पठाओ, टुटल आवद्धलाई कारबाही गर्न सरकारको सूचना

काठमाडौं–सेयर राइडिङ एपबाट सञ्चालन भइरहेका पठाओ, टुटल आवद्ध सवारी साधनलाई कारवाही गर्न सरकारले सूचना जारी गरेको छ।

ट्याक्सी व्यवसायी तथा ट्याक्सी चालकले टुटल, पठाओसहितका कम्पनीले कानुन विपरित सेवा प्रदान गरेको भन्दै कारवाही माग गर्दै दिनअघि यातायात व्यवस्था विभागमा धर्ना दिएका थिए। त्यसको केही दिनपछि विभागले पठाओ, टुटलको नाम उल्लेख नगरी मंगलबार राति उनीहरुलाई कारवाही गर्न सूचना जारी गरेको हो।

के छ सूचनामा?
यातायात व्यवस्था विभागको सूचनाअनुसार कुनै एक प्रयोजनका निम्ति दर्ता सवारी अर्को प्रयोजनका निम्ति प्रयोग गर्न पाइँदैन। यातायात व्यवस्था ऐन २०४९ लाई हवाला दिँदै सूचनामा भनिएको छ, ‘विभिन्न प्रयोजनका लागि दर्ता भएका सवारी साधनहरु विभिन्न माध्यमबाट आफूखुशी भाडा तोकी सार्वजनिक सवारीको रुपमा प्रयोग गर्न पाइँदैन।’ यो व्यवस्थाको उल्लंघन गर्ने सवारी साधनलाई कारवाही गरिने सूचनामा उल्लेख छ।

यो प्रावधान उल्लंघन गर्ने सवारी साधनलाई यातायात व्यवस्था विभाग, मातहातका निकाय तथा अन्य निकायहरुले कडाइका साथ अनुगमन गर्ने जनाइएको छ।

सरकारको यो सूचनाबाट सेयर राइडिङ एप टुटल, पठाओ सिधै आकर्षित हुनेछन्। यी कम्पनीहरुले मोबाइल एपमार्फत् सर्वसाधारणलाई सेवा दिँदै आएका छन्। सरकारको सूचनाअनुसार त्यस्ता सवारी साधनमाथि तत्कालै कारवाही थालिनेछ।

विभागले टुटल, पठाओलाई कारवाही गर्न चाहेको यो पहिलो पटक होइन। यसअघिका दुई पटक यस किसिमका प्रयास भएका थिए। ती दुवैले मूर्तरुप पाउन सकेनन्।

विभागले २०७५ माघमा विभागले टुटल, पठाओलाई कारवाही अघि बढाउन खोजेको थियो। त्यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ प्रविधि आधारित व्यवसायलाई प्रोत्साहन गर्नुपर्ने भनेपछि विभाग पछि हटेको थियो।

२०७६ मंसिरमा फेरि विभागलेसूचना जारी गर्दै टुटल र पठाओको सेवा बन्द गर्न प्रयास गरेको थियो। सो सूचनापछि ट्राफिक प्रहरीले सडकमा गुड्ने टुटल र पठाओका सवारी साधनलाई कारवाही समेत थालेको थियो। त्यतिबेलै यातायातमन्त्री बसन्त नेम्वाङले टुटल पठाओलाई सेवा सञ्चालन गर्न दिन विभागलाई निर्देशन दिएपछि कारवाही स्थगित भएको थियो।

ट्याक्सी व्यवसायीहरु टुटल, पठाओजस्ता सेयर राइडिङ सेवा बन्द गराउनुपर्ने पक्षमा छन्। उनीहरुले यस विषयमा पटक–पटक सरकारको ध्यान आकर्षण गराउँदै आएका छन्।

मालढुङ्गा–बेनी सडकखण्डमा पाँच घण्टा यातायात बन्द हुने

Previous articleकलंकी–धोबीखोला सडक विस्तार तत्काल सुरु नहुने
Next article‘कोरोना भाइरस हावामा ३० मिनेट बाँच्छ, साढे ४ मिटरसम्म फैलन्छ’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।