ओली उपचार र नेपालीको अपेक्षा

केही समययता भएका चर्चा परिचर्चा मूलतः दुई विषय केन्द्रित छन् । एउटा हो कोरोना भाइरस ‘कोभिड –१९’ र अर्को हो प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण । ‘कोभिड–१९’ ले विश्वलाई नै त्रसित बनाएको छ । चीनको वुहानबाट गत डिसेम्बरमा देखापरेको यो घातक भाइरसले यतिखेर आधा संसारलाई प्रभावित पारिसकेको छ । मृत्युको संख्या अनुमान गरिएजस्तो धेरै नभए पनि प्रभावित हुनेको संख्या निरन्तर बढ्दो छ । यसको उपचार हालसम्म पत्ता नसकेको कारण यो विश्वका लागि चुनौतीका रूपमा रहेको छ । यसैकारण यस विषयले विश्वभर नै चर्चा पाएको छ र हामी पनि यसबाट अछुतो छैनौं । सौभाग्य, हामीकहाँ अहिलेसम्म पनि यसबाट कोही प्रभावित भएको पुष्टि भएको छैन । यद्यपि, सरकारले नागरिकलाई सजग रहन तर त्रास नलिन सुझाएको छ ।

कोरोना भाइरसको महामारी फैलिएको र यसले उत्पन्न गरेको त्रासका असरहरू भने बजारमा देखा परेका छन् । यसैकारण बजार प्रभावित भएको छ । व्यापारीले सामानको कृत्रिम अभाव सिर्जना गर्ने र उपभोग्य सामग्रीमा कालोबजारी गर्न थालेका छन् । उता उपभोक्ताले पनि आफूलाई आवश्यक पर्ने ग्याँसदेखि खाद्यान्नसम्मका सामग्री संग्रह गर्ने क्रम बढेको छ । कोरोनाका कारण विश्वकै आर्थिक गतिविधि प्रभावित भएको र नेपाल पनि यसबाट अछुतो नरहने अर्थविद्हरूले बताइरहेका छन् । स्मरणीय छ, कोरोनाका कारण विश्वमा हालसम्म झन्डै ४ हजारको मृत्यु भएको छ भने सय देश प्रभावित भएका छन् भने १ लाख बढीे संक्रमित भएका छन् ।

कोरोना भाइरस संक्रमणको भविष्यवाणी आजभन्दा ५ सय वर्ष अघि भएको विषय पनि यतिखेर चर्चामा छ । प्रसिद्ध फ्रान्सेली भविष्यवक्ता नोस्त्रदामसले यस्तो महामारीको भविष्यवाणी गरेका थिए । जसमा सन् २०२० मा एक महामारीले विश्वलाई नै आफ्नो चपेटामा पार्ने उल्लेख गरिएको बताइएको छ । ‘लेस प्रोफेसिस’ नामक उनको पुस्तकमा यो कुरा उल्लेख रहेको बताइन्छ । यस वर्षलाई तेस्रो विश्वयुद्ध सम्भावना वर्षका रूपमा पनि उल्लेख गरिएको पुस्तकमा जलवायु परिवर्तनको कारण विश्वले विभिन्न किसिमका प्राकृतिक विपत्तिको सामना गर्नुपर्ने उल्लेख रहेको छ । त्यस्तै, अस्ट्रेलिया र अमेजनका जंगलमा लागेको आगोलाई यसैसँग जोडेर हेरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण अर्को चर्चाको विषय हो । सामान्य बिरामी पर्दासमेत नेपालका नेता विदेश जाने परम्परा तोड्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालकै सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएपछि यस विषयले चर्चा पाएको हो । त्यसो त पहिले ओलीको उपचार अमेरिकामा गराउने प्रयास भएको थियो । त्यसका लागि प्रयास पनि नभएको होइन । केही महिनाअघि लगातार दोस्रोपटक सिंगापुर पुगि झन्डै दुई साता बस्दा नै पनि यसका लागि आसेपासे र विदेश मन पराउनेबाट प्रयास भएको थियो तर अन्ततः प्रधानमन्त्री ओलीले स्वदेशमै त्यो पनि सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने निर्णय लिएर सबैलाई चकित बनाइदिए । यो हामी सबैका लागि र नेपाली चिकित्सा जगत्का लागि गौरवको विषय हो ।

पहिलोपटक १३ वर्षअघि भारतको अपोलो अस्पतालमा प्रत्यारोपण गराएका ओलीले दोस्रोपटक हालै महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भारतीय चिकित्सकसमेतको उपस्थितिमा नेपाली चिकित्सकबाट भएको हो । प्रत्यारोपणपश्चात् उनी हाल चिकित्सकको रेखदेखमै अस्पतालमा छन् । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको सफलताले एकातिर नेपाली चिकित्सकको दक्षतालाई लिएर चर्चा पाएको छ भने अर्कोतिर प्रधानमन्त्री जस्तो मुलुकको कार्यकारी प्रमुख पदमा आसीन व्यक्तिले यति ठूलो उपचार स्वदेशमै गर्ने चाहना राख्नु र त्यसखालको साहसिक निर्णय लिनुलाई सबैतिरबाट प्रशंसा गरिएको छ । स्मरणीय छ, झन्डै १३ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरिएकोमा सो मिर्गौलाले समेत काम गर्न छाडेपछि केही समय यता नियमित डायलासिस गराइरहेका प्रधानमन्त्री ओलीमा नाताले भान्जी पर्ने समीक्षा संग्रौलाको मिर्गौला प्रत्यारोपण गरिएको हो ।

यस विषयले अब नेपालमै उपचार सम्भव छ र गराउनुपर्छ भन्ने सन्देश प्रवाहित भएको छ । जटिल मानिने मिर्गौला प्रत्यारोपणका लागि दक्ष चिकित्सक र आवश्यक उपकरणसहितका सुविधायुक्त अस्पताल रहेको पनि पुष्टि भएको छ । प्रत्यारोपणपश्चात् प्रधानमन्त्री ओलीको स्वास्थ अवस्थामा क्रमिक सुधार भइरहेको र सामान्य बन्दै गएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी गराएको छ । मिर्गौला दाताको समेत स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ ।
प्रधानमन्त्री ओलीले नेपालको स्वास्थ्य संरचना र नेपाली चिकित्सकलाई विश्वास नगरी अमेरिका, बेलायत वा अन्य कुनै समृद्ध र आधुनिक प्रविधिले सम्पन्न मुलुकमा गएर उपचार गराउन सक्ने भए पनि त्यसो नगरेर स्वदेशमै उपचार गराई विदेशमा उपचार गर्ने गराउने परम्पराको अन्त्य गरेका छन् । यस विषयले प्रधानमन्त्रीले निकै आलोचना गर्ने सामाजिक सञ्जालसमेत सबैतिर प्रधानमन्त्रीको प्रशंसा भएको छ । प्रधानमन्त्रीले लिएको यो निर्णय उदाहरणीय भएको र यस निर्णयको अन्य नेता तथा मन्त्रीले पाठका रूपमा लिने अपेक्षा गरिएको छ । प्रधानमन्त्रीले नेपाली चिकित्सक र नेपालका अस्पतालप्रति ठूलो विश्वास जगाएकाले चिकित्सकले समेत प्रशंसा गरिरहेका छन् ।

यस प्रत्यारोपणले स्वदेशमै उपचार हुने रोगका लागि पनि विदेश जाने प्रवृत्तिलाई ठूलो धक्का दिएको छ । यो नेपाली चिकित्सकका लागि पनि खुसी र गौरवको विषय हो । तर, चिकित्सकले पनि आफूलाई व्यावसायिक बनाउँदै विश्वसनीय वातावरण बनाउनु जरुरी छ । चिकित्सकले प्रधानमन्त्री ओलीले नेपालमा मिर्गौला प्रत्यारोपणजस्तो जटिल शल्यक्रिया गरेर नेपाली चिकित्सक र अस्पतालमाथि ठूलो विश्वास जगाएको बताएका छन् । यो विश्वासलाई आमसर्वसाधारणप्रतिको व्यवहारबाट पनि पुष्टि गर्ने जिम्मेवारी चिकित्सक स्वयंको हो । अति विशिष्ट र विशिष्ट व्यक्तिको उपचारमा जेजस्तो गम्भीरता र दक्षता देखाइन्छ वा देखाइयो त्यसखालको गम्भीरता आमसर्वसाधारणको उपचारमा पनि देखाउन सकेमा चिकित्सकप्रतिको भरोसा र विश्वास अभिवृद्धि हुनेछ । धेरै खर्च गरेर बाहिर उपचार गर्न जान सक्ने कति नै छन् र ? नसक्ने कतिपयले मुलुकभित्रै उपचार गराउने बाध्यतामा चिकित्सकको लापर्बाहीका कारण अकालमा ज्यान गुमाउनुपर्ने अवस्था पनि छ । यसतर्फ पनि चिकित्सकहरूको ध्यान जानु आवश्यक छ ।

यो उनीहरूका लागि अवसर हो भने आमसर्वसाधारणका लागि आशा एवं खुसीको विषय हो । चिकित्सक हतार गर्ने, धेरै ठाउँमा दौडने र आर्थिक लाभको हिसाबमा लाग्दा कतिपय बिरामीले दुःख पाउनुपरेको यथार्थ लुक्न सक्दैन । प्रधानमन्त्रीको सफल मिर्गौला प्रत्यारोपण चिकित्सा क्षेत्रकै लागि सकारात्मक उपलब्धि हो । तर, हाम्रो चिकित्सा क्षेत्र व्यावसायिक हुन नसकेको पीडादायी यथार्थ, अनि व्यापारिक सोचले उपचारमा गरिने विभिन्न अस्वाभाविक कार्यको पाटो आफ्नै छ । अतिविशिष्ट व्यक्तिझैं अन्य बिरामीले पनि उपचारमा समान व्यवहार पाउनुपर्ने आवश्यकतालाई नकार्न सकिँदैन ।

हाम्रा सरकारी अस्पतालप्रति भरोसा घट्नुको मूल कारण नै चिकित्सकमा गम्भीरताको अभाव हो । चिकित्सकले अस्पताल आउने बिरामीलाई क्लिनिकमा बोलाउने, निजी अस्पतालमा बढी समय दिने र बिरामीलाई खर्चिला तिनै अस्पतालमा छिटो उपचार हुने भएकाले त्यतैतिर पठाउने, अनावश्यक औषधि भिडाउनेजस्ता प्रवृत्ति पनि हाम्रो चिकित्सा क्षेत्रमा छ । जसले यो क्षेत्र कतिपय अवस्थामा विवादित पनि हुने गरेको छ । स्वास्थ्यमाथिको खेलबाड वा लापर्बाही कुनै पनि बहानामा सहन सकिँदैन । सबैको शरीर उही हो र सबैका लागि आफ्नो शरीरको माया र महŒव हुन्छ भने उपचारमा ओहदा र हैसियत हेरिनुहुँदैन । सकेसम्म छिटो उपचार दिनुपर्छ ।

चिकित्सकले विभेद गर्ने, ठूला र साना वा बढी पैसा झर्ने, सम्मान पाउने, नाम चलाउने अवसर मात्र हेर्ने होइन व्यावसायिकता देखाउनुपर्छ यसो गर्न सकेमा चिकित्सकप्रतिको भरोसा र विश्वास बढ्नुका साथै यस क्षेत्रको प्रशंसा हुन्छ । निजी क्षेत्रका अस्पताल खर्चिला भएकाले आमसर्वसाधारण सरकारी अस्पतालमाथि नै भर पर्छन् । यस सन्दर्भमा चिकित्सकले आफू जहाँ रहेर सेवा प्रदान गरिरहेको किन नहोस् व्यावसायिकता र इमानदारिता साथ चिकित्सकीय सेवा दिनुपर्छ । चिकित्सा क्षेत्रमा व्याप्त विकृति विसंगतिको अन्त्य हुनु जरुरी छ । चिकित्सकमा व्यावसायिकता आवश्यक छ । धन कमाउने मात्र होइन इज्जत प्रतिष्ठा र सम्मान कमाउने प्रयास हुनुपर्छ । समग्रमा, चिकित्सा क्षेत्रको सम्मान चिकित्सकको हातमा नै हुन्छ ।

त्यस्तै, संविधानको भावना विपरीतका विधेयक आदिका कारण अधिनायकवादको आशंका सरकारमा विधमान छ । तर, उपचार पछि पुनः कार्यसम्पादनमा फर्कंदा ओली भिन्न ढंगमा प्रस्तुत हुनेछन् भन्ने अपेक्षा धेरैको छ । यहीँनेर सम्झनुपर्ने विषय, प्रदेश र स्थानीय तह अधिकारविहीनताको अवस्थामा छन् । संघीयता आए पनि अधिकार नपाउँदा हुनुपर्ने काम पनि हुन सकेका छैनन् । प्रतिपक्षी अत्यन्त कमजोर भएकाले उसलाई जतिसुकै बाधकका रूपमा व्याख्या गर्ने प्रयास भए पनि उसको कतै पनि कुनै भूमिका देखिँदैन । यस सन्दर्भमा ओली सरकारका बितेका दुईवर्ष एकप्रकारले खेर गएकै भन्नुपर्छ । लक्ष्य ठूलाठूला छन् र गति लिन सकिरहेको अवस्था छैन । यतिखेर त झन् कोरोना सन्त्रास व्याप्त छ । पर्यटकीय गन्तव्य सुनसान हुन थालिसकेका छन् ।

संसारभर यसकै चर्चा छ । यसबाट हामी अछुतो रहने कुरै भएन । यसले अर्थतन्त्रलाई प्रभावित पार्नेछ । भ्रमण वर्ष त स्थगित गरी नै सक्यौं । नियमित रूपमा आउने पर्यटकको आगमनसमेत कमजोर हुँदा पर्यटन क्षेत्र र मुलुकको आर्थिक क्रियाकलाप त प्रभावित हुनेछन् । यसले वैदेशिक रोजगारसमेत प्रभावित हुने र त्यसले विप्रेषण आप्रवाह प्रभावित हुन जाँदा त्यसले पनि अर्थतन्त्रलाई अझ नकारात्मक प्रभाव पार्न सक्ने सम्भावना छ । यस सन्दर्भमा मिर्गौला प्रत्यारोपणपश्चात् कार्यसम्पादनमा फर्कंदा प्रधानमन्त्री ओलीले आफूलाई फरक ढंगबाट प्रस्तुत गर्नु अनिवार्य र अपरिहार्य छ । उपचारले त सकारात्मक सन्देश दिएको छ नै कार्यशैलीमासमेत सहिष्णुता र नवीनताको अनुभूति गराउन सकेमा प्रधानमन्त्री ओलीको आगामी दिनमा अवश्य वाहवाही हुनेछ ।

The post ओली उपचार र नेपालीको अपेक्षा appeared first on Rajdhani Daily News.

अब पोखरा संसारसँग जोडिने छ : मन्त्री आले

Previous articleकार्यान्वयनको कसीमा आयोजना बैंक
Next articleमोटरसाइकल दाइजो नदिएको भन्दै विवाहकै दिन बेहुला भगाइयो, कानुनी उपचार खोज्दै बेहुली पक्ष
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।