बाँकेमा पाँच सय पूर्वाधार योजनाको काम प्रभावित

राँझा। निर्माण व्यवसायीको आन्दोलनका कारण बाँकेमा ५०० भन्दा बढी पूर्वाधार निर्माणका योजना प्रभावित भएका छन् ।

मूल्यवृद्धिअनुसारको मूल्य समायोजनको माग गर्दै निर्माण व्यवसायीले काम ठप्प पारेपछि बाँकेमा करिब रु सात अर्ब बढीका साना, ठुला योजना ठप्प भएको बाँके निर्माण व्यवसायी सङ्घका अध्यक्ष टेकबहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार, निर्माण व्यवसायी आन्दोलनमा लागेपछि बाँकेमा सरकारी तहबाट भइरहेका पूर्वाधार निर्माणका काम ठप्प भएका छन् । निर्माण व्यवसायीले दैनिक जिल्ला प्रशासन कार्यालयमा धर्ना दिँदै आएका छन् ।

चालु आर्थिक वर्षको अन्त्यतीर निर्माण व्यवसायीले काम ठप्प पारिदिएपछि स्थानीय तहमा बजेट खर्चसमेत प्रभावित हुने भएको छ । बाँकेका आठ स्थानीय तहमा पूर्वाधार निर्माणका योजना कार्यान्वयनको अवस्थामा छन् । अहिले भइरहेको अप्रत्याशित मूल्य वृद्धिले निर्माण व्यवसायीले यथास्थितिमा काम गर्न नसक्ने भएकाले आन्दोलन गर्नु परेको सङ्घका वरिष्ठ उपाध्यक्ष लिलाराज उपाध्यायको भनाइ छ ।

निर्माण सामग्री तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि आव २०७८/७९ को जिल्ला दररेटलाई आवश्यक संशोधन गरी नयाँ दररेटको निर्माण व्यवसायीले माग गर्दै आएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले यसअघि नै निर्माण व्यवसायीलाई जिल्लाबाट हुनसक्ने समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएको बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/19497

Previous articleट्राफिक जरिवाना क्युआर कोर्डमार्फत तिर्न सकिने
Next articleसुजिता भण्डारी मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्धा खेपेका सुकदेव भण्डारीले पाए सफाई
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।