साउदी अरबमा अगस्ट १ देखि कोरोनाविरुद्धको खोप नलगाएकाहरु सपिंग मल जान नपाउने ट्याक्सी चढ्न नपाउने
काठमाडौँ — साउदी अरबमा आगामी अगस्ट १ देखि कोरोनाविरुद्धको खोप नलगाएकालाई सार्वजनिकस्थलमा प्रवेशमा रोक लगाइने भएको छ । साउदी अरबको नगरपालिका तथा ग्रामीण मामिला मन्त्रालयले सूचना जारी गर्दै आगामी अगस्ट १ देखि खोप नलगाएका व्यक्तिलाई सपिङ मल, बजार, रिटेल पसललगायतका क्षेत्रमा जान प्रतिबन्ध लगाइने जनाएको हो ।
त्यस्तै ब्युटी पार्लर, वैवाहिक समारोह तथा पार्टी हल, रेस्टुरेन्ट, पुरुष सैलुनमा जानका लागि खोप लगाएको प्रमाण देखाउनुपर्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘मन्त्रालयद्वारा जनस्वास्थ्यलाई सुरक्षित राख्ने प्रयासस्वरूप सहरी प्रतिष्ठानमा काम गर्ने कर्मचारी र त्यहाँ आउनेले खोप लगाउनुपर्छ ।’
कोरोना भाइरसको महामारीका कारण यस पटकको हज यात्रा पनि अलग देखिएको थियो । यस पटक केवल ६० हजारलाई मात्रा हजमा आउनका लागि अनुमति दिइएको थियो । त्यो पनि साउदी अरबका स्थानीय नागरिकलाई मात्र अनुमति दिइएको थियो । त्यसमा पनि कोरोना खोपको दुवै मात्रा लगाएको हुनुपथ्र्यो ।
त्यस्तै हजमा आउनेहरूको उमेरसमूह पनि १८ देखि ६५ वर्ष तोकिएको थियो । पछिल्लो समय साउदी अरबले कोरोना महामारी रोकथाम र नियन्त्रणमा निकै ध्यान केन्द्रित गरेको छ । समाचार संस्था रोयटर्सको तथ्यांकअनुसार साउदी अरबमा अहिलेसम्म करिब २ करोड ३१ लाख मात्र खोप लगाइएको छ । साउदी अरबमा हरेक दिन ३ लाख ५० हजार मात्रा भन्दा बढी कोरोना खोप लगाइएको छ ।
https://ujyaalonepalnews.com/archives/15187


