जेनजी आन्दोलनमा ध्वस्त भएको पिठुवा अस्थाई प्रहरी चौकी पुनर्निर्माण गरियो

रत्ननगर, चितवन । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते आगजनी र तोडफोडबाट पूर्ण रूपमा ध्वस्त भएको रत्ननगर–१६ पिठुवास्थित अस्थायी प्रहरी चौकी स्थानीयको सहयोगमा पुनर्निर्माण गरिएको छ।

स्थानीय गोपाल श्रीमलको संयोजकत्वमा गठन गरिएको पुनर्निर्माण समितिले विभिन्न संघ–संस्था, व्यवसायिक फर्म, व्यवसायी तथा देश–विदेशमा रहेका पिठुवाबासीबाट सहयोग संकलन गरी चौकीलाई पुनः निर्माण गरेको हो। कुल ८ लाख २१ हजार रुपैयाँ लागतमा पुनर्निर्माण सम्पन्न भएकोमा ४ लाख ६५ हजार स्थानीयबाट संकलन गरिएको छ भने ३ लाख ५६ हजार रुपैयाँ दायित्व बाँकी रहेको निर्माण समिति सदस्य पुर्षोत्तम लामिछानेले जानकारी दिए।

नव–निर्मित भवनको मेयर प्रलाद सापकोटाले बुधबार एक कार्यक्रमका विच रिबन काटेर उद्घाटन गरे। कार्यक्रममा बोल्दै मेयर सापकोटाले “सरकारले गर्नुपर्ने काम पिठुवाबासीले आफ्नै काँधमा बोकेर पूरा गर्नु गर्वको विषय हो,” भन्दै बाँकी रहेको रकम तिर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

त्यसैगरी, कार्यक्रमका अतिथि रत्ननगर–१५ का वडाध्यक्ष आसिक तामाङले चौकी र वडा कार्यालय जलाउनेहरू अझै खुला रुपमा हिँडिरहनु चिन्ताजनक भएको बताए। “आफ्नै संरचना आफैँ जलाउने र दोष विदेशी शक्तिलाई थोपर्ने संस्कार राम्रो होइन,” तामाङले भने, “जनताले तिरेको करबाट फेरि संरचना बनाउनुपर्ने अवस्था आउँदा घाटा जनतालाई नै पर्छ। यस्तो घटनाबाट सबैले सचेत हुनुपर्छ।”

विशेष अतिथि जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी रविन्द्र खनालले घटना सुक्ष्म रूपमा अनुसन्धान भइरहेको र झन्डै ५० जनालाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याइसकिएको जानकारी दिए।

पिठुवा सिकाई केन्द्रका अध्यक्ष नेत्रप्रसाद घिमिरेले जेनजी नाममा गरिएको विध्वंसका जिम्मेवारहरू अझै पूर्ण रूपमा कारबाहीमा नआएकोप्रति चिन्ता व्यक्त गरे।

कार्यक्रमका सभापति तथा वडाध्यक्ष हेमराज थापाले पिठुवाको शान्ति–सुरक्षाको आधार मानिएको प्रहरी चौकी जलाउनेहरूको भलो नहुने उल्लेख गर्दै पुनर्निर्माणमा साथ दिने सबैलाई धन्यवाद व्यक्त गरे।

कार्यक्रममा वडा नं. १४ का वडाध्यक्ष होमनाथ रानाभाट, वडा सदस्य धिरेन्द्र घिमिरे, वडा सदस्य ज्ञानेन्द्र रेग्मी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघ–संस्था, सहयोगदाताहरू तथा स्थानीयबासीको बाक्लो उपस्थिति थियो। चौकी पुनर्निर्माणमा योगदान गर्ने सहयोगी दाताहरूलाई कार्यक्रममा सम्मान समेत गरिएको थियो।

कार्यक्रममा वडासदस्य चिजकुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने संचालन पुर्षोत्तम लामिछानेले गरेका थिए।

भवन निर्माणमा सहयोग गर्नेहरुको नामावली

Previous articleWithdraw Your Earnings Quickly With Magic Reels Casino Banking Options
Next articleTrino Casino App Features for Android and iOS Explained
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।