रत्ननगर १५ माधवपुरमा स्वास्थ्य तथा सरसफाई सम्बन्धी तिन दिने जनचेतना कार्यक्रम सुरु

0
60

निराजन घिमिरे, असोज ९, चितवन । रत्ननगर नगरपालिका वडा नं.  १५ माधवपुरमा स्वास्थ्य तथा सरसफाई सम्बन्धी तिन दिने जनचेतना तथा  पाठेघरको मुखको क्यान्सर सम्वन्धी प्रशिक्षण तथा परिक्षण कार्यक्रम सुरु भएको छ । तिन दिन सम्म हुने कार्यकमको आज मंगलबार रत्ननगर नगरपालिकाका मेयर नारायण वनले उद्धघाटन गर्नु भएको छ । रत्ननगर १५ मा भर्खरै मात्र स्थापना गरिएको आधारभुत स्वास्थ्य केन्द्रको आयोजनामा कार्यक्रम सरु भएको हो । कार्यक्रमको पहिलो चरण अन्तर्गत आज मंगलबार सर्ने र नसर्ने रोगका विषयमा विभिन्न टोल प्रतिनिधिका विच सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा आधारभुत स्वास्थ्य केन्द्र १५ की प्रमुख रोजिना गिरिले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको दोश्रो चरण अन्तर्गत यहि कार्तिक  १० र ११ गते पाठेघरको मुखको क्यान्सर सम्वन्धी प्रशिक्षण तथा परिक्षण कार्यक्रम सम्पन्न हुने उद्घाटन समारोहका सभापती तथा कार्यक्रम संयोजक दिपक लामिछानेले जानकारी दिनुभयो । कार्यक्रममा मन्तव्य राख्दै नगर प्रमुख नारायण वनले मानिसको सबैभन्दा ठुलो धन स्वास्थ्य भएकोले स्वास्थ्यमा खेलबाड नगर्न आग्रह गर्नुभयो । स्वास्थ्यको क्षेत्रमा स्वास्थ्यकर्मी र स्थानीय सरकारको पहलले नपुग्ने बताउंदै नगर प्रमुख वनले स्थानीय जनता आफै सचेत हुन जरुरी रहेको औल्याउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि रत्ननगर १५ का वडाध्यक्ष हुमनाथ लामिछानेले आफ्नो मन्तव्य राख्दै आफुले वडाध्यक्ष बनेको दिन देखि नै स्वास्थ्य र शिक्षाको क्षेत्रमा विशेष ध्यान दिएर काम गरेको उल्लेख गर्नुभयो । वडावासीको सुविधाको लागी भर्खरै मात्र स्वास्थ्यकेन्द्र स्थापना गरेर संचालनमा ल्याएको बताउंदै लामिछानेले स्थानीय सरकारले दिएको सुविधाको भरपुर उपभोग गर्न आग्रह गर्नुभयो । शौचालयको प्रयोगमा जोड दिदैं लामिछानेले शौचालय बनाउन नसक्ने स्थानीयलाई वडाले सहयोग गर्ने र भर्खरै मात्र वडाकै पहलमा १५ सुकुम्बासी घर परिवारलाई शौचालय निर्माणमा सहयोग गरिएको जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रममा वडा नं. १५ मा रहेका विभिन्न विद्धालय र वडा कार्यालयलाई प्राथमिक उपचार बाकस वितरण गरिएको थियो । तिन दिन सम्म चल्ने कार्यक्रममा रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव प्रसाद पौडेल , बकुलहर रत्ननगर अस्पतालका फिजिसियन डाक्टर आशिस न्यौपाने , पिठुवा स्वास्थ्य चौकीका प्रमुख विदुर वस्ताकोटी र आधारभुत स्वास्थ्य केन्द्र  १५ की प्रमुख रोजिना गिरिले सहजिकरण गर्नुहुनेछ । कार्यक्रममा पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष आशिक तामांग,रत्ननगर १५ का वडा सदस्यहरु, वडा स्तरिय राजनैतिक दलका प्रतिनिधि ,विधालयका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ! कार्यक्रम स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका उपाध्यक्ष मदन भुजेलले संचालन गरेका थिए।

https://www.ujyaalonepalnews.com/archives/16198

Previous articleदु:खद खबर: दशैँको मुखमा मुगुमा बस दुर्घटना, कम्तीमा ३२ को मृ’त्यु
Next articleकम्पनी परिवर्तन गर्न पाउने बारे साउदी सरकारको नयाँ नियम