साउदीमा भेरोसेल खोपलाई मान्यता दिएको कुरा हल्ला मात्र, खास कुरा यस्तो छ
निराजन घिमिरे, ८ अगस्ट- साउदीमा भेरोसेल खोपलाई पनि मान्यता दिएको भनेर सामाजिक संजालमा चलेको हल्ला झुटो रहेको खुलेको छ । आईतबार केहि नेपाली अनलाईनहरुले साउदी सरकारले भेरोसेल खोपलाई पनि मान्यता दिएको भन्दै अब नेपालमा भेरोसेल खोप लगाएका व्यक्तिहरु साउदी जान सक्ने भन्दै समाचार प्रकाशित भएको थियो । धेरै अनलाईनहरुले त्यहि न्युज कपि गर्दै साउदीमा भेरोसेल खोपले मान्यता पाएको कुरा प्रकाशित गरेका थिए ।

रियादमा आईतबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै साउदी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा मोहम्मद अल-अब्दालीले साउदीले अझै सम्म फाइजर बायोन्टेक, अक्सफोर्ड एस्ट्राजेनेका, मोडेर्ना, र जॉनसन गरि जम्मा चार प्रकारका खोपलाई मात्र मान्यता दिएको जानकारी दिनुभयो । केहि साउदी अनलाईनहरुले गलत समाचार सम्प्रेषण गरेको भन्दै डा. अब्दालीले साउदीले चाईनिज भ्याक्सिन सिनोफार्म र सिनोभ्याक्सलाई मान्यता दिएको भन्ने कुराको खण्डन गर्नुभयो ।
सिनाेफर्म तथा सिनाेभ्याककाे दुवै डाेज लगाएकाहरुले फाइजर, अक्सफोर्ड एस्ट्राजेनेका, मोडर्ना, जोनसन एण्ड जोनसन मध्ये एककाे बुस्टर बुस्टर डोज लगाउनु पर्ने कुरालाई तोडमोड गरेर प्रकाशन गरिएको डा. अब्दालीले बताउनुभयो । त्यस्तै डा. अब्दालीले साउदीमा अहिले सम्म कोरोना भ्याक्सिन लगाएकै कारण एकजना व्यक्तिको पनि मृत्यु नभएको बताउनु भयो । साउदीका सर्वसाधारणलाई कोरोना भ्याक्सिन लगाएकै कारण मान्छेले ज्यान गुमाएको गलत हल्ला चलाईएको उँहाको भनाई छ ।
गतहप्ता साउदीको ई-भिषा पोर्टलमा सिनाेफर्म तथा सिनाेभ्याककाे दुवै डाेज लगाएकाहरुले फाइजर, अक्सफोर्ड एस्ट्राजेनेका, मोडर्ना, जोनसन एण्ड जोनसन मध्ये एककाे बुस्टर डोज लगाएको भए साउदी प्रवेशको अनुमति प्रदान गरिने बताईएको थियो । “सिनोफार्म वा सिनोभाक भ्याक्सिनको दुई डोज पूरा गर्ने र साउदीमा अनुमोदित चार खोपहरु मध्ये एकको बुस्टर डोज लगाएको व्यक्तिले प्रवेशको अनुमती पाउने ,” साउदी पर्यटन मन्त्रालयको ई-भिसा पोर्टलमा जारी सुचनामा भनिएको छ।
https://ujyaalonepalnews.com/archives/15384


