आयात गर्ने संस्कार निरुत्साहित गर्न मन्त्री भुसालको आग्रह

ललितपुर ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले देशको अर्थतन्त्र प्रवर्द्धन गर्नका लागि आयातित संस्कारलाई प्रवर्द्धन नगर्न आग्रह गर्नुभएको छ । 

सिँचाइ दिवस तथा ६९औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “स्वदेशमै उत्पादन हुने वस्तु पनि आयात भइरहेका छन्, त्यसो नगरौँ, आयातित संस्कार प्रवर्द्धन नगरौँ, स्वदेशमै उत्पादित खाद्यान्नको प्रयोग गरौँ, हाम्रो व्यवहारमा परिवर्तन गरौँ र हाम्रो अर्थतन्त्र प्रवर्द्धन गरौँ ।”     

व्यापार घाटा चुलिँदा अर्थतन्त्रमा नै चुनौती सिर्जना हुने भएकाले स्वदेशी उत्पादन प्रवर्द्धन गर्न र स्थानीय उत्पादनको उपभोगमा विशेष जोड दिनुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री भुसालले भन्नुभयो, “सिँचाइ विभागको तथ्याङ्कमा सन् २०१९/२०२० मा नेपालको कृषि व्यापार घाटा लगभग रु दुई खर्ब ५० अर्ब रहेकामा र सन् २०२१/२२ मा ३० प्रतिशतले वृद्धि भएर रु तीन खर्ब २५ अर्ब पुगेको छ, यो अत्यन्त चुनौतीको विषय भएको छ । अब थप व्यापार घाटा बढ्न नदिन पनि हामीले आयातलाई निरुत्साहित गर्नुपर्छ र स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्नुपर्छ ।”          

हालै सम्पन्न जनगणनाको प्रारम्भिक तथ्याङ्कले बसोबासको अवस्थामा फेरबदल ल्याएको उल्लेख गर्दै मन्त्री भुसालले देशको हिमाल र पहाडका कृषियोग्य जमिन बाँझो रहने र तराईको उर्वराभूमि खण्डीकरण भएर बसोबासमा परिणत हुने देखिएको बताउनुभयो । 

उहाँले बसाइसराइको चुनौतीलाई सम्बोधन गर्नेगरी नीति विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

देशको मुख्य आर्थिक आधार भनेको कृषि, जलविद्युत् र पर्यटन क्षेत्र भएकाले यी क्षेत्रको प्रवर्द्धनका लागि एकीकृत नीति तय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले आगामी दिनमा सबै स्थानको कृषियोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।          

कार्यक्रममा जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई र जल तथा ऊर्जा आयोगका सचिव दिनेश घिमिरेले देशको सिँचाइ क्षेत्रसँग सम्बन्धित नीति तथा कार्यक्रमको कार्यान्वयनमा विभागले सक्रियतापूर्वक लगेको बताउनुभयो । 

उहाँहरूले देशको कृषि आयातलाई निरुत्साहित गर्नका लागि पनि साधन स्रोत तथा नीतिगत रूपमा विभागलाई सबल बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । विभागका पूर्व महानिर्देशक तथा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो । 

कार्यक्रममा सिँचाइ विभागमा महानिर्देशक सुशील चन्द्र आचार्यले सिँचाइ विभागले अगाडि बढाएका कार्यक्रम कार्यान्वयन सबैको सहयोग आवश्यक पर्ने बताउनुभयो । रासस 

https://ujyaalonepalnews.com/archives/18557

Previous articleबागमती गाउँपालिकामा भूमिहीन दलितलाई लालपुर्जा वितरण
Next article१२ जना सङ्क्रमित थपिए, ८९ सङ्क्रमण मुक्त
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।