Home Uncategorized अब मोबाइलमा कुरा गर्न रूख चढ्नु पर्दैन

अब मोबाइलमा कुरा गर्न रूख चढ्नु पर्दैन

गलेश्वर। म्याग्दीका दुर्गम मल्कावाङ, मलम्पार, भेडिखाल्टालगायतका गाउँमा केही समय अघिसम्म मोबाइल कुरा गर्न सम्भव हुँदैनथ्यो । नजिकमा टेलिकमका टावर नहुँदा नेटवर्कको खोजीमा उपभोक्ता घरका धुरी तथा रूख चढ्ने गर्दथे । यसरी धुरी र रूख चढ्नु उनीहरूको बाध्यता थियो । अब भने उपभो क्ताले मोबाइलमा कुरा गर्न धुरी र रुख चढ्नु पर्दैन ।

नेपाल टेलिकमले धौलागिरि गाउँपालिका–५ मल्कबाङको धुरीमा टावर निर्माण गरेपछि फोन गर्न सहज भएको हो । टेलिकमले टुजी र थ्री जी सेवा एकसाथ सञ्चालनमा ल्याएको छ । “दुर्गम गाउँमा टेलिफोनका लागि निकै कठिन थियो, सूचना आदानप्रदान गर्न, आफन्तलाई खबर गर्न र सरकारी कामकाज गर्न र गराउन घण्टौँ पैदल यात्रा गरी सम्बन्धित ठाउँमा पुग्नु पर्थ्यो, तर अब सजिलो भएको छ,” स्थानीयवासी थम्मन थापाले भन्नुभयो ।

टावर स्थापनापछि धौलागिरि गाउँपालिका–५ मल्कबाङ, मलम्पार, भेडीखाल्टा, होपा, वडा नं ६ को मराङ, बुल गाउँ, रघुगङ्गा गाउँपालिका–८ कुइने खानी तथा मालिका गाउँपालिका–७ बिमको अधिकांश भूभागमा सहजै मोबाइलमा कुरा गर्न सकिने भएको छ । टेलिकमले डिजिटल नेपाल निर्माण गर्ने लक्ष्यअनुरूप दुर्गम बस्तीलाई प्राथमिकतामा राखेर सेवा विस्तार गरेको नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले जानकारी दिनुभयो ।

टेलिकमले अहिले टुजीमार्फत भ्वाइस र थ्रीजीमार्फत भ्वाइस अनि डाटा एकसाथ सञ्चालनमा ल्याएको छ । उहाँले भन्नुभयो, “दुर्गम स्थानमा कुराकानी गर्न सहज भएको छ, इन्टरनेटमा उनीहरूको पहुँच पुगेको छ ।” सबै बस्ती र भूभाग समेट्ने गरी टावर निर्माण गरिएको शर्माको भनाइ छ ।

नेपाल टेलिकमसँगको सहकार्यमा स्थायी संरचना निर्माण गरी मोबाइल सेवा पुनः सञ्चालन गरिएको धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो । टेलिकमले उक्त टावरमार्फत फोरजी मोबाइल सेवा उपलब्ध गराउन काम अघि बढाएको छ ।

https://ujyaalonepalnews.com/archives/18798

Previous articleभन्सार छलेर ल्याएको २० लाख मूल्यको बिस्कुट बरामद
Next articleपाथीभरा मन्दिर पुग्ने सडक कालोपत्र थालियो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।