त्रिशूलीमा हामफाल्ने नवविवाहित युवतीका पतिलाई आत्महत्या दुरुत्साहन मुद्दा

0
69

नुवाकोटमा मध्यराति त्रिशूली नदीमा हामफाल्ने नवविवाहित युवतीका पतिलाई प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दा लगाएको छ।

नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १, ढुंगेबजारस्थित चारतले घरको बरन्डाबाट नवविवाहित २१ वर्षिया सञ्जु खातीले अघिल्लो बुधबार अर्थात् यही फागुन २१ गते मध्यराति त्रिशूली नदीमा हामफालेर आत्महत्या गरेकी थिइन्।

उनका श्रीमान् पति २२ वर्षीय मौसम खातीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दाअन्तर्गत नुवाकोट जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान भइरहेको नुवाकोट जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेश थापाले जानकारी दिए।

‘सुरुमा ७ दिनको म्याद लिइएको आज (बिहीबार) पूरा हुँदै छ,’ बिहीबार बिहान डीएसपी थापाले नेपालखबरसँग भने, ‘भोलि (शुक्रबार) पुनः म्याद थप्ने तयारीमा छौं।’

फागुन २१ गते बुधबार राति स्थानीयले खबर गरेपछि नुवाकोट जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पुग्दा सञ्जु, घरसँगै जोडिएको त्रिशूली नदीको बगरमा पछारिएको अवस्थामा भेटिएकी थिइन् भने उनका पति मौसम छेउमा बेहोस भेटिएका थिए।

त्यसपछि प्रहरीले दुवैलाई नुवाकोट जिल्ला अस्पताल (त्रिशूली) पुर्‍याएकाे थियो। त्यसक्रममा चिकित्सकले सञ्जुलाई तत्काल मृत घोषणा गरेका थिए भने मौसमलाई उपचार गरेको थियो।

कुनै चोटपटक नभएका मौसमको उपचारका क्रममा होस खुलेपछि प्रहरीले हिरासतमा राखेको हो।

प्रवक्ता थापाका अनुसार अहिले पनि मौसम नुवाकोट जिल्ला प्रहरी कार्यालयकै हिरासतमा छन्।

‘यी केटाले श्रीमतीसँग पहिले पनि धेरैपटक झगडा गरेको माइती पक्षबाट बुझियो,’ डीएसपी थापाले भने, ‘उनकै कारण केटीले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।’

आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गराएर उनीविरुद्ध थप अनुसन्धान भइरहेको डीएसपी थापाले जानकारी दिए।

‘ती युवकको पृष्ठभूमि पनि राम्रो पाइएन। लागुऔषध दुर्व्यसनीसमेत रहेको बुझिएको छ,’ उनले भने। 

सञ्जुका बुबा धादिङको रोराङ गाउँपालिका वडा नम्बर ७ निवासी तिलक सुनारले ज्वाइँ मौसमविरुद्ध उजुरी दिएका हुन्।

डीएसपी थापाका अनुसार काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको सञ्जुको शवको पोस्टमार्टम रिपोर्ट पनि आउन बाँकी छ।

त्यो रिपोर्ट आएपछि पनि अनुसन्धानमा थप तथ्य मिल्ने उनको भनाइ छ।

याे पनि : 

नवविवाहित युवतीले त्रिशूलीमा हामफालिन्, बेहोस पति पक्राउ

औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेलामा १ करोडको कारोबार

Previous articleयी हुन् डेढ करोड बढी रकम हिनामिना गर्ने सरकारी कर्मचारी
Next articleकोरोना संक्रमण तयारी कमजोर भहेकोमा मन्त्री साहको चिन्ता