनुका साथै थप जनशक्ति आवश्यक भए–नभएको तथा प्रभावकारी ढंगबाट चेकजाँच भइरहेको बारे अनुगमन गर्नेछन्।’
हाल नाकामा दैनिक यताउती गर्ने स्थानीयलाई कोरोना सम्बन्धी स्वास्थ्य सन्देश दिने तथा टाढाबाट आउनेको ज्वरो नाप्ने, रेकर्ड राख्ने काम गरिने उनले बताए। ‘यदि कोही शंकास्पद छ भने उनीहरुलाई प्रदेश अस्पतालमा आइसोलेयसनमा राख्ने गरि तयारी गरिएको छ,’ श्रेष्ठले थपे।


