निराजन घिमिरे, मङ्सिर १९, चितवन- चितवनको रत्ननगर १६ मा रहेको पिठुवा सामुदायिक सिकाई केन्द्रको आयोजनामा अन्तर विद्धालय रनिङशिल्ड हाजिरीजवाफ प्रतियोगिता आज आइतबार सम्पन्न भएको छ । रत्ननगर १६ वडा कार्यालयको सभाहलमा एक औपचारिक कार्यक्रम बीच सम्पन्न प्रतियोगितामा पिठुवा क्षेत्रमा रहेका भद्रकाली मा.वि., जनजागृती मा.वि, अर्विट बोर्डिंग स्कुल, जनादया मा.वि, माधवपुर मा.वि, नर्थ प्वाईन्ट एकेडेमी र आधारभूत विद्धालय नमुनाटोल गरि सात विद्धालयका आधारभूत तहका विद्धार्थीहरुले सहभागीता जनाएका थिए ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष हेमराज थापाले यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीको क्षमता वृद्वि हुने बताउनुभयो । कार्यक्रम आयोजकलाई धन्यवाद ज्ञापन गर्दै वडाध्यक्ष थापाले यस्ता कार्यक्रमहरुमा वडाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै हाजिरीजवाफ प्रतियोगिताले विद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्धि गर्ने आसा व्यक्त गर्नुभयो ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै जनजागृती माध्यमिक विद्धालयका प्रधानाध्यापक विनोद प्रसाद अधिकारीले यस्ता कार्यक्रमले विद्धार्थिको ज्ञानमा वृद्धि र बोल्न सक्ने बानीको विकास हुने बताउनुभयो । त्यस्तै अधिकारीले हाजिरीजवाफ प्रतियोगितामा भाग लिने विद्धार्थीहरुलाई भविष्यमा लोकसेवा आयोग, शिक्षा सेवा आयोग लगायतका परीक्षाहरूमा सहज हुने बताउनुभयो । त्यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्दै पिठूवा गरिबी निवारण साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष रमेश प्रसाद लामिछानेले विद्यार्थीमा किताबी ज्ञान मात्र नभई बाहिरी ज्ञान पनि हुनु आवश्यक भएको बताउनुभयो ।

कार्यक्रम संयोजक रामहरी भण्डारीले धेरै अगाडी देखि नै कार्यक्रम गर्ने तयारी गरेपनि विश्व भरि नै फैलिएको कोरोना त्रास र अन्य कारणले प्रतियोगिता सम्पन्न गर्न केहि ढिलाई भएको बताउनुभयो । तेस्रो पटकको तयारी पछी बल्ल कार्यक्रम सम्पन्न भएको उँहाको भनाई छ । प्रतियोगितामा अर्विट बोर्डिंग स्कुल प्रथम, जनजागृती मा.वि द्दितीय र भद्रकाली मा. वि तृतीय भएका थिए । विजयी र सहभागी टिमलाई कप, प्रमाणपत्र र पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रमको उद्घाटनसत्र संस्था कि सचिव सर्मिला लामिछानेले संचालन गर्नुभएको थियो भने प्रतियोगिताको संचालन चितवनकै चर्चित संचारकर्मी तथा पत्रकार मनोज पन्तले गर्नुभएको थियो । त्यस्तै पुरस्कार वितरण समारोहको संचालन संस्थाका सदस्य विष्णु प्रसाद अधिकारीले गर्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष हरिशचन्द्र अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।
https://ujyaalonepalnews.com/archives/16555


