उत्सवका रूपमा होली मनाउन निषेध

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण विश्वभर फैलिँदै गएपछि जोखिम कम गर्न भन्दै यसपटकको होलीलाई उत्सवका रूपमा मनाउन निषेध गरेको छ । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि सरकारले ठूला सभा समारोह, भेला तथा कार्यक्रम गर्न रोक लगाएकामा होलीका दिनमा समेत यसपटक सामूहिक रूपमा भेला हुने, भीडभाड गर्ने, लोला पानी हान्ने, रङ दल्ने लगायत गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । गृह मन्त्रालयले शनिबार विज्ञप्तिमार्फत यस्ता गतिविधि नगर्न आग्रह गरेको थियो ।

प्रहरीले भने सरकारको निर्देशनको पालना गराउन र होलीका दिनमा हुन सक्ने सम्भावित चुनौती कम गर्न काठमाडौं, भक्तपुर र ललितपुरमा गरी २२ सय बढी प्रहरी परिचालन गर्ने तयारी गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उपत्यकाको होली सुरक्षाका लागि तीनै जिल्लामा गरी २२ सय बढी प्रहरी खटाउने भएको हो, जसअनुसार काठमाडौंमा १३ सय, ललितपुरमा ५ सय तथा भक्तपुरमा ४ सय प्रहरी खटिनेछन् । त्यसबाहेक सडकमा ट्राफिक प्रहरीसमेत उल्लेख्य रूपमा परिचालन गरिनेछ । उपत्यकाका तीनै जिल्लामा गरी ६ सय ट्राफिक प्रहरी परिचालन हुनेछन् ।

महानगरीय प्रहरी प्रमुख (डीआईजी) विश्वराज पोखरेलले सरकार तथा गृह मन्त्रालयबाट समेत कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राख्दै होलीका अवसरमा विगतमा जस्तो सामूहिक रूपमा जम्मा हुने, भीडभाड गर्ने, लोलापानी हान्ने वा शरीरमा रङ तथा अबिर दल्नेलगायत कार्य नगर्न आग्रह गरिएकाले प्रहरीका तर्फबाट त्यस्ता गतिविधि नगर्न सबै सर्वसाधारणमा आग्रह गरिएको बताए । ‘यसपटकका लागि होली पर्वलाई उत्सवका रूपमा मनाउन निषेध गरिएको छ, जबर्जस्ती रूपमा रङ दल्ने, लोला पानी हान्ने गरेको पाइए प्रहरीले त्यस्ता गतिविधिमा संलग्नलाई पक्राउ गर्छ,’ महानगरीय प्रहरी कार्यालयका प्रमुख पोखरेलले राजधानीसँग भने ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले होलीका दिनमा हुन सक्ने सम्भावित जोखिमलाई कम गर्न ठाउँठाउँमा चेक प्वाइन्ट, पिकेट तथा मोबाइल गस्तीमार्फत चेक जाँचलाई कडा बनाइने जानकारी दिए ।

महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले उपत्यकाका सडकमा तीन जिल्लामा गरी सोमबार (आज) ६ सय ट्राफिक प्रहरी चेकजाँचका लागि खटाइने बताए ।

उनका अनुसार होलीका दिन हुन सक्ने सम्भावित सडक दुर्घटना कम गर्न ट्राफिक प्रहरीले मादक पदार्थ सेवनको चेकजाँच, लागूऔषध सेवनको चेकजाँच, तीव्र गति कन्ट्रोल, कागज पत्र चेकजाँच तथा जथाभावी पार्किङलाई कडा रूपमा निगरानीमा राख्नेछ ।

The post उत्सवका रूपमा होली मनाउन निषेध appeared first on Rajdhani Daily News.

पेट्रोल अब लिटरको १५५ रुपियाँ, आज बाट फेरी बढ्यो भाउ

Previous articleराजधानी दैनिकका कार्यकारी सम्पादक पण्डित सम्मानित
Next articleखोइ सेनिटाइजर र सर्जिकल मास्क ?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।