रोयल्टी बक्यौता सात दिनभित्र फरफारक गर्न निर्देशन

काठमाडौँ । विद्युत् विकास विभागले जलविद्युत आयोजनाका प्रवर्द्धकहरूलाई रोयल्टी बक्यौता सात दिनभित्र फरफारक गर्न निर्देशन दिएको छ ।

विभागले सूचना जारी गर्दै १ मेगावाट भन्दा बढी जडित क्षमता भएका आयोजनाहरूका प्रवर्द्धकहरूलाई गत वर्षको रोयल्टी तिर्न निर्देशन दिएको हो । विद्युत् विकास विभागका कार्यकारी निर्देशक सन्दीपकुमार देवले केही आयोजनाका प्रवर्द्धकहरूले रोयल्टी समयमा नतिरेकाले सूचना जारी गर्नुपरेको बताउनुभयो ।

विद्युत् ऐन तथा विद्युत् नियमावली अनुसार विद्युत् उत्पादनको अनुमति पत्र प्राप्त संस्थाले जडित क्षमता तथा विद्युत् ऊर्जा बिक्री बापत रोयल्टी तिर्नुपर्छ । विद्युत् ऐन अनुसार जडित क्षमता प्रतिमेगावाट १ लाख रुपैयाँका दरले र उत्पादन गरेर बेचेको बिजुलीको १५ वर्षभित्र २ प्रतिशतका दरले रोयल्टी तिर्नुपर्छ भने १५ वर्षपछि जडित क्षमताको प्रति मेगावाट १० लाखका दरले र विद्युत् बेचेको बिजुलीको १० प्रतिशतका दरले तिर्नुपर्ने प्रावधान छ ।

गत वर्ष ६५ वटा आयोजनाका प्रवर्द्धकहरूले रोयल्टीको १७ करोड १० लाख ८० हजार ७ सय ६६ रुपैयाँ तिर्न बाँकी रहेको विभागले जनाएको छ ।

विभागको सूचनामा आफ्नो रोयल्टी विवरण रुजु गराइ सात दिनभित्र आयोजनाको आधिकारिक प्रतिनिधिमार्फत निरीक्षण महाशाखामा अनिवार्य रूपले सम्पर्क गरी बक्यौता रकम फरफारख गर्न अन्यथा विभागमा भएको विवरण बमोजिम नेपाल विद्युत् प्राधिकरणबाट आयोजनाको विद्युत् ऊर्जा विक्री बापत हुने भुक्तानीबाट कट्टा गर्ने गरी बक्यौता रकम असुल उपर गर्न प्राधिकरणलाई पत्राचार गरिने उल्लेख गरिएको छ ।

https://ujyaalonepalnews.com/archives/19514

Previous articleचौध जनामा सङ्क्रमण
Next articleकालोपत्रे हुँदै सिगाना, बरेङ शान्तिपुर सडक
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।