पिठुवा खानेपानीको पाँचौ साधारणसभा सम्पन्न

0
54

निराजन घिमिरे, २७ कार्तिक- चितवनको रत्ननगर १५ माधवपुरमा रहेको पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको पाँचौ बार्षिक साधारण सभा आज शनिबार सम्पन्न भएको छ । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे प्रमुख अतिथी रहेको कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वन विशिस्ट अतिथिको रुपमा उपस्थित  हुनुहुन्थ्यो । यस्तै कार्यक्रममा उप-मेयर बिमला दुवाडी, रत्ननगर खानेपानीका अध्यक्ष भीष्मराज पौडेल, पिठुवा खानेपानीका संस्थापक अध्यक्ष जयन्द्र कुमार श्रेष्ठ, रत्ननगर – १५ का वडाध्यक्ष हुमनाथ लामिछाने, वडा नं. १६ का वडाध्यक्ष हेमराज थापा, वडा नं १४ का वडाध्यक्ष हरिकुमार श्रेष्ठ,नेकपा एमालेका नगर अध्यक्ष इश्वरी प्रसाद अर्याल,नेपाली काँग्रेसका नगर उपसभापति कमलनाथ अधिकारी,माओवादी केन्द्रका नगर अध्यक्ष ओम लामिछाने,एकीकृत समाजबादीका नगर अध्यक्ष बद्रिनाथ घिमिरे लगायत अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रममा संस्थाका अध्यक्ष आसिक तामाङले बार्षिक प्रतिवेदन,सचिव बासुदेव लामिछानेले कार्यप्रगति प्रतिवेदन, कोषाध्यक्ष बिष्णु भण्डारी कट्टेलले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक गौतमबाबु अर्यालले आन्तरिक लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका पुर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेले पिठुवा खानेपानीले गरेको प्रगतिको प्रसंशा गर्दै उपभोक्ताको हितमा काम गरेकोमा धन्यबाद ब्यक्त गरे । उनले खर्च कटौति गर्दै उपभोक्तालाई आर्थिक मारमा नपार्ने काम प्रशंसनिय भएको भन्दै आगामी दिनमा पनि संस्थाले त्यसलाई निरन्तरता दिने बिश्वास ब्यक्त गरे ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै रत्ननगर नगर प्रमुख नारायण वनले पिठुवा खानेपानीले राम्रो काम गरेका कारण आफुहरुले खानेपानीको क्षेत्रमा काम  गर्न नपरेको र खानेपानीमा लगानी हुने बजेट पनि अन्य विकासे काममा खर्च गर्न पाएको बताए ।  उनले खानेपानी संस्थानहरुको विचमा सहकार्य हुन सके उपभोक्तालाई सहज तरिकाले खानेपानी वितरण गर्न सक्ने भएकोले सहकार्यको लागी सुझाव दिए ।

कार्यक्रममा संस्थाको विकासमा योगदान गर्ने विभिन्न व्यक्तित्वहरुलाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान समेत गरिएको थियो । सम्मान पाउनेहरुमा संस्थालाई जग्गा प्रदान गर्ने शिवलाल श्रेष्ठ, सीता नेपाल तथा निर्वाचन समिति सदस्य लगायत छन् । त्यसैगरी संस्थाका उत्कृष्ट कर्मचारीहरुलाई नगद सहित प्रमाणपत्रले सम्मान गरिएको थियो । पुरस्कृत हुनेमा प्राविधिक तर्फ थानेश्वर ढकाल र प्रशासन तर्फ विपना प्रधान छन्  । यस्तै संस्थालाई विभिन्न समयमा योगदान गर्ने एकनाथ ढकाल, रोहित अधिकारी, शेरबहादुर रानाभाट, कलाधर ढकाल, शंकर देवकोटा र सुर बहादुर बस्नेतलाई मरोणपरान्त सम्मान गरिएको छ ।

कार्यक्रममा संस्थाको भावी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष आशिक तामांगले संस्थाको कार्यक्षेत्र भित्रका सामुदायिक विद्यालयहरुका विद्यार्थीहरुलाई विद्यार्थी संख्याको आधारमा साबुन वितरण गर्ने, त्यसैगरी सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई स्वास्थ्यसम्बन्धी सामाग्री वितरण गर्ने, विभिन्न संस्थाहरूको प्रमुख तथा प्रतिनिधि ,टोलविकास, बौद्धिक व्यक्तित्व तथा सामुदायिक विद्यालयहरुलाई खानेपानी तथा सरसफाइ सम्बन्धी तालिम आयोजना गर्ने, संस्थाको कार्यक्षेत्र भित्रका सम्पूर्ण बाटोमा दोहोरो पाइपलाइन विस्तार गर्ने, विभिन्न संघसंस्था तथा क्लबहरु सँगको सहकार्यमा जनचेतना तथा प्रवर्द्धन कार्यक्रम संचालन गर्ने, प्रत्येक तिन तिन महिनामा घुम्ती पानी परीक्षण कार्यक्रम संचालन गर्ने, टोल विकास संस्थाहरुको सहयोगमा सरसफाइ सचेतना कार्यक्रम सञ्चालन गर्ने लगायतका कार्यक्रमहरु प्रस्ताव गरिएका छन् ।

कार्यक्रम संस्थाको सचिव बासु लामिछानेले संचालन गरेका थिए भने संस्थाका अध्यक्ष आशिक तामाङ्गको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। रत्ननगरको वडा नम्बर १४,१५ र १६ का जनतालाई पानी वितरण गर्दै आइरहेको पिठुवा खानेपानी संस्थामा हाल सम्म ४ हजार ५६ वटा धारा दर्ता भएका छन् भने धारा जडान संख्या ३ हजार ८ सय ८ रहेको छ ।

https://www.ujyaalonepalnews.com/archives/16346

Previous articleमध्य तिहारमा दुःखद खबर ; ग्याँस सिलिण्डर प’ड्किदा एकै परिवारका ४ जनाको मृ’त्यु
Next articleनेपाली फुटबललाई कतार एअरवेजको साथ; एक करोड ७४ लाखको भयो सम्झौता