मिथिला महोत्सव २४ गतेदेखि हुने

0
58

जनकपुरधाम । कोरोना महामारीका कारणले शिथिल बनेको अर्थतन्त्र तथा पर्यटन व्यवसायलाई चलायमान बनाउनका लागि यही चैत्र २४ गतेदेखि ३० गतेसम्म जनकपुरधाममा मिथिला महोत्सव २०७८ हुने भएको छ ।

जनकपुरधामको ऐतिहासिक बाह्र बिघा रङ्ग भूमि मैदानमा आयोजना हुने मिथिला महोत्सवमा मिथिला क्षेत्रको कला संस्कृतिका साथै यस क्षेत्रको उत्पादनका साथै राष्ट्रिय उत्पादनहरूको प्रदर्शनी हुने जनकपुरधाममा आज आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत आयोजकले जानकारी जनाएको छ । 

आइडिया फिक्सलको आयोजना तथा जनकपुरधाम उद्योग वाणिज्य सङ्घको सहकार्यमा आयोजना हुने मिथिला महोत्सवमा ७ दिनसम्म चल्ने भएको छ । 

मिथिला महोत्सवमा प्रवेशका लागि २० रुपैयाँ मात्र शुल्क निर्धारण गरेको आइडिया फिक्सलका अध्यक्ष पवनराज जोशीले जानकारी दिनुभयो । 

महोत्सवमा प्रत्येक दिन राष्ट्रिय स्तरमा ख्याति कमाएका कलाकारहरू तथा स्थानीय कलाकारहरूले विभिन्न प्रकारको सांस्कृतिक कार्यक्रमको पनि आयोजना हुने आयोजकले जनाएको छ । 

प्रत्येक दिन कम्तीमा पनि ४ हजार दर्शकले प्रवेश गरेर महोत्सवको अवलोकन गर्ने विश्वास आयोजकको रहेको छ । यसका साथै यस क्षेत्रको लोकप्रिय खेलको रुपमा रहेको कुस्तीको ७ दिन आयोजना गरिने र त्यसमा देश विदेशमा नाम कमाएका नेपालका कुस्तिवाजहरु सहभागी हुने बताइएको छ  । साथै विभिन्न प्रकारका मनोरञ्जनका लागि खेलकुद, झुला सहितका मनोरञ्जनहरूको महोत्सव स्थलमा हुने भएको छ । 

पत्रकार सम्मेलनमा बोल्नुहुँदै जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले विगत दुई वर्षयता कोरोनाका कारणले जनकपुर क्षेत्रको पर्यटन तथा  अर्थतन्त्रलाई चलायमान बनाउनमा महोत्सवले ठूलो सहयोग गर्ने आशा व्यक्त गर्नुभयो । 

जनकपुर क्षेत्रमा उत्पादन भएको सामाग्रीहरूको स्टल महोत्सव स्थलमा हुने भन्नुहुँदै उहाँले त्यसका लागि सक्रिय सहभागी हुन उद्योगी व्यवसायीहरूलाई आग्रह समेत गर्नुभयो । 

सात दिनको मिथिला महोत्सवको कूल खर्च ९४ लाख हुने आयोजक संस्था आइडिया फिक्सलले जानकारी दिएको छ ।    

https://www.ujyaalonepalnews.com/archives/17871

Previous articleप्रदेश मन्त्री कृष्ण खनालले ग्रहण गरे पिर्के सलामी
Next articleनेपाल युएईसँग पराजित