‘समाजको समृद्धिका लागि चार्टर्ड एकाउन्टेन्ट महत्त्वपूर्ण भूमिका’

काठमाडौँ । समाजको आर्थिक विकास र समृद्धिका लागि चार्टर्ड एकाउन्टेन्टको योगदान महत्त्वपूर्ण रहेको बताइएको छ । 

सुडी समुदायका व्यक्तिहरूका लागि व्यावसायिक सीप एवम् क्षमता अभिवृद्धि र आर्थिक तथा वित्तीय सम्बन्धी निःशुल्क परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले सुडी समाज महासङ्घ नेपाल(एफएनएसएस) द्वारा आज यहाँ आयोजित चार्टर्ड एकाउन्टेन्टहरुसँगको अन्तरसम्वाद कार्यक्रममा सहभागीहरूले समाज वा राष्ट्रको आर्थिक विकास एवम् समृद्धि चार्टर्ड एकाउन्टेन्टहरुको योगदान विना सम्भव नभएको बताउनुभयो । 

समाजको आर्थिक विकास र समृद्धिका लागि महासङ्घसँग सहकार्य तथा समन्वय गर्न आफूहरू तयार रहेको बताउँदै उहाँँहरुले आफूहरूलाई समाजको समृद्धिका सारथि बनाउन आग्रह गर्नुभयो । 

सो अवसरमा महासङ्घका अध्यक्ष चार्टर्ड एकाउन्टेन्ट परमेश्वर महासेठले समाजको आर्थिक विकास र उन्नयनका लागि चार्टर्ड एकाउन्टेन्टको भूमिका महत्त्वपूर्ण हुने बताउँदै समृद्ध समाज निर्माणका लागि अग्रसर हुन चार्टर्ड एकाउन्टेन्टहरुलाई आग्रह गर्नुभयो । 

“एउटा कर्पोरेट हाउसको वित्तीय सुशासनका लागि समेत चार्टर्ड एकाउन्टेन्ट आवश्यक हुन्छ भने समाजलाई आर्थिक रुपमा सम्पन्न बनाउनका लागि तपाईँहरूको भूमिका कति महत्त्वपूर्ण होला”, भन्नुभयो । 

महासङ्घका सल्लाहकार तथा सुडी समाज काठमाडौँका अध्यक्ष डा अशोक महासेठ, महासङ्घका वरिष्ठ उपाध्यक्ष इन्जिनियर उमाशङ्कर साह र महासचिव शीतल प्रसाद महतोलगायतका वक्ताहरूले समाजको सामाजिक, आर्थिक र वित्तीय विकास तथा रोजगारी सिर्जनका लागि चार्टर्ड एकाउन्टेन्टहरुले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।  

कार्यक्रममा सुडी समुदायका १२ जना चार्टर्ड एकाउन्टेन्टको सहभागिता थियो ।  रासस

https://ujyaalonepalnews.com/archives/19464

Previous articleसाढे ४८ खर्ब बराबर पुग्यो अर्थतन्त्रको आकार
Next articleपोखराका पर्यटन व्यवसायीद्वारा दुईदिने बिदाको स्वागत : आन्तरिक पर्यटकको आश
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।