श्रम सम्झौता नवीकरण गर्न नेपाल र कतारका श्रम मन्त्री सहमत

0
75

काठमाडौँ । कतार भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले कतारका श्रम मन्त्री डा. अल वीन समिख अल मारीसँग भेटवार्ता गर्नुभएको छ । 

भेटवार्ता क्रममा कतारका श्रम मन्त्री मारीसँग नेपाल–कतार सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा विचार विमर्श भएको छ । 

मन्त्री श्रेष्ठले नेपाल र कतारबीच श्रम सम्झौता नवीकरणका लागि नेपाल सरकारले पठाएको मस्यौदाबारे मारीलाई जानकारी गराउनुभएको थियो । सो क्रममा उहाँहरुबीच कार्यदल स्तरमा छलफल गरी मस्यौदालाई छिट्टै अन्तिम रूप दिने र नेपालमा हस्ताक्षर समारोह आयोजना गर्ने सहमति भएको छ । 
मन्त्री श्रेष्ठले समकक्षी मारीलाई हस्ताक्षर समारोहमा उपस्थितिका लागि नेपाल आउन निमन्त्रणा गर्नुभएको छ ।   

गत मङ्सिरमा काठमाडौँमा भएको नेपाल-कतार संयुक्त समितिको चौथो बैठकमा भएका निर्णय कार्यान्वयनबारे पनि सो अवसरमा छलफल भएको छ । 

नेपाल(कतार संयुक्त समितिको चौथो बैठकमा सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको थियो । कतारमा काम गरेर फर्केका नेपालीहरूको आर्थिक सामाजिक पुनः एकीकरणमा सघाउन नेपालले प्रस्ताव गरेको थियो भने नेपालबाट लैजाने श्रमिकको दक्षता वृद्धिका लागि कतार सरकारले नेपालका सात वटै प्रदेशमा तालिम केन्द्र स्थापना गर्न सहयोग गर्ने जनाएको थियो । 

भेटवार्तामा उहाँहरुबीच श्रमिकको सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने, कार्यस्थलमा सुरक्षा, स्वास्थ्य र बीमाको व्यवस्था, सामाजिक सुरक्षामा सहभागिता लगायतका विषयमा पनि छलफल भएको छ । 

मन्त्री मारीले भेटवार्ताका क्रममा कतारमा आयोजना हुने विश्वकपमा नेपाली श्रमिक ल्याउन इच्छुक रहेको बताउनुभएको थियो । 

भेटवार्तामा मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा.थानेश्वर भुसालका साथै नेपाली दूतावासका अधिकारीहरू र कतारको श्रम मन्त्रालयका सचिव मोहम्मद हसन अल लवाद्ली समेत हुनुहुन्थ्यो । 

नेपाल र कतारबीच दौत्य सम्बन्ध स्थापना भएको करिब तीन दशक भइसकेको छ । श्रम आप्रवासनलाई व्यवस्थित र सुरक्षित गर्न नेपाल र कतारले सन् २००५ मा श्रम सम्झौता गरेका थिए  । 

https://www.ujyaalonepalnews.com/archives/17977

Previous articleडडेलधुरामा जनसहभागितामा सञ्चालन हुँदै भटमास उद्योग 
Next article२७ लाख बढीको सामानसहित भारतीय ट्रक नियन्त्रणमा