यसरी अवतरण भयो वाइड बडी भैरहवा विमानस्थलमा

काठमाडौँ।संघीय राजधानी काठमाडौँको २२ डिग्री तापक्रम । बिहीबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवन अघिल्तर यात्रुको भिडभाड । समूह, समूहमा भलाकुसारी गरिरहेको दृश्य कुनै मेला महोत्सवकै भान दिन्थ्यो । सायद पहिलो पटक हुनुपर्छ यती धेरै भिडभाड आन्तरिक टर्मिनलमा तर, यो भिडभाड व्यावसायिक उडानका यात्रु नभई परीक्षण उडानका लागि वाइड बडी जहाज चड्न तम्तयार यात्रु थिए ।

आन्तरिक यात्रुले यसै पनि भिडभाड हुने आन्तरिक टर्मिनलमा एकै पटक धेरै सङ्ख्यामा उपस्थिति हुँदा विमानस्थलमा फरक माहोल देखिन्थ्यो । नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगमका कर्मचारी, पर्यटन क्षेत्रका अगुवा सङ्गठनका प्रतिनिधि एवं व्यवसायी तथा सञ्चारकर्मीको भीडले विमानस्थलमा नयाँ रौनक छाएको थियो ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, पर्यटन सचिव महेश्वर न्यौपाने, प्राधिकरणमा महानिर्देशक प्रदीप अधिकारीलगायत विशिष्ट व्यक्ति एवं चालक दलका सदस्य २६० यात्रु सवार राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्सको) वाइड बडी जहाजमा थिए ।

काठमाडौँ विमानस्थलबाट साँझ ५ः१२ बजे मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइड बडी जहाजले उडान भरेर ५ः५५ बजे अवतरण भएको थियो । काठमाडौँबाट भैरहवा २७ मिनेटको उडान भएपनि ‘अप्रेशनल पर्फमेन्स टेस्ट फ्लाइट’ भएकाले जहाजले धावनमार्ग नजिकबाट ओभरसुट गरेर राउण्ड लाएपछि अवतरण गरेको थियो । भैरहवाको ३८ डिग्री तापक्रमको प्रवाह नगरी काठमाडौँबाट ओलिएएको भीडले विमानस्थलमा थप उल्लासमय बनायो । स्थानीयको उपस्थिति, सङ्घ संस्थाका प्रतिनिधि, व्यवसायी, सुरक्षाकर्मी आदिको बाक्लो उपस्थिति थियो । वाइड बडी जहाजले प्रसिद्ध लुम्बिनी क्षेत्रलाई राउण्ड मारेर अवतरण गर्दा जहाजभित्र गडडडाहत ताली बजे । जहाज अवतरण भएपछि पानीका फोहोरालाई स्वागत गरियो । विमानस्थल वरिपरि र भित्र जहाज हेर्ने र फोटो, भिडियो, सेल्फी खिच्नेको भीड देखियो ।

सामान्य अवस्थामा ४० हजारभन्दा माथि फिटमा उडान भर्ने वाइड बडी जहाजलाई १७ हजार फिटबाट उडान भर्नु पनि चानचुने विषय थिएन । वाइड बडी जहाजको चालकदलका सदस्यको नेतृत्व गर्नुभएका वरिष्ठ क्याप्टेन श्रवण रिजाललाई दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा वाइड बडी जहाज अवतरण गराउन पाउँदा आनन्द अनुभूति भएको बताउनुभयो । यसले गर्दा नेपालको लुम्बिनीलाई संसारभर चिनाउँछ नै यसले नेपालको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने उहाँको भनाइ थियो । “यसले इन्धन बचतमा समेत सहयोग पुग्ने । हरेक उडानमा ३५० किलो हवाई इन्धन पनि बचत हुने भएकाले यो राज्यको बचत पनि गराउँछ ।”

‘अप्रेशनल पर्फमेन्स टेस्ट फ्लाइट’ सफलतापूर्वक सम्पन्न भएको छ । “गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई रुट, प्रोसिउडर डिजाइनिङ कुनैमा समस्या छैन”, क्याप्टेन रिजालले भन्नुभयो । विमानस्थलको धावनमार्ग काठमाडौँबाट आउने २–८ र पश्चिमतर्फ लुम्बिनीबाट आउने १–० रुटको दुवैतर्फबाट वाइड बडीले अवतरणको प्रयास गरेको थियो । दुवैतर्फबाट जहाज सहजरुपमै अवतरण गर्न सकिने क्याप्टेन रिजालको भनाइ छ । काठमाडौँबाट आएको वाइड बडी जहाज २–८ बाट अवतरण भएको थियो । अहिलेको लागि १–० रुट नै सहज हुने क्याप्टेन रिजालले बताउनुभयो । अब अन्तर्राष्ट्रिय उडानका जहाज नेपालको हवाई प्रवेश बिन्दु सिमराबाट नेपाल प्रवेश गरी नारायणघाट हुँदै गौतमबुद्ध विमानस्थलमा अवतरण गर्नेछन् ।

वाइड बडी जहाजको भैरहवा अवतरण सामान्य थिएन । नेपालको उड्डयन इतिहासमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक ठूलो जहाजले उडान भरेको क्षण नयाँ परिघटना नै थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नेपालमा दोस्रो विमानस्थल औपचारिक रुपमा सञ्चालनमा आउनु मुलुकका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको भूमिमध्ये काठमाडौँ बाहेक अन्य भूमिमा पहिलो पटक वाइड बडी जहाज अवतरण गर्दैछ । नेपालको हवाई क्षेत्रको इतिहासको ७४ वर्षे इतिहासमा यो कोसेढुङ्गा भएको छ । अहिलेसम्म ठुला जहाज काठमाडौँमा मात्र उडान अवतरण गरिरहेका थिए ।”

विमानस्थलमा करिब दुई घण्टाको औपचारिक कार्यक्रमपछि काठमाडौँबाट गएको मन्त्रीसहितको टोली वाइड बडी जहाजमार्फत राति १०ः३० बजे काठमाडौँ फर्किएको थियो ।

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बहुप्रतिष्ठित गौतमबुद्ध गौतमबुद्ध विमानस्थल वैशाख १५ देखि दैनिक १८ घण्टा र आगामी जेठ २ गतेदेखि २४ घण्टा अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन हुनेछ । महानिर्देशक अधिकारीले राष्ट्रिय गौरवको आयोजना सम्पन्न भएर पूर्ण कार्यान्वयनमा आएको पहिलो आयोजना भएको बताउनुभयो ।

अन्तर्राष्ट्रिय विमानस्थल गत जेठ ८ गतेदेखि विधिवत् रुपमा सञ्चालनमा आइसकेको छ । यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न भइसकेको यो विमानस्थलमा आगामी जेठ २ गते बुद्ध पूर्णिमाका दिनदेखि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनेछ । जजीरा एयरले उडान अनुमति लिएर आवश्यक तयारी गरिरहेको छ । अन्य एयरलाइन्सले पनि विमानस्थलबाट उडान भर्न चासो देखाएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने प्राधिकरणले जनाएको छ । गौतमबुद्ध विमानस्थल रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो । राष्ट्रिय गौरबका आयोजनामध्ये चाडो प्रगति हासिल गर्ने नमुना आयोजना भएको प्राधिकरणको बुझाइ छ ।

सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को सुरूमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरबाहीले अवरोध भएको थियो । पछिल्लो पटक सन् २०२० को मार्च महिनासम्म निर्माण सक्ने योजना रहे पनि कोभिड महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिक रुपमा सञ्चालनमा आएको हो ।

विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको हो । एशियाली विकास बैङ्कको सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको पहिलो चरणमा करिब रु ११ अर्ब खर्च भएको प्राधिकरणले जनाएको छ । हालसम्म विमानस्थलको मुआब्जासहित रु ३१ अर्ब अर्च भएको प्राधिकरणले जनाएको छ । अब दोस्रो चरणको टर्मिनल भवन पनि छिट्टै निर्माण प्रक्रिया अघि बढाइने छ । कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ ।

https://ujyaalonepalnews.com/archives/19500

Previous articleसुजिता भण्डारी मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्धा खेपेका सुकदेव भण्डारीले पाए सफाई
Next article‘विज्ञापन आचारसंहिता नियन्त्रण होइन, नियमनका लागि हो’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।