दुधे बालक घरमा छोडेर कोरोना संक्रमितको उपचार गरेर फर्किएकी नर्सको अनुभव

४ जेठ, विराटनगर । विश्वभर फैलिएको कोरोनाको त्रास व्यापक छ । संक्रमणको त्रासका कारण धेरै स्वास्थ्यकर्मी कोरोना संक्रमितको उपचारमा खटिन मानेका छैनन् । तर, झापाको भद्रपुर नगरपालिका– ५ की प्रमिला ढकाल (परी) ले उपचारमा खटिन आनाकानी गरिनन् । पेसाले नर्स उनी २९ महिनाको दुधे छोरा छाडेर कोरोना संक्रमितको उपचारमा खटिन् । स्कूल हेल्थ नर्सिङमा कार्यरत उनको दर्बन्धी विर्तामोडको दुर्गा माविमा थियो ।

तर, लकडाउनका कारण घरमा २९ महिनाको छोरा र ६ वर्षिय छोरीसँग दिन बित्दै थियो । उनका श्रीमान व्यापार व्यवसाय गर्छन् । सासूआमा अवकाशप्राप्त शिक्षिका हुन् । संक्रमितको उपचारमा खटिन आग्रह आएपछि उनी कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा खटिइन् । एकसाता संक्रमितको उपचार र १४ दिनको क्वारेन्टाइन बसाइपछि उनी घर फर्किइन् ।

दूधे छोरा छाड्दा रुवाबासी, घर पुग्दा पनि रुवाबासी

१० बैशाखमा संक्रमितको उपचारका लागि लिन भन्दै सामाजिक विकास मन्त्रालयले गाडी पठाएको थियो । अढाई वर्षीय छोरा र ६ वर्षीया छोरी छोडेर आउनुपर्दा घरमा रुवाबासी चल्यो । सासूआमा, श्रीमान, छोराछोरी सबै रोए । प्रमिलाका आँखा पनि थामिएनन् । फर्कन पाउदिनँ कि भन्ने चिन्ताले उनी आधाबाटोसम्म रोइन् । विराटनगर आएको २३ दिनपछि उनी शुक्रबार उनी घर फर्किइन् । घर फर्कंदा पनि रुवाबासी चल्यो । योपटकको रुवाबासी भने खुसीको थियो ।

बुहारी फर्किएको खुसीयालीमा सासू पार्बती ओझा स्वागत गर्न बसेकी थिइन् । गाडीबाट ओर्लिने बित्तिकै बुहारीलाई अंगालो हालिन् । अबिर र फूलमालाले स्वागत गरिन् । स्वागतमा सगुन (दही) खुवाइन् । स्वागत गरिरहँदा सासूबुहारी नै भक्कानिए । अंगालो हालेर एकछिन सँगै रोए । २३ दिनपछि आमा देख्दा वालक छोराले प्रमिलालाई अंगालो हाल्यो । दूधे बालकको व्यवहारका कारण स्वागतका लागि भेला भएकाहरुको पनि आशु थामिएन ।

‘डर धेरै थियो, म त फर्कन पाउँछु की पाउँदिनँ भनेर जाँदा रुवाबासी चल्यो’ प्रमिलाले भनिन् ‘ अस्पतालबाट फर्कंदा युद्ध जितेर आएजस्तै भयो ।’ लकडाउनका कारण घरमै बसिरहेको बेला सामाजिक विकास मन्त्रालयले संक्रमितको उपचारमा आउन आग्रह गर्दा उनी एकै बचनमा राजी भइन् । ‘विरामीको सेवा गर्नु हाम्रो कर्तब्य हो । यो बेला राज्यलाई हाम्रो आवश्यकता छ ।’ उनले भनिन् ‘ छोराको माया लाग्यो, तर आफ्नो कर्तब्य ठूलो सम्झिएँ ।’ उनी अस्पतालमा काम सकिने बितिकै परिवारमा सम्पर्क गर्थिन् । तर, छोराले भिडियो कल गर्दा आमासँग बोल्न मान्दैन थिए ।

संक्रमितलाई देख्दा साहस

उनले १२ बैशाखबाट कोभिड १९ उपचार केन्द्रमा काम सुरु गरिन् । तर, त्रास भने धेरै थियो । डराएका व्यक्तिलाई डाक्टरले डर भगाउन भन्दै प्रमिलालाई संक्रमितको वार्डमा पठाए । स्टाफ रुमबाट वार्डसम्म आउँदा उनका हातखुट्टा काँपे, मुटुको चाल बढ्यो । तर, वार्डभित्र बसेका वृद्धलाई देख्दा उनमा काम गर्ने सहास पलायो । वार्डमा दमकका ६२ वर्षीय बृद्ध एक्लै थिए । भर्खरै आएका उनी त्रसित थिए । डरले उनका हातकुट्टा काँपिरहेका थिए ।

संक्रमण पुष्टि भएपछि विराटनगर ल्याइएका बृद्ध बोल्न सक्ने अवस्थामा थिएनन् । ‘म जाँदा वृद्ध बुबालाई डरले काँपिरहेको देखें’ उनले भनिन् ‘ बुबाको डर देखेर मलाई सहास आयो, मन दह्रो बनाएर उहाँलाई सम्झाएँ, त्यसपछि बुबाका हात काँप्न कम भए ।’ वृद्धले सन्तोषको सास फेर्दा उनले दूधे बालकलाई बिर्सिइन् । आफू ठूलो काम गर्न आएको महसुस गरिन् । सन्तोषको शास फेरेर वार्डबाट फर्किइन् । त्यसपछि उनले आफूलाई कहिल्यै डराएको महसुस गरिनन् ।

लगातार सात दिन संक्रमितको सेवा गरिन् । १४ दिन क्वारेन्टाइन बसेर कोरोना जाँच गर्दा रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार घर फर्किइन् । ‘सुरुमा डर धेरै लाग्यो, उनी भन्छिन् ‘घर छोड्दै गर्दा यो नै अन्तिम भेट हो कि भन्ने डर थियो । यहाँ आएपछि काम गर्दा आनन्द मिल्यो ।’

देशलाई हाम्रो आवश्कता छ

कोरोना महामारीसँग विश्व समुदाय लडिरहेको छ । तर, प्रमिला फ्रन्टलाइनर भएर काम गर्दै घर फर्किइन् । फेरि काम गर्न बोलाए उनी आउन तयार छिन् । ‘यतिबेला देशलाई हाम्रो जरुरत छ । हामीले काम गर्नुपर्छ’ उनी भन्छिन् ‘ यस्तो बेला सेवा गर्न जो कोहीले चाहेर पनि पाउँदैनन्, हामीलाई काम गर्ने अवसर छ ।’ हरि अधिकारी/ अनलाईन खबर 

पोखरीमा डुबेर दुईजना बालकको मृत्यु

Previous articleश्रीमतीको लागि ब्लड लिन हिँडेका वृद्धलाई सेनाले सडकमै नांगै बनाए
Next articleआफ्नै पसलमा काम गर्ने संग लव परेपछि ब्वाईफ्रेण्ड संग मिलेर श्रीमतीले गरिन श्रीमानको ह’त्या, ८ वर्षीय बालकको विचल्ली
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।