
सोलुखुम्बु । सोलुखुम्बुको व्यस्त पर्यटकीय बजार नाम्चेमा सडक बत्ती जडान कार्य सुरु भएको छ । सगरमाथाको प्रवेशद्वार नाम्चेमा पर्यटकहरूको सहजता तथा रातको समयमा सडकमा हुने कुकुरको आक्रमणबाट पर्यटकहरूलाई बचाउन सडक बत्ती जडान गर्न थालिएको खुम्बु पासाङल्हामु गाउँपालिका–५ का वडा अध्यक्ष छिरिङ पेन्जो शेर्पाले जानकारी दिनुभयो ।
रातको समयमा पर्यटकहरूलाई हिँडडुल गर्न सहज होस् भन्ने उद्देश्यले बजार क्षेत्रको ६५ ठाउँमा बत्ती जडान कार्य सुरु भएको उहाँले बताउनुभयो । उक्त सडक बत्ती दिनको समयमा आफैँ बन्द हुने र रातको समयमा आफैँ बल्ने प्रविधिको रहेको वडा कार्यालयले जनाएको छ ।
चैत्र १८ गतेबाट सुरु भएको जडान कार्य केही दिनमा सकिने गरी काम भइरहेको वडा अध्यक्ष शेर्पाले बताउनुभयो । बत्ती जडानका लागि गाउँपालिकाले चालु आर्थिक बर्ष २०७८/०७९ मा १५ लाख रुपैयाँ रकम विनियोजन गरेको थियो ।
सडक बत्ती प्रयोग गर्दा लाग्ने विद्युत् महसुल वडा कार्यालयले तिर्ने गरी सम्झौता भएको बताइएको छ । बजार क्षेत्रको बाटोमा बत्ती बालेपछि घुमफिरमा सहज हुन पर्यटन व्यवसायीहरूले बताएका छन् ।
https://ujyaalonepalnews.com/archives/18769


