खुसीको खबर: कोरोना विरुद्ध मानिसमा गरिएको पहिलो चरणको परीक्षण खोप सफल भएकाे दाबी

खुसीको खबर: कोरोना विरुद्ध मानिसमा गरिएको पहिलो चरणको परीक्षण खोप सफल भएकाे दाबी

एजेन्सी, ६ जेठ । अमेरिकामा कोरोना भाइरस (काेभिड-१९) विरुद्ध मानिसमा गरिएको पहिलो चरणको परीक्षण खोप सफल भएकाे दाबी गरिएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार नेसनल इन्स्टिच्युट अफ हेल्थको साझेदार बायोटेक कम्पनी ‘मोडेर्ना’ ले बनाएको एमआरएनए-१२७३ नामक खोपले अपेक्षा गरिएभन्दा बढी काम गरेको वैज्ञानिकले बताएका छन् ।

बिजनेस इनसाडरका अनुसार उक्त खोप लगाइएका मानिसमा कोरोना भाइरससँग लड्ने प्रतिरोधी क्षमता निको भइसकेका बिरामीको बराबर भएकाे पाइएको छ । खोपको सुरुवाती परीक्षण आशाजनक रहेकाे बताइएकाे छ  खोपको परीक्षणको परिणाम आठ जना स्वस्थ स्वयंसेवीहरुमा गरिएको परीक्षणमा आधारित भएको कम्पनीले जनाएको छ । यस क्रममा हरेक स्वयंसेवीलाई यो खोपको दुई/दुई मात्रा दिइएको थियो । कम्पनीले यो परीक्षण मार्च महिनाबाट सुरु गरेको थियो ।

परीक्षण नतिजा सार्वजनिक गर्दै मोडर्नाले भनेको छ, ‘८ स्वस्थ स्वयंसेवीमा गरिएको परीक्षणबाट यो खोप सुरक्षित देखिनाका साथै रोग प्रतिरोधक क्षमता बढाउन सफल भएको छ।’ खोपको मात्रा दिइएकाको शरीरमा एन्टिबडी बनेको कम्पनीले जनाएको छ । त्यो एन्टिबडीलाई प्रयोगशालामा परीक्षण गर्दा त्यसले भाइरसको प्रतिरुप बन्नबाट रोक्न सक्षम देखिएको थियो । त्यसपछि कोरोना भाइरसको सङ्क्रमणबाट निको भएकाको एन्टिबडीसँग यो एन्टिबडी मिलाइएको थियो ।

मोडेर्नाका प्रमुख कार्यकारी अधिकृत स्टिफन बैसेलले तत्काल अब योभन्दा उत्तम नतिजाको आशा गर्न नसकिने दाबी गरेका छन् । तर यो खोप थप परीक्षणपछि मात्र बजारमा आउन सक्ने कम्पनीका प्रमुख मेडिकल अफिसर डा. ताल ज्याक्सले बताएका छन् । मोडर्ना कम्पनीले आफ्नो खोप परीक्षणको दोस्रो चरणमा ६ सय जनालाई सहभागी गराउने जनाएको छ, जुन प्रक्रिया चाँडै नै सुरु हुने जनाइएको छ । त्यसपछि खोप परीक्षणको तेस्रो चरण जुलाईमा सुरु हुने छ, जसमा हजारौँ जनालाई समावेश गराइनेछ ।

अमेरिकामा औषधिलाई अनुमति दिने संस्था फुड एण्ड ड्रग एडमिनिस्ट्रेशन एफडीएले मोडर्ना कम्पनीलाई खोप परीक्षणको दोस्रो चरण अघि बढाउन अनुमति दिएको छ । आगामी परीक्षण पनि सफल भए सन् २०२१ को जनवरीसम्ममा खोप सर्वसाधारणका लागि उपलब्ध हुने अधिकृत स्टिफन बैसेलले जानकरी दिएका छन् ।

नयाँ बसपार्क बाहिर ‘अर्को बसपार्क’

Previous articleमहिनावारी हुँदा सहन नसक्ने गरि तल्लो पेट ‘दु’ख्छ? यस्तो छ स’मस्याको घरेलु उपाय
Next articleभरतपुर अस्पतालको आईसीयुमा उपचाररत एक बिरामीको मृत्‍यु, स्वाब परीक्षणको लागि पठाइयो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।