भारतीय नागरिक लिएर साउदी गएको नेपाल एयरलाइन्सले पाँच नेपालीको शव लिएर आयो

भारतीय नागरिक लिएर साउदी गएको नेपाल एयरलाइन्सले पाँच नेपालीको शव लिएर आयो

काठमाण्डौ – अन्तर्राष्ट्रिय उडान बन्द हुँदा साउदीमा अड्किएका पाँच नेपालीको शव नेपाल एयरलाइन्समार्फत स्वदेश ल्याइएको छ । वैदेशिक रोजगार बोर्डको पहलमा भारतीय नागरिक लिएर साउदी गएको नेपाल एयरलाइन्सको वाइड बडी जहाजले हिजो पाँच नेपालीको शव ल्याएको बोर्डले जनाएको छ । नियमित उडान रोकिए पनि नेपालमा अलपत्र परेका भारतीय नागरिकलाई साउदी लैजान सरकारले अनुमति दिएपछि नेपाल एयरलाइन्सले चार्डड उडान गरेको हो ।

जाँदा भारतीय नागरिक लिएर गएको वाइड बडी जहाजले फर्कदा भने नेपालीको शव लिएर फर्किएको बोर्डले जनाएको छ । बोर्डका अनुसार साउदीमा अझै करिब १२ जना नेपालीको शव बाँकी रहेको छ । बाँकी शव पनि ल्याउनका लागि बोर्डले अनुरोध गरेको र दूतावासले सबै प्रक्रिया पूरा गरेर पठाउन सम्भव भएसम्म पठाउने बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो । अहिले निषेधाज्ञाको समयमा विमानस्थलसम्म आफन्तहरू शव लिन आउन नसक्ने भएकाले बोर्ड आफैँले शव बुझेर निःशुल्क रूपमा मृतकको घरसम्म पुर्‍याइरहेको छ ।

बोर्डले वैदेशिक रोजगारीमा ज्यान गुमाएका नेपालीको शव मृतकको घरसम्म पुर्‍याउन निःशुल्क ढुवानी सेवा उपलब्ध गराउँदै आएको छ । कोरोना बाहेक अन्य कारणले परदेशमा ज्यान गुमाउने नेपालीको शव जतिसक्दो चाँडो स्वदेश फिर्तीका लागि पहल गरिरहेको कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो ।

कोरोनाको कारण ज्यान गुमाउने नेपालीको शव भने गन्तव्य देशमै अन्त्येष्टिका लागि बोर्डले परिवारसँग अनुमति लिने र नियोगलाई पठाउने काम गरिरहेको छ । गन्तव्य देशमा शव अन्त्येष्टिका लागि अनुमति दिने परिवारलाई बोर्डले राहत स्वरूप ५० हजार रुपैयाँ प्रदान गर्दै आएको छ । उज्यालो अनलाईन बाट 

https://ujyaalonepalnews.com/archives/14396

Previous articleब्रम्हलुट हुने संकेत देखेपछी चार्टर उडानको अनुमति नदिन सरकारलाई आग्रह
Next articleटिकट काटेर नेपाल उड्न ठिक्क परेका कामदार अलपत्र पर्न थाले, तत्काल स्वदेश फर्काउन दबाब
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।