विदेश जानेको संख्या ह्वात्तै बढ्यो; साउदी जाने सबैभन्दा धेरै

काठमाडौं– पछिल्ला दिनहरूका वैदेशिक रोजगारीमा जानेको संख्यामा वृद्धि हुँदै गएको देखिएको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअुनसार चालू आर्थिक वर्षको असोज महिनामा मात्रै वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ३९ हजार ६ सय ७१ रहेको छ र यो अघिल्लो महिनाको तुलनामा ३ हजार ६ सय ३१ जना बढी हो । चालू आर्थिक वर्षको भदौ महिनामा यो संख्या ३६ हजार ४० जना रहेको विभागको तथ्यांकले देखाएको छ । असोज महिनामा रोजगारीका लागि विभन्न ७३ वटा देशका लागि श्रम स्वीकृति लिएको तथ्यांकमा उल्लेख गरिएको छ ।

विभागको तथ्यांकअनुसार असोज महिनामा विदेशी जानेमध्ये ३७ हजार २ सय ८ जना पुरुष र २ हजार ४ सय ६३ जना महिला रहेका छन् । अघिल्लो महिना रोजागरीमा गएकामध्ये २७ हजार ८ सय २४ जना पहिलो पटक विदेश गएका छन् भने ११ हजार ८ सय ४७ जना पुनः श्रम स्वीकृति लिएर विदेश गएका हुन् । लकडाउन तथा त्यसपछिको निषेधाज्ञा खुलेसँगै नेपालबाट रोजगारीका लागि विदेश जानेको संख्यामा निरन्तर रूपमा वृद्धि भइरहेको विभागको तथ्यांकले देखाएको छ । नेपालीहरूको महान चाड दशैँको समयमा पनि विदेश जानेको संख्यामा वृद्धि भएको देखिएको छ ।

दसैँको दिन २९ असोजका दिन मात्रै नेपालबाट ९ सय ६९ जना नेपाली विदेश गएको अध्यागमन विभागको तथ्यांकले देखाएको छ । असोज महिनामा रोजगारीका लागि सबैभन्दा बढी साउदी अरब गएको देखिएको छ । ३९ हजार ६ सय ७१ जनामध्ये १५ हजार ५ सय २६ जना साउदी गएका छन् । जुन नेपालबाट विदेश जानेको ३९.१३ प्रतिशत हुन आउँछ । साउदी अबर जानेमध्ये १३ हजार ३ सय ५४ जना नयाँ र २ हजार १ सय ७२ जना पुनः श्रम स्वीकृति लिने रहेका छन् ।

त्यस्तै असोज महिनामा नेपालबाट श्रम स्वीकृति लिएर कतार जानेको संख्या १३ हजार ६ सय २ जना रहेको छ । जसमध्ये नयाँ ७ हजार ९ सय ६ र पुनः श्रम स्वीकृति मार्फत ५ हजार ६ सय ९६ जना रहेको विभागको तथ्यांकले देखाएको छ । त्यस्तै सोही अबधिमा युएई जानेको संख्या ७ हजार २ सय ६३ जना रहेको छ । जसमध्ये नयाँ ४ हजार ३ सय ५९ जना नयाँ र २ हजार ९ सय ४ जना पुराना रहेका छन् ।

त्यसैगरी, असोज महिनामा बहराइन जाने नेपालीको संख्या ४ सय ५३ जना रहेको छ । जसमध्ये नयाँ २ सय ८१ र पुराना १ सय ७२ जना रहेका छन् । त्यस्तै ओमान ४ सय ५२ जना, कुवेत ३ सय ३४ जना रोजगारीका लागि गएको तथ्यांकले देखाएको छ । नेपालीहरूको मुख्य श्रम गन्तव्य मुलुकका रूपमा रहेको मलेसिया जानेको संख्या ११ जना रहेको छ । जसमा १ जना नयाँ र १० जना पुराना रहेको बताइएको छ ।

https://ujyaalonepalnews.com/archives/16243

Previous articleमलेशिया रोजगार अपडेट: नेपाली दुताबास भन्छ मलेशिया खुलेको बारे कुनै जानकारी छैन
Next articleरत्ननगर १५ माधवपुरमा नि:शुल्क आँखा शिविर सम्पन्न, करिब २०० जनाको आँखा परिक्षण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।