संकटउन्मुख आर्थिक अवस्थाबारे सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुलुकको वर्तमान संकटउन्मुख आर्थिक अवस्थाको सन्दर्भमा सरकारको ध्यानाकर्षण गराएको छ । 

नेकपा एमालेले आज ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मूल्य वृद्धि अघिल्लो सरकारका बेलामा भन्दा दोब्बर भएको, मूल्य अनुगमन नगर्दा जथाभाबी मूल्यवृद्धि गर्ने र कृत्रिम अभाव सिजृना गर्ने जस्ता काम भएको जनाएको छ । 

एमालेले देशमा भुक्तानी सन्तुलन कमजोर भएको, वैदेशिक व्यापार घाटा उल्लेख्य रुपमा बढेको, चालु खाता घाटा देशले धान्नै नसक्ने स्तरमा पुगेको, विदेशी मुद्रा सञ्चिति घटेको भन्दै समयमा नै सजकता अपनाएर अर्थतन्त्रलाई थप कमजोर हुन नदिन सरकारको ध्यानाकर्षण गराएको हो । 

पत्रकार सम्मेलनमा, नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारले लिएको आर्थिक नीतिका कारण मुलुकको अर्थतन्त्र थप कमजोर हुँदै गएको बताउनुभयो ।

उहाँले नेपाल राष्ट्र बैङ्कको गभर्नरलाई निलम्बन गर्नु व्यक्तिमाथि नभई प्रणालीमाथिको हस्तक्षेप भएको बताउनुभयो । 

यसैगरी, पूर्व अर्थमन्त्री समेत रहनुभएका एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले मुलुकमा विदेशी मुद्राको सञ्चितिमा चाप परेको र व्यापार घाटा उल्लेख्य रुपमा बढेको भन्दै तरलता अभावले पुँजीगत खर्च बढाउन सक्ने अवस्था समेत नरहेको बताउनुभयो । 

यसैगरी पूर्व अर्थमन्त्री तथा पूर्व गभर्नर डा. युवराज खतिवडाले निजी क्षेत्र यो सरकारबाट निराश भएको भन्नुहुँदै आर्थिक निकायहरुबीच समन्वयको अभाव रहेको अवस्थामा निजी क्षेत्रसहित सबैलाई विश्वासमा लिएर सङ्कटपूर्ण अवस्थाबाट मुलुकलाई अगाडि बढाउन सरकार गम्भीरताका साथ लाग्नुपर्ने बताउनुभयो । 

विज्ञप्ति:

https://ujyaalonepalnews.com/archives/18680

Previous articleसेनाद्वारा सशस्त्र प्रहरीलाई इन्सास राइफलसहित ५९० थान हतियार हस्तान्तरण
Next articleव्यावसायिक प्रवर्द्धनमा केन्द्रित हुन सभामुखको आग्रह
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।