कोरोनाको जोखिम ह्वात्तै बढ्यो; अन्तर्राष्ट्रिय र आन्तरिक उडान रोक्न सीसीएमसीको सिफारिस
काठमाडौँ — कोभिड- १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले मुलुकमा कोरोना भाइरसको जोखिम बढ्दै गएको निष्कर्ष निकालेको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले कोभिड- १९ रोकथामका लागि यसअघि गरेका निर्णयको प्रभावकारी कार्यान्वयन तथा स्वास्थ्य व्यवस्था थप बलियो बनाउनुपर्ने निर्णय सीसीएमसीले लिएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वको सीसीएमसीको शुक्रबार सिंहदरबारमा बसेको बैठकले कोरोनाको दोस्रो लहरले जोखिम बढाउँदै गएको निष्कर्ष निकालेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए ।

‘कोभिड- १९ को संक्रमणको विषयमा गम्भीरतापूर्वक छलफल गर्यौं । जोखिम एकदम बढ्दै गएको निष्कर्ष निकाल्दै यसअघि गरेका निर्णयको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छौं ।’ सीसीएमसीको बैठकले कोरोना संक्रमणको चेन ब्रेक गर्नका लागि र यसलाई थप फैलिनबाट रोक्नका लागि थप कदम चाल्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको मन्त्री ज्ञवालीले जानकारी दिए । ‘सीसीएमसीको बैठकले अन्तर्राष्ट्रिय र आन्तरिक उडान रोक्ने र कटौती गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ,’ मन्त्री ज्ञवालीले भने, ‘खासगरी अन्तर्राष्ट्रिय उडान, जोखिम भएका मुलुकहरूबाट अहिलेलाई उडान रोक्ने र आन्तरिक उडानहरूलाई पनि कटौती गर्ने र रोक्ने सिफारिस भएको छ ।’
सीसीएमसीले गरेका सिफारिस मन्त्रिपरिषद्को आगामी बैठकले पारित गर्ने र त्यसपछि कार्यान्वयनमा जाने बताइएको छ । भारतमा पछिल्लो समय कोरोनाको नयाँ भेरियन्टको संक्रमणले त्राहीमाम पारेको छ । यस्तो अवस्थामा पनि भारतबाट नेपाल आउने उडान रोकिएको छैन । जसलाई लिएर सरकारको आलोचना हुँदै गरेको थियो । कोरोनाको नयाँ भेरियन्टको संक्रमण रोक्नका लागि भारतसँगको आवतजावतमा रोक लगाउनुपर्ने सुझाव विज्ञहरूले दिँदै आएका थिए । यस्तो अवस्थामा सीसीएमसीको शुक्रबारको बैठकले ‘उच्च जोखिम भएका स्रोत मुलुकबाट उडान र आगमन रोक्ने’ निर्णय गरेको हो ।
त्यस्तै, भारतसँगका सीमा नाकाबाट हुने आवतजावत सीमित गर्ने निर्णय लिन पनि सीसीएमसीले मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ । हाल ३५ नाकाबाट आवतजावत भइरहेकोमा त्यसलाई सीमित गरेर १३ नाकाबाट मात्रै आवतजावतको अनुमति दिने निर्णय भएको मन्त्री ज्ञवालीले जानकारी दिए । हाल सञ्चालनमा रहेका २२ वटा नाका बन्द गर्नका लागि मन्त्रिपरिषद्मा सिफारिस गरिएको हो । भारतसँग खुला गरिने भनिएका काँकडभिट्टा, जोगवनी, पशुपतिनगर, बिर्तामोड, गौर, वीरगन्ज, बेलहिया, कृष्णनगर, जमुनाह, झुलाघाट, कोलुघाट, गौरीफन्टा र गड्डाचौकीमा क्वारेन्टाइनसहित खुला राख्नका लागि सिफारिस गरिएको हो ।
यसअघि सरकारले ७२ घण्टाभित्र पीसीआर गरेको र कोरोना नेगेटिभ भएको रिपोर्ट भएकालाई मात्रै नेपाल प्रवेश दिने निर्णय गरेको थियो । १० दिन होटल क्वारेन्टाइनमा बस्ने सुनिश्चितता भएको र स्थानीय प्रशासनले आउन आवश्यक हो भन्ने कुरा निर्क्योल गरेपछि मात्रै भारतबाट नेपाल आउन दिने भन्ने सरकारले निर्णय गरेको थियो । भारतमा कोरोना संक्रमण बढेसँगै त्यहाँ विभिन्न कामका लागि गएका नेपाली ठूलो संख्यामा स्वदेश फर्किइरहेका छन् ।
https://ujyaalonepalnews.com/archives/14152


