रत्ननगर । समूहमा आबद्ध भएर आर्थिक कारोबार गरिरहेका महिलाहरुलाई मंगलबार वित्तीय साक्षरतासम्बन्धी प्रशिक्षण दिइएको छ । साधना लघु वित्त वित्तीय संस्थाले कर्जा लगानी, त्यसको सदुपयोग, जीविकोपार्जन र आयआर्जनका लागि गर्नुपर्ने कामहरुका बारेमा प्रशिक्षण दिएको हो ।
कार्यक्रममा समूहका १२० जना केन्द्रप्रमुखहरुलाई लघुउद्यम व्यवसायको प्रवद्र्धन, विस्तार र सबलीकरण, ग्राहक सदस्यको आर्थिक तथा सामाजिक रुपान्तरण, महिला सशक्तीकरण, वित्तीय साक्षरतालगायतको विषयमा प्रशिक्षण दिइएको संस्थाकी सहायक महाप्रबन्धक सरिता ढकालले जानकारी दिइन् ।
संस्थाले समूहमा आबद्ध भएका महिलाहरुलाई गरिबी निवारण गर्ने उद्देश्यका साथ विभिन्न शीर्षकमा कर्जा लगानी गर्दै आएको छ । कृषि, पशुपालन, व्यापार, व्यवसाय, साना उद्योग, होटललगायतका शीर्षकमा ७ लाखसम्म बिनाधितो र १५ लाखसम्म धितो राखेर कर्जा लगानी गर्दै आएको ढकालले बताइन् । आफूले एक हजारदेखि एक लाखसम्म कर्जा लगानी गरेका महिलाहरु अहिले करोडपति बन्न सफल भएको उनको दाबी छ ।
कार्यक्रममा १० वटा उत्कृष्ट समूह र चार जना उत्कृष्ट कारोबार गर्ने समूहका अध्यक्षहरुलाई सम्मान गरिएको टाँडी शाखा प्रमुख सविना सेन्चुरीले जानकारी दिइन् । उनले प्रगति प्रतिवेदनसमेत प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रम समापन भएपछि सो संस्थाले रत्ननगरमा पत्रकार सम्मेलनको आयोजना गरी संस्थाले सञ्चालन गरेका कार्यक्रम र त्यसले विपन्न समुदायका जीवनशैलीमा ल्याएको परिवर्तनका बारेमा जानकारी गराएको छ ।
गोरखामा मुख्य कार्यालय रहेको सो संस्थाले चितवनको रत्ननगर, माडी र कालिका नगरपालिकामा शाखा स्थापना गरी ग्रामीण क्षेत्रका महिलाहरुलाई उद्यमी बनाउन कर्जा लगानी गरिरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बताए ।
‘हामीले इमानदारिता र विश्वासको आधारमा लगानी गरिरहेका छौँ’, उनले भने, ‘विपन्न समुदायका महिलाहरुलाई कर्जा लगानी गर्ने भएका कारण त्यसको सुरक्षाका लागि उनीहरुलाई तालिम, सीप दिँदै परामर्शसमेत गरेर सक्षम बनाउँछौँ ।
https://ujyaalonepalnews.com/archives/18047


