चितवनका दुई युवा पत्रकारलाई जोखिम पत्रकारिता पुरस्कार

प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनद्वारा आयोजित जोखिम पत्रकारिता पुरस्कारबाट चितवनलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका दुई युवा पत्रकार पुरस्कृत भएका छन्। चितवनका युवा पत्रकारद्वय कुल प्रसाद काफ्ले र हिरालाल आचार्य ‘डायमण्ड’ लाई जोखिम पत्रकारिता पुरस्कार २०७८ बाट सम्मान गरिएको हो। काफ्ले चितवन पोष्ट र थाहा खबर डट कममा आवद्ध छन् भने आचार्य नारायणी अनलाइन र सञ्चारपत्र पत्रिकामा आवद्ध छन्।

आज शनिबार भरतपुर स्थित जिल्ला समन्वयन समितिको सभाहलमा आयोजित जोखिम पत्रकारिता पुरस्कार वितरण तथा सम्मान कार्यक्रम– २०७८ बाट उनीहरुलाई पुरस्कृत गरिएको हो । चौतारीले उनीहरुलाई नगद १० हजार रुपैयाँले पुरस्कृत गर्दै खादा र प्रमाण पत्रबाट सम्मान गरिएको हो । प्राकृतिक प्रकोप बाढी र पहिरो, कोरोना माहामारी जस्ता समस्यासँग जोखिम मोलेर पत्रकारिता गरे बापत उनीहरुलाई सम्मान गरिएको प्रेस चौतारी जिल्ला शाखा चितवनका अध्यक्ष सुवास पण्डितले बताउनुभयो।

उहाँको अनुसार यसरी जोखिम क्षेत्रमा कार्य गर्दै आएका पत्रकारहरुको हौसला बढाउन पुरस्कारको स्थापना गरिएको हो। पुरस्कार छनौट समितिले गरेको सिफारिसका आधारमा प्रेस चौतारीले दुई पत्रकारलाई पुरस्कृत गरेको हो । समितिमा नेपाल पत्रकार महासंघ चितवन शाखा एवम् प्रेस चौतारी चितवनका पूर्व अध्यक्ष हरिप्रसाद पोखरेलको संयोजकत्वमा नेपाल पत्रकार महासंघ चितवन शाखाका सचिव दिपेन्द्र अधिकारी र प्रेस चौतारी बागमती प्रदेश सदस्य प्रतिमा सिलवाल रहनु भएको थियो।

चितवन जिल्ला अध्यक्ष तथा राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति पार्वती रावल, विशेष अतिथि एमाले बाग्मती प्रदेश कमिटी सदस्य जगन्नाथ थपलिया, प्रेस चौतारी नेपाल बागमती प्रदेश सह–संयोजक शिशिर सिंखडा, पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, प्रेस संगठन चितवनका अध्यक्ष प्रकाश ज्ञावाली लगायतको उपस्थितिमा कार्यक्रम सञ्चालन भएको थियो। उहाँहरुले कार्यक्रममा आफ्नो मन्तव्य राख्नुभएको थियो। प्रेस चौतारी नेपाल चितवनका सह–अध्यक्ष कृष्ण आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता प्रेस चौतारी जिल्ला शाखा चितवनका अध्यक्ष पण्डितले गर्नुभएको थियो।

https://ujyaalonepalnews.com/archives/15720

Previous articleमलेशियामा ज्यान गुमाएका ९ जनाको शव र १७ जनाको अस्तु नेपाल ल्याईयो
Next articleके कतारमा हुने नेपाली श्रमिकले कतार प्रहरीमा एप्लाई गर्न पाउँछन् ? यस्तो छ कुरा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।