पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण

कास्की- चिनियाँ निर्माण कम्पनी सिएएमसीइले निर्माण गरिरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरिएको छ । चीनका राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीको नेपाल भ्रमणका अवसरमा हिजो साँझ राजधानी काठमाडौँ र निर्माणस्थल पोखरामा आयोजित छुट्टाछुट्टै कार्यक्रमका बीच विमानस्थल हस्तान्तरण गरिएको हो ।

काठमाडौँमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा चीनका परराष्ट्रमन्त्री यीले परराष्ट्रमन्त्री नारायण खड्कालाई विमानस्थलको चाबी हस्तान्तरण गर्नुभयो । पोखरामा पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विमानस्थल निर्माण सम्पन्न गरेकामा चिनियाँ कम्पनी सिएएमसीइका अध्यक्ष लु यानलाई कदरपत्रद्वारा सम्मान गर्नुभयो ।

चीनको एक्जिम बैंकको रु २२ अर्ब सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा निर्माण गरिएको सो विमानस्थलको मुख्य निर्माण र जडानको कार्य सम्पन्न भएपछि हस्तान्तरण गरिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख विनेश मुनंकर्मीले जानकारी दिनुभयो । उहाँका अनुसार विमानस्थलको ९३ प्रतिशत काम सम्पन्न भएकाले बाँकी कार्य पनि निरन्तर सञ्चालन हुनेछ ।

विमानस्थलको धावनमार्ग, टर्मिनल भवन, एयर ट्राफिक कन्ट्रोल (एटिसी) भवनलगायत १४ भवन, ट्याक्सी वे लगायतका मुख्य काम सम्पन्न भएको छ । बाँकी काम निर्माण कम्पनीले निर्धारित समयमा पूरा गर्ने जनाइएको छ । विमानस्थल सन् २०२१ जुलाई १० भित्रमा काम सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने सम्झौता भएपनि कोरोना सङ्क्रमणका कारण निर्माण कार्य प्रभावित भएपछि एक वर्ष म्याद थपिएको थियो ।

मन्त्री आलेले विमानस्थल छिट्टै सञ्चालनमा ल्याइने बताउनुभयो । सरकारले आवश्यक तयारी पूरा गरेर आगामी ६ महिनाभित्रमा सञ्चालनमा ल्याउने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आजको कार्यक्रमले पोखराको विमानस्थल सम्पन्न भयो भन्ने सन्देश दिएको छ । अब यहाँका पर्यटन व्यवसायीलाई पर्यटनमा लगानी गर्न यसबाट सन्देश प्रवाह भएको छ ।”

विमानस्थलको काम सम्पन्न भएकाले आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी प्याराग्लाइडिङ, र्‍याफटिङ, गल्फलगायत क्षेत्रमा लगानी र पूर्वाधार निर्माण गर्नुपर्नेमा मन्त्री आलेले जोड दिनुभयो । पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि सरकारले कामअघि बढाएको उहाँले उल्लेख गर्नुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक प्रदिप अधिकारीले विमानस्थल निर्माणको मुख्य काम सकिए पनि केही समस्या बाँकी रहेको बताउनुभयो । रिठेपानी डाँडा कटानको काम अघि बढाउन पुरक वातावरणीय प्रतिवेदन स्वीकृतिको चरणमा रहेको उहाँले जानकारी दिनुभयो ।

सिएएमसीइका अध्यक्ष यानले अत्याधुनिक विमानस्थल निर्माण भएको भन्दै यसको शिलान्यास र कार्य सम्पन्न समारोहमा उपस्थित हुन पाउँदा गौरव लागेको बताउनुभयो । पोखरा र यस क्षेत्रको आर्थिक विकास र समृद्धिमा विमानस्थलले योगदान दिने उहाँको भनाइ थियो ।-

https://ujyaalonepalnews.com/archives/18133

Previous articleएमसिसीका विषयमा छरिएको भ्रमका पछि नलाग्न सञ्चारमन्त्रीको आग्रह
Next articleएक करोड रुपैयाँ धनराशिको ‘भवन कीर्ति रत्न‘ पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।