पुलिससँग थ्री स्टार स्तब्ध

पोखरा । डिफेन्डिङ च्याम्पियन रुस्लान थ्री स्टार क्लब १८औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमाबाटै बाहिरिएको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा थ्री स्टार विभागीय टोली नेपाल पुलिस क्लबसँग ३–० ले स्तब्ध हुदै प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरिएको हो ।

यससँगै पुलिसले लिगमा बेहोरेको १–० को हारको बदला लिन सफल भएको छ । लिगपछि यि दुई टोली पहिलोपटक आमनेसामने भएका हुन् । युवा खेलाडीले भरिएको थ्री स्टारले पुलिससँग निकै नै कमजोर खेल पस्कदा सेमिफाइनलबाटै घर फर्कन बाध्य बन्यो । पोखरा रंगशालामा पुलिसको जितमा निर कुमार राईले दुई तथा कप्तान भरत साहले एक गोल गरे । खेलको आठौं मिनेटमा कप्तान भरत साहले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए ।

निशान खड्काले पुलिसका खेलाडीलाई फउल गरेपछि प्राप्त फ्रिकिकमा तेज तामाङले छिटो गरी चलाउदै रवि पासवानलाई दिएको थियो । भरतले रविको क्रस पासमा अशोक खवासलाई बिट गर्दै वान टचमा गोल गर्न सफल भएका थिए । त्यसअघि खेलको चौथौ मिनेटमा मिक्छेन तामाङको फ्रिकिकमा सन्जोक राईको हेडर पहिलो बारबाट बाहिरिदा थ्री स्टार अग्रता लिनबाट चुकेको थियो ।

१०औं मिनेटमा भरत साहकै अर्काे प्रहारलाई थ्री स्टारका गोलरक्षक पुर्ण चेम्जोङले मुस्किलले बचाए । १९औं मिनेटमा सन्जोक राईको क्रसमा आशिष राईको प्रहारलाई अन्जन राईले ब्लक गर्दै सम्भावित बराबरी टार्दा थ्री स्टार बराबरीबाट चुक्यो । ३३औं मिनेटमा मिक्छेन तामाङको कर्नरमा सुसान श्रेष्ठको हेडर पासमा सन्जोक राईको प्रहारलाई पुलिसका गोलरक्षक रोशन खड्काले मुस्किलले बचाउदा थ्री स्टार पुनः बराबरीबाट चुक्यो ।

५१औं मिनेटमा निर कुमार राईले गोल गर्दै पुलिसको अग्रता दोब्बर पारे । थ्री स्टारका कप्तान बिक्रम लामाको गल्तीमा बल अघि बढाउदै गरेको प्रहारलाई थ्री स्टारका गोलरक्षक पुर्ण चेम्जोङको हातमा लाग्दै गोलमा परिणत भएपछि थ्री स्टारको फाइनल यात्रा टाढिएको थियो । ६३औं मिनेटमम अशोक खवासको क्रस पासमा सन्जोक राईको प्रहार गोलरक्षक रोशन खड्काले पञ्च गर्दै बचाउदा थ्री स्टारले गोल अन्तर घटाउने अवसर गुमायो ।

७२औं मिनेटमा निर कुमार राईले गोल गर्दै पुलिसलाई सहज जिततर्फ अघि बढाए । तेज तामाङले पेनाल्टी बक्सभि मिलाइदिएको पासमा अनमार्क रहेका निरकुमार राईले गोल गरेन सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा पुलिस ३–० ले विजयी हुदै फाइनलमा पुग्न सफल भयो । दुई गोल गरेका पुलिसका निर कुमार राई खेलको म्यान अफ दि म्याच घोषित भए । उनले १० हजार रुपैया हात पारे । क्याराभान गोल्डकपसहित ६ पटकको च्याम्पियन पुलिसले अब फाइनलमा मनाङ–मस्र्याङ्दी र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग शनिबार खेल्नेछ । आर्मी र मनाङबीचको सेमिफाइनल बिहीबार हुनेछ ।

जितपछि पुलिसका प्रशिक्षक अनन्तराज थापाले शुरुमै गोल निस्कदा जित हात पार्न सहज भएको बताए । ‘थ्री स्टार आफैमा ब्रान्ड क्लब हो । यसपटक युवा खेलाडीलाई मौका दिएको थ्री स्टारले हामीसँग राम्रै खेल पस्केको हो । विदेशी खेलाडी नहुदा पनि हामीलाई थ्री स्टारविरुद्ध जित निकाल्न केही सहज भएको हो ।’ खेलपछि प्रशिक्षक थापाले भने, ‘अब हाम्रो लक्ष्य च्याम्पियन बन्ने हो । हामीलाई आर्मी र मनाङ जुनै प्रतिद्धन्द्धी आएपनि फरक पर्नेछैन । दुवै टोलीसँग बदला लिने अवसर छ । बदला लिदै च्याम्पियन बन्नेछौं ।’ पुलिस राइनो गोल्डकपको फाइनलमा आर्मीसँग तथा बुढा सुब्बा गोल्डकपमा मनाङसँग सेमिफाइनलमा पराजित भएको थियो ।

The post पुलिससँग थ्री स्टार स्तब्ध appeared first on Rajdhani Daily News.

भूमिमन्त्री श्रेष्ठद्वारा भूमिहीन दलितलाई लालपुर्जा

Previous articleकोरोना भाइरस सर्ने भन्दै वारणसी मन्दिरको मूर्तिमा लगाइयो ‘मास्क’
Next articleहाम्रो दुश्मन गरिवी हो : सभामुख
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।