धन कमाउन गएको छोरो बाकस भित्र: ७६ वर्षीया आमा भिडियो कल गर्ने प्रयासमा

युएईको अबुधाबीमा ३० दिनअघि बितेका ३६ वर्षीय हरिशरण डोटेलको श’व उतै छ । काकाको अन्त्ये’ष्टि गर्न नपाएकोमा नुवाकोटको बेलकोट– १२ मदानपुरका २३ वर्षीय अश्विन बे’चैन छन् । पीडाले वि’क्षिप्त काकीको हेरचाह गर्ने मात्र होइन, अन्जान हजुरआमालाई यो खबर कसरी सुनाउने ? यी युवालाई सिंगो पृथ्वीको भार टाउकोमा परेजस्तो भएको छ ।

वैदेशिक श्रमबजारमा पसिना बेच्न गएका युवाको मृ’त्यु यो पहिलो वा अन्तिम घटना होइन । एक युवाको मृत्युले सिंगो परिवारको भाग्यरेखा कसरी भाँडिन्छ भन्ने रिपोर्टिङ गर्न केही दिनअघि हामी हरिशरणको गाउँ पुग्यौँ । काठमाडौंबाट करिब तीन घन्टाको यात्रापछि मदनपुर, डोटेलगाउँको उकालोमा अश्विन भेटिए । उनैले आफ्नो परिवारको व्यवस्था बयान गरे ।

वैदेशिक रोजगारीका क्रममा हरिशरण अबुधाबी गएका हुन् । गत ९ चैतमा उनको मृ’त्यु भएको खबर आयो । काठमाडौं नेपालटारस्थित डेरामा बस्दै आएकी ३४ वर्षीया श्रीमती सुशीला खबर सुनेर ढलिन् ।

हरिशरण बिरामी थिएनन्, अचानक उनको मृत्युको खबर आयो । तर, मृत्युको कारण के हो ? अहिलेसम्म खुलेको छैन । उनको श’व कहिले आउने हो, त्यो त अनुमान गर्न पनि गाह्रो छ । ‘सुरुमा मृ’त्युको खबरले परिवारलाई विचलित बनायो, अहिले श’व अड्कियो भनेर पीडा छ, जुन दिन श’व आउँछ त्यो दिन फेरि परिवारको हालत के हुने हो भन्ने सम्झेर अहिले नै छाती फुलेर आउँछ,’ अश्विन भन्छन्, ‘एउटै घटनाले हामीलाई पटकपटक वि’क्षिप्त बनाउने भयो ।’

विपतको यस्तो बज्रपात उनलाई पहिलोपटक परेको होइन । आर्थिक रूपमा विपन्न भए पनि एक छोरा र एक छोरीलाई असल शिक्षा दिने प्रयासमा थिए सुशीला र हरिशरण । तर, चार वर्षअघि भूकम्पले घर भत्कायो । भित्रै पुरिएर ६ वर्षीय छोराको ज्या’न गयो । बालक छोराको वियोगमा छटपटाएका दम्पतीले अब छोरीलाई पढाउने र बढाउनेमा ध्यान केन्द्रित गर्ने निधो गरे ।

पुरिएको छोरालाई उठाउन सकेनन्, तर ढलेको घर उनीहरूले फेरि ठड्याए । तर, ठूलो ऋण लाग्यो । घर बनाउँदाको ऋण र परिवारको गर्जो टार्न वर्ष दिनअघि मात्रै हरिशरण अबुधाबी गएका थिए । तर, विदेश जाँदा लागेकोसमेत ऋण तिरिनसक्दै उनको मृ’त्यु भयो । पुत्रवि’योग भुल्न नसकेकी सुशीलालाई पतिवि’योग थपिएको छ ।

सुशीला र उनकी १३ वर्षीया छोरी सन्ध्यालाई लिएर अश्विन लकडाउनको अघिल्लो दिन नै गाउँ पुगेका हुन् । घर आएकी बुहारीको वि’क्षिप्त अवस्था देखेर ७६ वर्षीया लक्ष्मी अवाक भइन् । बुहारीको अवस्था किन यस्तो भयो भनेर सोध्न थालिन् । ‘वास्तविकता बताउन हामीलाई हिम्मत भएन । काकीको अवस्था त्यस्तो थियो, त्यसमाथि हजुरआमाको हालत के होला भनेर हामी डरायौँ,’ अश्विन भन्छन् ।

अहिले वृद्धा आमालाई वास्तविकता लुकाउन गाउँलेबीच सल्लाह भयो । कमाउन गएको छोरा एक महिनाअघि नै चिरनिद्रामा गइसके, उनी बाकसमा बन्द छन् भन्ने आमा लक्ष्मीलाई छनकसम्म पनि छैन । काकाको मृत्यु भएकै दिनबाट परिवारका सबै सदस्यले एक छाक नुन खान छाडेका छन् । तर, शंका होला भनेर वृद्धा हजुरआमाको खानामा तरकारी टुटेको छैन । अझ उनलाई नुन हालेको कालो चिया त पेटभरि खान मन पर्छ ।

सबेरै उठ्नासाथ उनी अँगेनोमा दाउरा जोरेर कालो चिया बनाउँछिन् । ‘अँगेनोको छेउमा बसेर चिया खाएपछि हजुरआमा आँगनमा निस्कनुहुन्छ । कहिले पँधेरोबाट पानी ओसार्नुहुन्छ, कहिले गोठ सफा गर्नुुहुन्छ,’ अश्विनले हजुरआमाको दैनिकी बयान गरे । हामी उनको घरमा पुग्दा हजुरआमा मकै खोस्लाइरहेकी थिइन् ।

लक्ष्मी आफ्नै धुनमा हराउँछिन् । तर, जब उनले बुहारीको फुंग उडेको अनुहार देख्छिन्, बेचैन भएर नातिलाई सोध्छिन् । तर, काकीलाई सन्चो छैन, डाक्टरलाई देखाएर ल्याएको भन्दै अश्विनले हजुरआमालाई फुल्याउँछन् ।

बुहारी यता बिरामी छिन्, उता छोरालाई पत्तो छैन भन्ने लागेर वृद्धा पिरोलिन्छिन् । नातिको खल्तीबाट आफँै फोन निकालेर फोन गर्न भन्छिन् । तर, नातिको हात हिउँजस्तै चिसो हुन्छ जब ती विवश वृद्धाले विदेशमा रहेको छोरासँग फेसबुकको भिडियो कलमा कुरा गर्न खोज्छिन् । ‘फेसबुकमा भिडयो कल गर, म आफैँ भन्छु भनेर जिद्दी गर्नुहुन्छ,’ अश्विन भन्छन्, ‘कहिले मोबाइलमा ब्लालेन्स सकियो भन्छु, कहिले काका ड्युटीमा हुनुहुन्छ भनेर टार्छु ।’ बुहारी यत्रो बिरामी हुँदा एक कल फोन पनि गरेन भनेर वृद्धा आफ्नै छोरासँग पनि गुनासो गर्छिन् ।

उनले गुनासो अरू कोसँग गर्ने ? उनका तीन छोरा थिए, दुईजनाको यसअघि नै मृ’त्यु भइसकेको थियो । ‘मेरो बुबा र एकजना काका पहिल्यै बि’त्नुभयो, हजुरआमालाई सान्त्वना दिने मात्र होइन, हाम्रो परिवार सम्हाल्ने काका मात्र हुनुहुथ्यो,’ अश्विन भन्छन्, ‘अब काका पनि बित्नुभयो भन्ने सुनेको क्षण त हजुरआमाको लागि धर्ती नै फाट्छ ।’

युवा नातिले जे अनुमान गरिरहेका छन्, वृद्धा हजुरआमाले छनक पनि पाएकी छैनन् । बारीको छेउमा काम गरिरहेकी उनको ध्यान भंग हुन्छ भनेर हामी नजिक पनि गएनौँ । नातिको अनुमतिमा टाढैबाट क्यामेराको लेन्स सोझ्यायौँ । फोटो खिचेर हामी बिदा भइहाल्यौँ ।

केही तल एक घरमा गाउँले जम्मा भएका थिए । उनीहरूले कोरोनाले कुन देशमा कति बिरामी भए, कतिको मृ’त्यु भयो भनेर अपडेटमाथि गफ गरिरहेका थिए । हामी पनि अलग्गै उभिएर छलफलमा सहभागी थियौँ ।

त्यहीबीचमा लौरो टेक्दै ती हजुरआमा त्यहीँ आइपुगिन् । उनले अपरिचित हाम्रो अनुहार नियालिन् । भेला भएका छिमेकीतर्फ हेरिन् । फेरि फिस्स हाँस्दै ‘घरको फुटो लिनुभयो त ? ऋण तिरेर सकिएको छैन, राहत पाइन्छ कि ?’ उनले हामीलाई भूकम्पपछि बनेका घर अनुगमन गर्न आएका सरकारी अधिकारी सम्झिछिन् । हामीले हो अथवा होइन भनेर निधो दिन सकेनौँ ।  ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका 

खर्च कटौती गरिने

Previous articleमेरो घरमा जरायोको सुकुटी खान आउनुस् स्वागत छ’ भन्दै स्टाटस हाल्ने व्यक्ति पक्राउ
Next articleयी २० कारण हामी नेपालीलाई कोरोनाले मा’र्न सक्दैन: डा. रवीन्द्र पाण्डे
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।