
काठमाडौँ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले मुलुकको समग्र अर्थतन्त्र र बीमकको हितमा पुँजी वृद्धिको निर्णय भएकाले एक वर्षभित्र बीमा कम्पनीहरूले चुक्ता पुँजी बढाउनै पर्ने बताउनुभएको छ ।
बीमा समितिको आयोजनामा बिहीबार काठमाडौँमा आयोजित बीमकको पुँजी वृद्धि सम्बन्धी अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले भन्नुभयो, “बीमा समितिले बीमा बजारको अध्ययन एवम् विश्लेषण गरेर पुँजी वृद्धिको निर्णय गरेको हो । बीमा कम्पनीको व्यवसाय बढोस् र अर्थतन्त्रमा पनि योगदान पुगोस् भन्ने समितिको चाहना हो । बीमा कम्पनीले एक वर्षभित्र चुक्ता पुँजी बढाउनै पर्छ । त्यसमा सहजीकरण गर्न बीमा समिति तयार छ ।”
पुँजी बढाउन सक्ने बीमा कम्पनीले बढाउनुपर्ने र नसक्नेले विकल्पहरू खोज्नुपर्ने उल्लेख गर्नुहुँदै अध्यक्ष सिलवालले भन्नुभयो, “मर्जरको कुरा बीमा कम्पनीहरूबाटै आएको हो, बीमा समितिले मर्जरमा जान दबाब दिएको छैन, समितिले त मर्जरमा जान बाटो खोलिदिएको मात्र हो । समितिले जारी गरेको जोखिममा आधारित पुँजीसम्बन्धी निर्देशिका आगामी २०८१ सालदेखि पूर्ण रुपमा लागू हुन्छ र त्यसका लागि पनि थप पुँजी आवश्यक पर्न सक्छ ।”

अध्यक्ष सिलवालले भन्नुभयो, “बीमा कम्पनी पूर्ण क्षमतामा चल्नुपर्यो । दाबी भुक्तानी हुनुपर्यो । कम्पनीको मुनाफा बढ्नुपर्यो । देशका ग्रामीण भेगका जनतासम्म बीमाको पहुँच पुग्नुपर्यो । स्थानीय तहमा बीमाका लागि पर्याप्त स्रोत र सम्भावना पनि छ, त्यहाँ कम्पनीहरू जानुपर्यो । शाखा कार्यालयहरू स्रोत साधनले सम्पन्न हुनुपर्यो ।”
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले तोकिएको एक महिनाको अवधिमा करिब करिब सबै बीमा कम्पनीबाट पुँजी वृद्धिको योजना समितिमा प्राप्त भइसकेको जानकारी दिनुहुँदै पुँजी वृद्धिका लागि कतिपयले हकप्रद शेयर, कतिपयले बोनस शेयर, कतिपयले मर्जर र कतिपयले समयावधि थपको विषय योजना समावेश गरेको जानकारी दिनुभयो ।
कार्यकारी निर्देशक पौडेलले बीमा कम्पनीको सङ्ख्या धेरै भए पनि बीमाप्रतिको विश्वसनीयता बढ्न नसकेको र दाबी भुक्तानीमा समस्या देखिएको औँल्याउनुहुँदै बीमा बजारलाई मर्यादित, सुशासित र दिगो बनाउने उद्देश्यले पुँजी वृद्धिको निर्णय भएको बताउनुभयो ।
कार्यक्रममा बीमा समितिका चार्टर्ड एकाउन्टेन्ट गोपाल पङ्गेनीले बीमकको पुँजी वृद्धि सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
बीमा समितिका निर्देशक दिनेश कुमार लालले सञ्चालन गर्नुभएको कार्यक्रममा बीमा समितिका निर्देशकहरू कमलप्रसाद रेग्मी र पूजन ढुङ्गेल (अधिकारी) र सबै निर्जीवन बीमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष, मुख्य संस्थापक शेयर धनी तथा प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।
https://ujyaalonepalnews.com/archives/19503


