स्पेनका राजा फेलिपेको नेपाल भ्रमण गर्ने इच्छा

स्पेन । स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पाले स्पेनका राजा फेलिपे छैठौंसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी छन्।

शुक्रबार म्याड्रिडस्थित राजदरबारमा आयोजित एक विशेष समारोहमा उनले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी हुन् । त्यसपछि उनले राजा फेलिपेसँग नेपाल तथा स्पेनबीच द्विपक्षीय सम्बन्धका बारेमा छोटो वार्ता पनि गरेकी थिइन् ।

स्पेनका नरेशले राजदूत शेर्पालाई बधाई दिनुका साथै नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीप्रति शुभकामना व्यक्त गरेका थिए । उनले नेपालको अनौपचारिक भ्रमणको सम्झना गर्दै फेरि कुनै दिन नेपाल जाने आफ्नो इच्छा रहेको बताए । उनले राजदूत शेर्पाको सफल कार्यकालको कामना गर्दै वितेका वर्षहरुमा नेपाल तथा स्पेनबीच सम्बन्ध विस्तार हुँदै गएकोमा खुसी पनि व्यक्त गरे ।

स्पेनका राजाले एप्रिल २०१५ को विध्वंशकारी भूकम्पपछि नेपालमा भई रहेको पुनर्निर्माणका कामहरूको प्रगति तथा जलवायु परिवर्तनका असरहरूबारे पनि जिज्ञासा राखेका थिए ।

सो अवसरमा राजदूत शेर्पाले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश सुनाएकी थिइन् ।

राजदूत शेर्पालले सुन्दर मुलुक स्पेनमा न्यानो स्वागत गरेकोमा धन्यवाद पनि दिइन् ।

राजदूत शेर्पाले राजा फेलिपेलाई नेपालको स्थिर राजनीतिक परिस्थिति तथा “समृद्ध नेपाल, सुखी नेपाली” को दीर्घकालिन लक्ष्य पूरा गर्न सरकारले थालेका प्रयासबारे पनि जानकारी गराएकी थिइन् ।

उनले स्पेनका राजालाई नेपाल सरकारले जलवायु परिवर्तनका बारेमा आउँदो २–४ एप्रिल २०२० मा काठमाडौँमा आयोजना गर्न लागेको सगरमाथा संवाद तथा नेपाल भ्रमण वर्ष २०२० बारे पनि जानकारी गराएकी थिइन् ।

सो समारोहमा स्पेनको विदेश मन्त्रालयका चिफ अफ प्रोटोकल तथा महासचिव, राजदरबारका चिफ प्रोटोकल अफिसर, नेपाली दूतावासका कर्मचारीहरु तथा स्पेनी सञ्चार माध्यमका प्रतिनिधिहरु पनि उपस्थित थिए ।

प्राणघातक रोग रुबेला खोप अभियान शुभारम्भ

Previous articleआज माघ १२ गते आइतबारको राशिफल यसप्रकार छ,
Next articleयुएईले मुस्कान छर्ने नेपालीहरुको कथा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।