निराजन घिमिरे, पुष १०, चितवन- चितवनको रत्ननगर १६ मा रहेको भद्रकाली माध्यमिक विद्यालयका विद्यार्थीहरुको लागी लागुऔषध विरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । भूतपूर्व विद्यार्थी संघ भद्रकाली मा. वि र चितवन फाउन्डेसनको संयुक्त आयोजनामा सचेतना कार्यक्रम सम्पन्न गरिएको हो । शुक्रबार विद्यालयको सभाहलमा आयोजित एक कार्यक्रमको विच रत्ननगर नगरपालिका वडा नं, १६ का वडाध्यक्ष हेमराज थापाले सचेतना कार्यक्रमको उद्घाटन गर्नुभयो ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा चितवन फाउन्डेसनका विश्वराज पौडेल, ईलाका प्रहरी कार्यालय टाँडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईन्द्र बहादुर राना, भद्रकाली माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक दिलिप खनियाँ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सभापतित्व समेत गर्नुभएका संघका अध्यक्ष एलिन गुरुङ्गले स्कुले विद्यार्थीहरुनै लागुऔषधको मुख्य जोखिममा रहेको उल्लेख गर्दै किशोरावास्थाका विद्यार्थीलाई लागुऔषधको बाटोमा लाग्नबाट बचाउन सचेतना कार्यक्रम गरिएको जानकारी दिनुभयो ।

त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख अतिथि वडाध्यक्ष हेमराज थापाले शुभकामना मन्तव्य राख्दै यस्ता कार्यक्रमले कलिला बालबालिकाहरुलाई कुलतबाट जोगिन सहयोग पुग्ने उल्लेख गर्दै आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा चितवन फाउन्डेसनका विश्वराज पौडेल र प्रहरी नायब उपरीक्षक ईन्द्र बहादुर रानाले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम भु.पु विद्यार्थी संघका सदस्य नविन गुरुङ्गले संचालन गरेका थिए ।
https://ujyaalonepalnews.com/archives/16906


