रत्ननगर, साउन ३० — माधवपुर मठ मन्दिर तथा धार्मिक संघसंस्था समन्वय समिति, रत्ननगर–१५ चितवनको प्रथम साधारण सभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ। अधिवेशनले पुरुषोत्तम कट्टेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ।
समितिको नयाँ कार्यसमितिको उपाध्यक्षमा ठाकुर खराल, सचिवमा मदन भुजेल सहसचिवमा कमला रेग्मी र कोषाध्यक्षमा राधिका भट्टराई निर्वाचित भएका छन्।
कार्यक्रमका प्रमुख अतिथि रत्ननगर–१५ का वडाध्यक्ष आशीक तामाङ रहेका थिए। कार्यक्रममा रत्ननगर–१६ का वडाध्यक्ष हेमराज थापालगायत धार्मिक तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
साधारण सभामा समितिको आर्थिक तथा प्रगति प्रतिवेदनसँगै आगामी नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो। सचिव पुरुषोत्तम कट्टेलले संस्थाको आयव्यय, प्रगति विवरण तथा आगामी कार्ययोजनासम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए।
समितिले आफ्नो स्थापना कालदेखि नै माधवपुर क्षेत्रका मठमन्दिर तथा धार्मिक संघसंस्थाबीच समन्वय गर्दै धार्मिक तथा सांस्कृतिक गतिविधिलाई अघि बढाउँदै आएको जनाएको छ।
समितिले गत वर्ष पहिलो ऐतिहासिक माधवपुर भजन तथा शङ्खवादन प्रतियोगितासमेत सम्पन्न गरेको थियो।



