हेटौँडा : बर्डफ्लु भेटिएको क्षेत्रका कुखुरा र अण्डा नष्ट गरियो

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीमा वर्ड फ्लु भेटिएपछि गएराति कुखुरा, कुखुराको अण्डा र दाना नष्ट गरिएको छ । नागस्वतीको कुखुरा व्यवसायी राजन खड्काको आदर्श कुखुरा पोल्ट्री फार्ममा रहेको ३ हजार ४ सय ५३ वटा कुखुरा, ५ हजार ७ सय ८० वटा अण्डा र ४ सय ५० केजी दाना नष्ट गरिएको हो ।

फर्ममा रहेको लेयर्स प्रजातिको कुखुरामा बर्डफ्लु भेटिएपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कुखुरा व्यवसायी सङ्घ, जिल्ला प्रशासनको प्रतिनिधि लगायतको उपस्थितिमा कुखुरा नष्ट गरिएको हो । वैशाख ९ गते वर्ड फ्लु शङ्का लागेपछि पशु सेवा विभाग काठमाडौँ नमुना पटाइएकोमा ७ दिनपछि बिहीबार बर्डफ्लु प्रमाणीकरण भएको रिपोर्ट आएको थियो । रिपोर्ट पोजेटिभ आएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बैठक बसी बर्डफ्लु प्रमाणित भएको फार्मको कुखुराहरू नष्ट गर्ने टोली फिल्डमा गएको थियो । आदर्श पोल्ट्री फार्ममा रहेको कुखुरामा वर्ड फ्लू प्रमाणित भए पनि आसपासका कुखुरा फार्ममा गरिएको नमुना परिक्षण भने नेगेटिभ आएको डाक्टर ठाकुरले बताउनुभयो । आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर कुखुरा नष्ट गरिएको उहाँले बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/19494

Previous articleविदेशबाट फर्केर गाईपालनबाट आम्दानी गर्दै
Next articleट्राफिक जरिवाना क्युआर कोर्डमार्फत तिर्न सकिने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।