कमाउन देश विदेश चाहारें; अहिले पेट पाल्नकै लागी विदेश कै एक मन्दिरमा पुजारी काम गर्दैछु
सोमनाथ लुइँटेल,पाल्पा/हाल,युगान्डा । जीवनमा देखेको होइन लेखेको पाइन्छ । यो भनाइ भनाइ मात्र होइन । मेरो जीवनमा त लागू नै भएको छ । देखेको हुन्थ्यो भने आज पनि म नेपालमा एउटा व्यवसायी भएर बसिरहेको हुन्थ्यें । तर लेखेको भयो र त विभिन्न दुःख सुख भोग्दै यहाँ युगान्डामा छु । आफ्नै देशमा म व्यवसाय गर्दै थिएँ । तर टाट पल्टिएँ । त्यसपछि कामको खोजीमा भारत गएँ । भारतमा पनि सजिलो कहाँ भयो र । आफूले चाहेजस्तो काम नपाइने, पाएको काम गर्दा मन नमान्ने । विभिन्न दुःखहरू सहन पर्यो त्यहाँ ।
जस्तो भए पनि जे भए पनि काम गर्नै पर्यो । मैले हिम्मत हारिँन । काम नपाएर यत्रतत्र भौंतारिरहेका बेला मेरो मामाको छोराले भन्यो, ‘बिन्द्रा बन जाऊँ दाइ ।’ जे होला भनेर भाइकै पछि लागेर बिन्द्रा बन पुगेँ । तर त्यहाँ पनि सजिलो रहेनछ । बडो मेहनतका साथ मैले पूजापाठको काम सिकेँ । अनि बिस्तारै ज्योतिष विद्या पनि सिक्न लागेँ । दिनहरू त्यही बित्दै थिए । फेरि एक दिन भाइले दाइ विदेश जाने हो भनेर सोध्यो ।
मलाई पनि जीवनमा केही गर्नु थियो । मैले नाइँ भन्ने कुरै भएन । सोच्दै नसोची हुन्छ भनिदिए । नेपाल फर्किएँ । काठमाण्डौमा गएर पासपोर्ट बनाएँ । र घर फर्किएँ । १२ दिन पछि नेपालगन्जको एउटा नाकाबाट ट्याक्सी रिजर्भ गरेर लखनउसम्म आएँ । त्यहाँबाट दुई दिनको रेलको यात्रा पनि मुम्बई पुग्यौँ । २०२० फेब्रुअरी २३ तारेखको दिन अफ्रिकी देश युगान्डाका लागि हाम्रो यात्रा तय भएको थियो । मुम्बई बाट भोलिपल्ट ९ घण्टाको यात्रा तय गरेर म अफ्रिकी देश युगान्डा आइपुगेँ ।
यहाँ आएपछि जस्तो सोचेको थिएँ त्यस्तो भएन । आएको महिना दिन नपुग्दै कोरोनाको महामारीले विश्व चपेटामा पर्यो । यहाँ पनि लकडाउन भयो । म पनि त्यही लकडाउनमा फसेँ । अब जानु कहाँ, गर्नु के ? मसँग अरु उपाय थिएन । अनि एउटा मन्दिरमा आश्रय लिएँ । १४ महिनासम्म त्यसरी नै बिताउन पर्यो । कमाएर जमाउने सपना बोकेर आएको मानिस एउटा मन्दिरमा आश्रम लिनुपर्दा के हाल हुन्छ । साह्रै कष्टकर दिनहरू बिताउन पर्यो । एउटा होटलमा कामको कुरा भयो । तर कोरोनाकै कारणले त्यहाँ पनि कुरा मात्र भयो काम भएन ।
कम्पाला युगान्डाको राजधानी हो । त्यहाँ एक साथीले बोलाए । त्यहाँ पनि लगभग १० दिन रोटीसँग नुन मात्र खाएर बसेँ । के गर्नु जसरी पनि ज्यान जोगाउन थियो । कर्म यस्तै रहेछ भनेर चित्त बुझाएँ । मेरो भाइको एक जना साथी ज्योतिष श्री शगुण पंगेनीले मलाई फेरि कम्पालाबाट विश्वकर्मा मन्दिरमा खाली छ आउनुस् भन्नुभयो । अहिले म यही मन्दिरमा पूजा आरती गरेर दिन बिताउँदै छु । कोरोनाको डर उस्तै छ । नेपालमा त झन् अवस्था डरलाग्दो भएको छ । अबको दिन कसरी कट्छ भनेर हेर्न बाँकी नै छ । उज्यालो अनलाईन बाट
https://ujyaalonepalnews.com/archives/14348


