हिमालय एअरलाइन्सले सात दिनमा १६ उडानमार्फत नेपालीलाई स्वदेश फर्काउने, उडान तालिका सहित
काठमाण्डाै – हिमालय एअरलाइन्सले बुधबारदेखि तेस्रो चरणको उद्धार उडान सुरु गर्ने भएको छ । जसअनुसार आबुधाबीबाट बुधबार दुई वटा र साउन ३ गते एउटा उडानमार्फत समस्यामा परेका नेपाली स्वदेश फर्काइने हिमालय एअरलाइन्सले जनाएको छ । यसको भाडा ३६५ डलर तोकिएकाे छ । यस्तै जुलाई १६ र २० तारिखमा साउदीको रियादबाट उडान हुनेछन् । रियादको भाडा ४६५ डलर रहेको छ । यस्तै जुलाई १६ तारिखमै दमामबाट दुई र जुलाई २० मा दमामबाटै एउटा उडान हुनेछ ।

जुलाई १८ तारिखमा बहराइनबाट उद्धार उडान हुनेछ । बहराइनको भाडा ३९२ डलर तोकिएको छ । यस्तै कतारमा जुलाई १७, १८ र र २० तारिखमा उडान हुने र भाडादर ३९२ डलर तोकिएको छ । यस्तै मलेसियाको क्वालालम्पुरबाट जुलाई १९ तारिखमा २ र २१ तारिखमा दुई वटा उडान हुने र भाडा ३७२ डलर तोकिएको हिमालय एअरलान्सले जनाएको छ ।

यूएईबाट फर्किन चाहने झन्डै ४५ हजार, अहिलेसम्म फर्किए झन्डै ६ हजार
संयुक्त अरब एमिरेट्स यूएईबाट नेपाल फर्किन चाहनेको सङ्ख्या ४५ हजार पुगेको छ । कोरोनाको कारण जागिर गुमाएका, रोजगारदाता भागेपछि अलपत्र परेका, अध्ययन तथा घुम्न आएका गरी झण्डै ४५ हजार जनाले स्वदेश फर्कनका लागि आफ्नो नाम दूतावासमा दर्ता गराएका छन् ।

दूतावासले पछिल्लो पटक आइतबार तेस्रो चरणमा ३८ हजार ९ सय ९१ जनाको नामावली सार्वजनिक गरेको छ । यसअघि पनि दूतावासले दुई चरणमा नामावली सार्वजनिक गरेको थियो । दूतावासले ४ सय १० जनालाई पहिलो प्राथममिकतामा राखेर १७ हजार ३ सय ७५ जनाको नामावली यसअघि नै सार्वजनिक गरेको थियो ।

आबुधावीमा रहेको नेपाली दूतावासले आइतबार सूचना निकालेर अहिलेसम्म ५ हजार ८ सय ५९ जना नेपाल फर्किएको जनाएको छ । दुई चरणमा गरेर ३५ वटा उडान भएका छन् । दुई चरणमा गरी भएका ३५ उडानमार्फत प्राथमिकतामा परेका नेपाली स्वदेश फर्किएका छन् ।

गएको अप्रिल २८ देखि नेपाल फर्किन चाहनेका लागि दूतावासले अनलाइन फारम भरेर आफ्नो विवरण उपलब्ध गराउन सकिने व्यवस्था गरेको थियो । तर पछिल्लो समय यूएईको अवस्था सुधार हुँदै गएको र नेपालमा कोरोनाको सङ्क्रमण बढेकाले यसअघि फर्किन चाहनेले पनि अहिले नफर्किने निर्णय गर्न थालेको दूतावासले जनाएको छ ।


