२४ घण्टामै राजीनामा घोषणा गरेका श्रीलङ्काका अर्थमन्त्रीमन्त्रीले पदलाई निरन्तरता दिने

कोलम्बो। यसै हप्ताको शुरुमा नयाँ वित्त मन्त्री नियुक्त पाई २४ घण्टामा राजिनामा दिएका श्रीलङ्काका सत्तारुढ दलका सांसद अली सबारीले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिने बताउनुभएको छ ।

उहाँलाई गत सोमबार राष्ट्रपति राजपाक्षले अर्थमन्त्री नियुक्त गर्नुभएको थियो भने एक दिनपछि राष्ट्रपतिलाई राजीनामा पेश गर्नुभएको थियो । राष्ट्रपतिबाट उहाँको राजिनामा स्वीकृत भएको थिएन ।

उहाँले शुक्रबार संसदमा बोल्दै अर्थमन्त्रीको जिम्मेवारीलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

अरु कसैले पनि अर्थमन्त्रीको पदभार ग्रहण गर्न आनाकानी गरेको र राष्ट्रपति गोटाबाया राजपाक्षले सबारीको राजिनामा स्वीकृत गर्न नमानेपछि उहाँले वित्त मन्त्रीका रुपमा निरन्तरता दिने बताउनुभएको हो ।

सबारीले भने, “जस्तोसुकै चुनौती सामना गर्नु परे पनि देशको अर्थतन्त्र बचाउन म अर्थमन्त्रीका रुपमा रहन र आवश्यक काम गर्न तयार छु ।”

श्रीलङ्कामा आर्थिक संकट, घण्टौँ लामो विद्युत् भार कटौती र इन्धन तथा अन्य अत्यावश्यक आपूर्तिमा अभावको समाधानका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने माग गर्दै विरोध प्रदर्शन भइरहेको छ ।

पूर्व गभर्नरलाई विदेश यात्रामा प्रतिबन्ध

यसैबीच आर्थिक सङ्कटका लागि जिम्मेवार रहेको आरोपपछि श्रीलङ्काको एउटा अदालतले हालै राजीनामा दिएको केन्द्रीय बैंकका गभर्नरको विदेश यात्रामा प्रतिबन्ध लगाएको छ ।

कोलम्बोस्थित एक अदालतले सोमबार राजिनामा गरेका अजिथ काबराललाई उनी विरुद्ध गरिएको अभियोगको जवाफ दिन अप्रिल १८ मा अदालतमा हाजिर हुने आदेश दिएको छ । अधिकारवादीले उनीविरुद्ध निवेदन दर्ता गरेपछि देश छोड्न नदिन अधिकारीहरूलाई आग्रह गरिएका हो । राष्ट्रपति गोटाबाया राजपाक्षद्वारा बैंकको नेतृत्व गर्न चुनिएका काबराल श्रीलंकाको तीव्र विदेशी मुद्रा अभाव र अन्य वित्तीय संकटका लागि जिम्मेवार भएको अधिकारकर्मी कीर्ति टेनाकुनले तर्क गर्नुभयो ।

टेनाकुनले सन् २००६ देखि २०१५ को बीचमा यस संस्थाको नेतृत्व गर्दा पूर्व बैंक प्रमुख पनि ‘इनसाइडर ट्रेडिङ’का लागि जिम्मेवार भएको कुरा अदालतमा बयान दिनुभएको थियो । उहाँ गत वर्षको सेप्टेम्बरमा नयाँ कार्यकालका लागि नियुक्त हुनुभएको थियो ।सिन्ह्वा

https://ujyaalonepalnews.com/archives/18590

Previous articleसडक निर्माणमा भएको ढिलासुस्तीले पर्यटक र स्थानीयवासीलाई सास्ती
Next articleयुक्रेन सङ्कटका कारण खाद्य पदार्थको मूल्य अहिलेसम्मकै उच्च : एफएओ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।